मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा बामदेवलाई अधिकार थपिँदै

सोमबार, २३ मङ्सिर २०७६, १८ : ४१
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा सोमबार सम्पन्न बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय पनि गरेको छ ।

सोबारे सचिवालयका सदस्यको सुझावका आधारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सचिवालय बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सो विभागका प्रमुख वामदेव गौतमले आफ्नो कार्ययोजनाबारे सचिवालयले अनुमति नदिएर देशव्यापी अभियान सञ्चालन गर्न नपाइएको बताउँदै आएका थिए । 

बैठकले नेता गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पनि पेस गर्ने आजको बैठकले निर्णय गरेको छ ।

विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तत्कालीक कार्यनीति समाजवादउन्मुख जनवाद रहने समावेश हुनेछ । पार्टी एकताका क्रममा भएको सहमतिमा जनताको बहुदलीय जनवाद र एक्काइशौँ शताब्दीको जनवादलाई मानेर बहस गर्दै जाने उल्लेख थियो । 

यसैगरी पार्टीमा उपत्यका विशेष जिल्ला कमिटी गठनको व्यवस्था विधानमा थप हुनेछ । आजको बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षाका लागि यसअघिको बैठकले दिएको निर्देशनअनुसार सबै तहका कमिटीबाट पूर्ण प्रतिवेदन प्राप्त नभएकाले प्रतिवेदनका पाँच दिनभित्र अनिवार्य पेश गर्न निर्देश गरेको छ ।

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सातदिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न बैठकले आग्रह गरेको छ भने सचिवालयको अर्को बैठकले यही मङ्सिर २७ र स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेका लागि तय गरेको छ । स्थायी कमिटीको बैठक झण्डै एक वर्षपछि बस्न लागेको हो । गत वर्षको स्थायी कमिटीको बैठकमा सरकारको समीक्षालगायतका कार्यसूची थाँती रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप