बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन विधेयक पारित नहुने निश्चित, अब के होला ?

आइतबार, ०४ भदौ २०७४, २० : ५५
आइतबार, ०४ भदौ २०७४

काठमाडौं– राष्ट्रिय जनता पार्टीको माग बमोजिम सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक पारित नहुने निश्चित भएको छ । राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयकको पक्षमा मतदान गर्ने सांसदको संख्या घट्ने भएपछि सरकारका तर्फबाट प्रस्तुत विधेयक असफल हुने निश्चित भएको हो । 

यद्यपी राप्रपा विभाजन भएर राप्रपा प्रजातान्त्रिकमा गएका सासंदहरुले भने विधेयकको पक्षमै मतदान गर्ने जनाएका छन् । राप्रपा प्रजातान्त्रिकमा १८ सांसद रहेका छन् । यद्यपी राप्रपाले छुटटै दलको मान्यता भने पाइसकेको छैन । राप्रपा प्रजातान्त्रिकका सांसदहरुले विधेयकको पक्षमा मतदान गरेपनि सत्तारुढलाई अरु थप २४ सांसद आवश्यक पर्छ । 

बहुप्रतिक्षित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमाथि गत बुधबारबाट ब्यवस्थापिका संसदमा दफाबार छलफल भएको थियो । संविधान संशोधनको माग गर्दै आएको मधेस केन्द्रित दल राजपासमेत प्रस्ताव पास वा फेल जे भएपनि टुंगो लगाउन राजी भएपछि यो विधेयक अघि बढाइएको थियो । 

विधेयक मतदानमार्फत पास गर्न विधेयकको पक्षमा दुई तिहाई संसदले मत दिनुपर्छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा राजपाले संविधान संशोधनमा दुईतिहाइ मत पुग्ने दावी गरिरहेपनि पछिल्लोे समिकरण अनुसार सत्तापक्षसँग ३७१ सांसद मात्रै देखिएका छन् । 

यसअघि संविधान संशोधनको पक्षमा रहेको राप्रपा विभाजनसँगै उसले आफ्नो रणनीति परिवर्तन गरेर संशोधनको विपक्षमा गएपछि सत्तारुढ दललाई दुई तिहाइ पुर्याउन थप कठिन परेको हो । हेटौडामा आइतबार सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो  । 
यसअघि उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । संसदमा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुई तिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको चुनावमा जानुअघि संविधान संशोधन गर्नुपर्ने माग राखेपछि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र संशोधन प्रक्रियाअघि बढाउन तयार भएका थिए । संविधान संशोधनमा दुई तिहाई मत पुग्ने आशमा सत्तारुढ दलले संशोधन प्रक्रिया अघि बढाएपनि राप्रपा विभाजनसँगै उसले गरेको फरक निर्णयले सत्तारुढ दलको गत चैत २९ मा पेश भएको विधेयक असफल हुने भएको हो । 
 

यो पनि पढ्नुस्ः 

संविधान संशोधनको विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय

संशोधनको पक्षमा:

कांग्रेस २०७
माओवादी केन्द्र ८०
राप्रपा (प्रजातान्त्रिक) १८
फोरम लोकतान्त्रिक १७
राष्ट्रिय जनता पार्टी २५
संघीय समाजवादी फोरम १५
नेकपा संयुक्त ३
अखण्ड पार्टी नेपाल १
समाजवादी जनता पार्टी १
नेपाल परिवार दल २
जम्मा–३७१

संशोधन प्रस्तावको विपक्षमा:
एमाले १८०
राप्रपा १८
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा माले ५
स्वतन्त्रसहित अरु साना ११
जम्मा–२२१

अव के होला ?

विशेषगरी राजपालाई संविधान स्वीकार्य गराउन र स्थानीय तहको निर्वाचनमा सहभागि गराउन सरकारले गरेको यो प्रयास असफल भएपछि राजपा आउदो असोज २ गते हुने निर्वाचनमा सहभागी होला या नहोला भन्ने प्रश्न उव्जिएको छ । यद्यपी उसले विधेयक प्रक्रियामा लगेपछि आउने परिणाम स्वीकार्ने बताइसकेको छ । तर, यसअघि राजपाले संविधान संशोधन विधेयक जसरी पनि पारित गर्नुपर्ने बताउँदै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप