बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ढिलो अस्पताल पुग्नुमा चिकित्सकको दोष छैन : प्रमका प्रेस सल्लाहकार

प्रमबारे अब सहज ढङ्गबाट सूचना पाइने थापाको प्रतिबद्धता
सोमबार, २३ मङ्सिर २०७६, १६ : ३७
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एपेन्डिसाइटिसको ढिलो अप्रेसन हुनुमा निजी चिकित्सकको कुनै दोष नभएको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयमा गरेको पत्रकारसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको उपचार तथा स्वास्थ्य अवस्थाका विषयमा यसअघि आएका समाचारको सम्बन्धमा थापाले छलफल केन्द्रीत गरेका थिए ।

त्यसैक्रममा ‘प्रधानमन्त्रीलाई त्यति धेरै समस्या हुँदा पनि निजी चिकित्सक के हेरेर बसेका थिए’ भन्ने रातोपाटीको प्रश्नमा जवाफ दिँदै थापाले भने, ‘त्यसमा निजी चिकित्सक तथा अन्य चिकित्सकको कुनै दोष छैन । उहाँहरुले सक्दो गर्नुभएको हो ।’

‘तर एपेण्डिसाइटिस बिग्रेर इन्फेक्सन हुन कम्तीमा २४ घण्टा लाग्ने चिकित्सकले बताएका छन्, २४ घण्टासम्म थाहा नपाउने कस्तो चिकित्सक हुन् त ?,’ भन्ने प्रश्नमा उनले चिकित्सकको बचाउ गरे ।

उनले भने ‘प्रधानमन्त्रीज्यूलाई पहिले पनि समस्या भइरहेकै हुन्थ्यो । सामान्य दुखाई भइरहन्थ्यो । त्यसदिन बिहान उहाँको चेकजाँच गरिएको थियो र उहाँ सामान्य नै हुनुहुन्थ्यो । दिनभर उहाँ व्यस्त नै रहनुभयो । साँझ ५ बजेदेखि ९ बजेसम्म विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभयो । त्यसपछि उहाँ ११ बजेसम्म फायरसाइड हेरेर बस्नुभयो । राती १ बजेतिर सामान्य दुखाइ हुन थालेछ । तर उहाँले त्यो कुरा अरुलाई भन्नुभएन । बिहान ७ बजे चिकित्सकहरु नियमित चेकजाँचका क्रममा बालुवाटार आएपछि मात्रै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे थाहा भयो । त्यसलगत्तै उहाँलाई अस्पताल लगिएको हो ।’

‘सामान्यतः प्रधानमन्त्रीलाई अन्य केही समस्या नभएको अवस्थामा बिहान ७ बजे र बेलुका मात्रै स्वास्थ्य जाँच गर्ने गरिन्छ । त्यो दिन प्रधानमन्त्रीज्यू ब्यस्त हुनु भएकाले साँझ स्वास्थ्य भएन । भालिपल्ट समस्या पत्ता लाग्ने बित्तिकै तत्कालै अस्पताल लगेर अप्रेसन पनि चाँडै गरिएको हो । त्यसकारण यस विषयमा प्रधानमन्त्रीका निजी चिकित्सकलाई दोष दिन मिल्दैन । यद्यपि अस्पताल पुर्याउन केही ढिलो भएको भने सत्य नै हो ।’

प्रधानमन्त्री उपचाररत रहँदा उनका सम्बन्धमा आएको समाचारको विषयलाई लिएर आक्रोशित बनेका उनले अनलाइन मिडिया र केही पत्रिकाहरुले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र अवस्थालाई अतिरञ्जित गरेको आरोपसमेत लगाए ।


उनले भने ‘म समाचार लेख्ने पत्रकार मित्रहरुलाई केही भन्दिन । तर ब्रेकिङ न्युज दिने नाममा सम्पादक ज्यूहरुले सम्वेदनशीलता बुझ्नु भएन । उहाँहरुलाई हो मेरो भन्नु ।’

प्रधानमन्त्रीको स्वास्थ्यको सम्बन्धमा आगामी दिनमा कुनै अफवाह फैलिन नदिने पनि थापाले बताए । आगामी दिनमा समाचार सम्प्रेषणका सम्बन्धमा स्रोतको हवाला दिनु नपर्ने भन्दै अब सहज ढङ्गबाट सूचना पाइने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप