शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अख्तियारको इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता’

सोमबार, २३ मङ्सिर २०७६, १५ : ०४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको दावी गरेको छ । 

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले यस्तो दावी गरेका हुन् । 

आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उनले बताए । आर्थिक वर्ष २०७५÷०७६ मा ३५१ वटा मुद्धा दर्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्धा दर्ता भएको घिमिरेले बताए । 

देश संघीय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले अहिले १५ सय भन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताए । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उनले बताए । 

यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भने भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताए । 

कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनले बताए । 

 ‘५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ । नेपाल त्यो भन्दा पनि धेरै तल छ । विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको छ’, उनले भने ।

आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ । भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप