बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

“आइएमई साहित्य महोत्सव २०१९” मङ्सिर२७ बाट पोखरामा

मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : ११
मङ्गलबार, २४ मङ्सिर २०७६

पोखर – “आइएमई साहित्य महोत्सव २०१९” मङ्सिर २७ बाट पोखरामा हुने भएको छ ।

आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करणबारे जानकारी दिन मंगलबार आयोजक संस्था बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले संयुक्त पत्रकार सम्मेलन गरेर महोत्सव बारे जानकारी दिए । महोत्सव मङ्सिर २७ देखि ३० गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुनेछ । 

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुनेछन् । 

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशिबराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो । 

महोत्सवको उद्घाटन सत्रमा पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन रहनेछ । 

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर डिएससी दक्षिण एसियाली साहित्यिक पुरस्कारकी सहसंस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सुन्दर सहर पोखरामा सम्पन्न हुने आइएमई नेपाल साहित्य महोत्सव २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दै छौँ । पुरस्कार र महोत्सव दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ । दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो । विगत आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवद्र्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल साहित्य महोत्सवमा घोषणा गर्न लागिएको हो ।’

आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बराल भन्छन्, ‘सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको साहित्य महोत्सव हाल आठौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको विशाल प्राङ्गण पोखराको बाराहीघाटमा भव्यताका साथ सम्पन्न भएको परिदृश्यले हामीलाई उत्साह दिएको छ । यस्ता महोत्सवमा हुने सामाजिक बहसले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन सघाउँछ । यसले समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउँछ । प्रत्येक वर्ष साहित्य महोत्सव आयोजना गर्न पाउँदा हामी हर्षित छौं ।’ महोत्सव दक्षिण एसियाकै एउटा समावेशी मञ्चका बन्दै गएकोमा आफूहरु गौरवान्वित भएको उनले बताए । 

महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरुको आवाज समेट्न खोजिएको महोत्सवका संयोजकहरु मध्ये एक शिवानी सिंह थारुले बताइन् । उनले थपिन्, सत्रहरु छनोट गर्दा हाम्रा सार्वजनिक बहसमा र अन्ततः साहित्यमै प्रभाव पार्ने व्यक्ति र विषय समेटेका छौं । 

नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । पोखरालाई सांस्कृतिक—साहित्यिक शहर बनाउन, पोखरेली साहित्यको विकास गर्नमा नेपाल साहित्य महोत्सवले अग्रणी भूमिका खेलेको उनले बताए । 

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको बताइन् । व्हाट द बुक क्लबको स्थापनानै महोत्सवको उत्प्रेरणाबाट स्थापना भएको बताउँदै यस्ता महोत्सव अरु धेरै शहरमा पनि हुनुपर्ने धारणा उनले राखिन् । 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल साहित्य महोत्सवले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप