बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठक :  को–को बन्दैछन् विभाग प्रमुख ?

बिहीबार, २६ मङ्सिर २०७६, १२ : ०५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकका बिहीबार बस्दैछ । दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा उपनिर्वाचन समीक्षा, भारतसँगको सीमा विवाद, पार्टी विभाग परिमार्जन, भ्रातृसंस्था विधान र सांगठनिक समायोजनलगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वको समितिले भ्रातृसंस्थाहरु दलित संघ, प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, नेपाल सांस्कृतिक महासंघ र नेपाल महिला संघको विधान पनि सरोकारवाला संघसँगको समन्वयमा निर्माण गरेको छ । यी विधान केन्द्रीय कार्यसमिति बैठकमा पेस हुँदैछन् ।

यस्तै विधानले २८ वटा विभाग व्यवस्था गरेपछि त्यसको परिमार्जन गरिने भएको छ । सभापति शेरबहादुर देउवाले २८ विभागलाई टुक्र्याएर ४५ बनाउँदैछन् । 

सोही अनुसार विभागको संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने शर्माले रातोपाटीलाई बताए । 

साथै सभापति देउवाले पार्टीका विभाग र भ्रातृ संगठन नेविसंघको गठन तथा तरुण दलको विस्तारबारे रणनीति बुनिरहेका छन् ।

सहमतिवेगर विभाग गठनको गृहकार्य
विभाग गठनको विषयमा बुधबार बिहान सभापति देउवालको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवासमा महराजगन्जमा संस्थापन र इतरपक्षका नेताबीच छलफल भएको थियो । 

यसै विषयमा विभाग गठन र भ्रातृ संगठनमा तदर्थ समिति ल्याउने विषयमा देउवा पक्षबाट उपभापति विमलेन्द्र निधिको नेतृत्वमा सह–महामन्त्री प्रकाशशरण महत र प्रवक्ता शर्मा यता पौडेल पक्षबाट प्रकाशमान सिंहको नेतृत्वमा दिलेन्द्र बडू र हृदयराम थानीबीच मंगलबार छलफल भएको थियो । 

सो छलफलबारे बुधबार बिहान भएको आन्तरिक  छलफलमा दुवै पक्षमा निधि र सिंह ब्रिफ्रिङ गरेका थिए । 

सोही विषयमा बुधबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा समेत छलफल भएको थियो ।

विधानअनुसार केन्द्र्रीय कार्यसमितिमा छलफल गर्नुपर्ने विषय नभएकाले देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक सहमतिको खोजेका थिए । तर तीन– चार दिनदेखि सहमतिको  प्रयास सफल हुन सकेन । 

देउवा पक्षले विभाग गठनका लागि नाम दिन आग्रह गरेपछि पौडेल पक्षले पार्टीको केन्द्रीय महाधिवेशनको तयारी, वर्षौंदेखि तदर्थवादमा चल्दै आएका भ्रातृसंगठन, शुभेच्छुक तथा जनसम्पर्क समितिका अधिवेशनलगायत पार्टीका संगठनात्मक संरचनासम्बन्धी निर्णय प्याकेजमै हुन पर्ने अडान लिएको छ ।

पौडेल पक्षको उक्त अडानपछि देउवाले यतिबेला संगठन, प्रचार, विदेश र जनसम्पर्क विभागमा आफ्नो पक्षका केही नेतालाई जिम्मेवारी दिने तयारी गरेको छन् । 

जसलाई दिइँदैछ केही विभागको जिम्मेवारी
काँग्रेस स्रोतका अनुसार संगठन विभागमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, प्रचार विभागमा प्रवक्ता शर्मा, विदेश विभागमा केन्द्रीय सदस्य डा. नारायण खड्का र जनसम्पर्क विभागमा गोविन्द भट्टराईलाई ल्याउने तयारी भएको छ । 

यद्यपि संगठनमा डा. मिलेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्कीको पनि दाबी रहेको छ । यता जनसम्पर्क विभागमा उमाकान्त चौधरी र अर्जुन जोशीको समेत चर्चा छ । चर्चामा रहेका रिजाल र चौधरीबाहेक सबै देउवा पक्षका नेताहरु हुन् ।
रिजाल पछिल्लो समय महामन्त्री शशांक कोइराला निकट मानिन्छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट हुन् । 

देउवा विभाग गठनका लागि पौडेल पक्षसँग सहमतिको ढोका भने खुला नै राखेका छन् । तर पौडेल पक्षले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये दुईवटा आफ्नो पक्षले पाउनुपर्ने अडानमा लिएको छ । 

साथै ६०–४० को भागबण्डा अनुसार अगाडि बढ्नुपर्नेमा पौडेल पक्षको जोड छ । तर, देउवाले ती बाहेकका विभाग रोज्न भनेका छन् । 

विधानअनुसार महाधिवेशनको दुई महिनामै र नयाँ विधान अनुसार ६ महिनामा विभाग गठन गर्नुपर्ने व्यवस्था छ । तर सभापति भएको ४५ महिनापछि देउवाले विभाग गठनमा जोड दिएका छन् ।

काँग्रेसमा लामो समयदेखि विभाग गठन चर्चा चल्दै आएको थियो । यता एकपटक गठन भएर विघटन भएका काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत डेढ वर्षदेखि अस्तित्वमा छैनन् । 
पार्टी विधानले विभाग गठनको अधिकार सभापतिलाई दिएको छ । देउवाले विभाग प्रमुख र सदस्य तोक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप