शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी नागरिक आपत्तिजनक अवस्थामा पक्राउ प्रकरणः गेस्टहाउससम्म यसरी लैजान्थे बालिका

सोमबार, २३ मङ्सिर २०७६, १७ : ११
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । आइतबार एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट एक अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपत्तिजनक अवस्थामा पक्राउ गर्यो ।

पक्राउ पर्नेमा अमेरिकाको इलेनोय राज्यका जेसन ल्योयड मुडी रहेका छन् । जबरजस्तीकरणी र बाल यौनदुराचार आरोपमा मुडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको सीआईबी प्रमुख निरश शाहीले बताए । 

उनी पछिल्लो समय १० अगष्ट २०१९ मा नेपाल आएका थिए ।  सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जेसन पटक–पटक नेपाल आउने गरेको देखिन्छ ।  पाण्डेका अनुसार उनी २०१६ मा पहिलोपटक नेपाल आएका थिए । 

नेपाली भाषा अध्ययन गर्थे जेसन
यौनदुराचारको आरोपमा पक्राउ परेका जेसन नेपाली भाषा अध्ययनको लागि भन्दै नेपाल आएका हुन् । विश्व भाषा क्याम्पसमा उनले नेपाली भाषा अध्ययन गर्दै आएका बुझिएको छ । 
ज्यासनका साथबाट विश्वभाषा क्याम्पसले जारी गरेको विद्यार्थी परिचयपत्र, तीनवटा राहदानी र एउटा ल्यापटम बरामद भएको पाण्डेले बताए । पाण्डेले भने, ‘ल्यापटपको सहयाताबाट थप कुरा खुल्नसक्छ, अहिले अनुसन्धानकै चरणमा छौँ ।’

आर्थिक प्रलोभनमा गेस्टहाउससम्म बालिका लैजान्थे 
गेस्टहाउसको कोठाबाटै आपत्तिजनक अवस्थामा पक्राउ परेका जेसनले आर्थिक प्रलोभन र खानेकुरा दिएर नेपाली बालबालिकालाई गेस्टहाउससम्म लैजाने गरेको पाइएको छ । गेस्टहाउसमा लगेर बालिकालाई उनले यौनशोषण गर्थे । 

सीआईबीको टोलीले गेस्टहाउसबाट तीनजना बालिकाको उद्दार गरेको छ । उद्धार गरिएका २ बालिका १० वर्षको र एकजना ९ वर्षका छन् । जेसन आपत्तिजनक अवस्थामा भेटिएको पाण्डेको भनाइ छ । 

विपन्न परिवारको बालिका मुख्य ‘टार्गेट’
यसअघि पनि उनले सोही गेष्टहाउसमा अन्य बालिकाहरुलाई लैजाने र यौनशोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

विपन्न परिवारका बालिकाहरुलाई उनले गेष्टहाउसमा लैजाने गर्थे । प्रवक्ता पाण्डेका अनुसार परिवार काममा गएको मौकामा उनले विभिन्न प्रलोभन देखाएर बालिकालाई गेष्टहाउससम्म लैजाने गर्थे । 

पक्राउ परेका जेसनलाई स्वास्थ्य जाँचको लागि अस्पताल लगिएपनि उनले परीक्षण गर्न नमानेको प्रहरीको भनाइ छ । 

जेसनले गेस्टहाउसमा बालिकालाई लगेर अनैतिक क्रियाकलाप गर्दै आएको सूचनाको आधारमा सीआईबीको टोली आइतबार सो गेस्टहाउसमा छापा मार्न पुगेको थियो भने सोमबार सार्वजनिक गरेको हो । 

नियन्त्रणमा लिइएका जेसनमाथि जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप