बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका सुत्केरीलाई कोसेलीः अब २ हजार पाउने

बिहीबार, २६ मङ्सिर २०७६, १३ : २२
बिहीबार, २६ मङ्सिर २०७६

सुर्खेत । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा रु चार हजार ८०० पाउने व्यवस्था गरिएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने महिलालाई पोषणबापत दुई हजार रकम दिने व्यवस्था गरेको छ । प्रदेशका १० जिल्लामा लागू हुने गरी सुत्केरी कोसेली कार्यक्रम लागू गरिएको छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउन प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको सामाजिक विकासमन्त्री दल रावलले बताए । 

‘कर्णालीमा रहेका विपन्न गरिब महिलालाई पोषणमा केही राहत होस् भन्नका लागि कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘पोषण भत्ताले गर्दा स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलालाई प्रोत्साहन गर्नेछ र मातृ मृत्युमा कमी गर्न सकिन्छ भन्ने उद्देश्य हो ।’ मन्त्रालयका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले कोसेली कार्यक्रमका लागि रु चार करोड बजेट छुट्याइएको जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुत्केरीलाई कोसेली कार्यक्रमले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनका लागि प्रोत्साहन गर्ने बताए । यस कार्यक्रमअन्तर्गत स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत रकम पठाउने र स्वास्थ्य संस्थालाई प्रदान गरिने उनले जानकारी दिए ।

उनले स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत रु दुई हजार, चारपटक गर्भ जाँच गरेबापत रु ८०० र पोषणबापत रु दुई हजार रकम सुत्केरी महिलाले पाउने बताए । पोषणबापत दिइने रु दुई हजार प्रदेश अस्पतालका हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने बता । अन्य सबै स्वास्थ्य संस्थामा भने सबै महिलालाई प्रदान गरिने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप