बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा आज आमनिर्वाचन : प्रभावशाली तीन नेता, चौथो हुन सक्छन् ‘किङ मेकर’

बिहीबार, २६ मङ्सिर २०७६, १३ : ३९
बिहीबार, २६ मङ्सिर २०७६

एजेन्सी । बेलायतमा आज आम निर्वाचन हुँदैछ । ब्रेक्जिट संकटले निम्त्याएको अनिश्चितताका कारण त्यहाँ पाँच वर्षको अवधिमा तेस्रो पटक संसदीय चुनाव हुन लागेको हो । 

बेलायतमा सन् २०१६ मा युरोपेली संघबाट छुट्टिने नछुट्टिने विषयमा जनमत संग्रह भएको थियो । चुनावमा ५२ प्रतिशत मतदाताले संघबाट बाहिरिने पक्षमा मत हाले । त्यसयता देश त्यस प्रक्रियालाई टुङ्गोमा पु¥याउने प्रक्रियामा छ । तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा उत्पन्न ठूलो मतभेदले विवाद सिर्जना गरेको छ । 

यही विवादको कारणले डेभिड क्यामरुन र थेरेसा मेले प्रधानमन्त्री पद छाड्नु प¥यो । वर्तमान प्रधानमन्त्री जोनसनले प्रस्ताव गरेका प्रस्ताव पनि संसदले पटक पटक अस्वीकार गरेपछि उनी निर्वाचनमा गएका हुन् । 
सामान्य अवस्थामा चुनाव सन् २०२२ मा हुनुपथ्र्यो । तर ब्रेक्जिट विवादले वर्तमान सरकारको समायावधि छोट्टिन पुग्यो । 

विश्लेषकहरुको भनाईमा वर्तमान निर्वाचन दोस्रो विश्वयुद्ध यताकै महत्वपूर्ण चुनाव हो । अहिलेको निर्वाचनबाट ब्रेक्जिटपछिको बेलायतको युरोपेली संघसँग कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा निर्धारण हुनेछ । 

प्रमुख चुनावी मुद्दाः ब्रेक्जिट, आतकंवाद र जलवायु परिवर्तन

सत्तारुढ कन्जरभेटिभ पार्टीको स्पष्ट सन्देश छ ,‘ब्रेक्जिट पुरा गर्ने ।’ हाल प्रतिपक्षमा रहेको लेबर पार्टी यसमा छलफल हुनुपर्ने र पुनः जनमतसंग्रहको माग गर्न चाहन्छ । अर्को दल लिबरल डेमोक्रेट पार्टी ब्रेक्जिटलाई रद्दै गर्ने पक्षमा छ । 

चुनावी अभियान चलिरहेको समयमा लण्डन ब्रिजमा आतकंवादी आक्रमण भयो । यसले आतकंवाद चुनावको महत्वपूर्ण मुद्दा बनाउन सघायो । अघिल्लो पटक सरकारमा रहँदा लेबर पार्टीले आधा जेल समय गुजारेका अपराधीहरुलाई जेलमुक्त गर्ने कानुन बनाएको थियो । कन्जरभेटिभले यस प्रचलनलाई अन्त्य गर्ने बताएको छ । 

यसैगरी  स्वास्थ क्षेत्रमा लगानी पनि एक महत्वपूर्ण मुद्दा हो । अहिले विश्वव्यापी मुद्दा बनेको कार्बन उत्सर्जनको विषय उत्तिक्कै जोडतोडका साथ उठिरहेको छ ।

प्रभावशाली तीन नेता, चौथो हुन सक्छन् ‘किङ मेकर’ 
निर्वाचनमा बेलायतका तीन प्रमुख दलका नेता प्रधानमन्त्रीको दौडमा छन् । एक क्षेत्रीय दलले सरकार गठनको दावी नगरेको भए पनि निर्वाचनपछि सरकार गठनमा उसको महत्वपूर्ण भूमिका हुने अनुमान गरिएको छ । यो निर्वाचनका चार प्रभावशाली नेता यस्ता छन्ः

बोरिस जोनसन (नेता, कन्जरभेटिभ)- सत्तारुढ दलका नेता जोनसनले चुनावको लागि मुख्यतः ब्रेक्जिटलाई टुङ्गो पु¥याउने, आय कर, बीमा र भ्याट नबढाउने र पोइन्टमा आधारित आप्रवासन लागु गर्ने वाचा गरेका छन् ।
जेरेमी कोर्बिन (नेता, लेबर पार्टी )- वामपन्थी दल लेबरका नेता कोर्बिनले ब्रेक्जिटलाई लिएर छलफल चलाउने, उद्योगलाई पुनः राष्ट्रियकरण गर्ने र कर्पोरेट करमा वृद्धि गर्ने र अतिधनीहरुमाथि ५ प्रतिशत थप कर वृद्धि गर्ने जस्ता चुनावी प्रतिवद्धता जनाएका छन् । 

जो स्विन्सर (नेता, डेमोक्रेटिक लिबरल)- ब्रेक्जिटले ब्रिटेनलाई बेफाइदा पु¥याएको भन्दै स्विन्सर ब्रेक्जिट प्रक्रियालाई नै रद्द गर्ने, करमा हल्का वृद्धि गर्ने र जलवायु परिवर्तनसँग जुध्नको लागि अलग कोष निर्माण गर्ने माग सहित उत्रिएका छन् । 

निकोला स्टर्जन (नेता, स्कटिश नेशलिस्ट)- स्टर्जन प्रधानमन्त्रीको दौडमा छैनन् तर अल्पमतको सरकार निर्माण हुने अवस्थामा उनको महत्वपूर्ण भूमिका हुने अनुमान गरिएको छ । 

निर्वाचनपछि ब्रेक्जिटलाई लिएर तीन विकल्प

यदि कन्जरभेटिभले बहुमत हासिल गरेमा बेलायत युरोपेली संघबाट अलग हुनेछ । यसैको लागि जोनसनले समय अघि नै चुनावको घोषणा गराइएका थिए । 

यदि अर्को पार्टीले चुनाव जित्यो भने फरक व्यक्ति प्रधानमन्त्री हुन सक्छन् र तिनले ब्रिटेनका मतदाता सामु बेक्जिट मुद्दामा दोस्रो जनमतसंग्रहको प्रस्ताव राख्न सक्छन् । 

कुनै सम्झौता नभए पनि ब्रिटेन युरोपेली संघबाट बाहिरिने विकल्प पनि छ तर यसबाट ब्रिटेनको अर्थव्यवस्थामा नकारात्मक असर हुनेछ । 

बेलायती निर्वाचन सम्बन्धी तथ्यांक
बेलायतको आम निर्वाचन संसदको ६५० सिटको लागि हुने गर्छ । बहुमत हासिल गर्ने दलले ३२६ सिटमा जित हासिल गर्नुपर्छ । 

निर्वाचनका लागि कुल जनसंख्याको ६८ प्रतिशत अर्थात ४ करोड ५७ लाख मतदाता दर्ता भएका छन् । 

निर्वाचनमा संयुक्त अधिराज्यको हिस्सा रहेका स्कटल्याण्ड, आयरल्याण्ड पनि सहभागी हुनेछन् । मत परिणाम शुक्रबार भित्र आइसक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप