शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैङ्कको एटीएमबाट रकम लुट्ने प्रयास असफल

सोमबार, २३ मङ्सिर २०७६, ११ : ५१
सोमबार, २३ मङ्सिर २०७६

सिरहा । सिरहाको लहानस्थित सिभिल बैङ्कको एटीएम रहेको सटर फोरेर रकम लुट्ने प्रयास भएको छ । लहान नगरपालिका–४ मा कृष्ण गुप्ताको घरमा भुइँतलामा भाडामा सञ्चालित बैङ्कको एटिएमको सटरमा मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको हो ।

आइतबार राति करिब १ बजेतिर पहिलो तलामा सुरक्षा गार्ड रहेको समयमा एटिएम लुट्ने प्रयास गरेको भएपनि एटिएमभित्र राखिएको रकम भने सुरक्षित रहेको बैङ्कका शाखा प्रबन्धक सरोज घिमिरेले बताए । उनका अनुसार एटिएमको सटरमा मान्छे पस्न सक्ने गरी काटिएको छ ।

एटिएममा राखिएको करिब १५ लाख रुपैयाँ झिक्ने प्रयास गरेको भएपनि लक भएकाले तोडफोड गरेको अवस्थामा भेटिएको छ । रकम सुरक्षित रहेको भएपनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको बैङ्कका शाखा प्रबन्धक घिमिरेले बताए ।

करिब अढाइ महिनाअघि सिरहाको लहानस्थित कृषि विकास बैङ्कको युजर र पासवर्ड ह्याकिङ् गरी कर्मचारीको मिलेमतोमा करिब पाँच करोड रुपैयाँ रकमान्तर भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप