केन्द्रीय संस्करण
राजनीति

समाजवादी पार्टी : राष्ट्रिय कि क्षेत्रीय पार्टी ?

निर्वाचनमा तराई–मधेशमा सिमित, नेताहरु भन्छन्, ‘मधेशमा प्रभाव हुँदैमा मधेशवादी वा क्षेत्रीय दल हुँदैन’

person explore access_timeमंसिर २३, २०७६ chat_bubble_outline0

काठमाडौँ । एउटा सामाजिक संस्थाका रुपमा गठन भएको मधेशी जनअधिकार फोरम नेपालले विभिन्न कालखण्ड पार गर्दै राष्ट्रिय पार्टीको स्वरुप निर्धारण गरेको छ । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल हुँदै समाजवादी पार्टी राजनीतिक अस्तित्वमा छ । यो दल संघीय सरकारमा सत्ता साझेदार हुनका साथै प्रदेश २ मा सरकारको नेतृत्वसमेत गरिरहेको छ ।

यो पार्टीले हिमाल, पहाड र तराई मिलाएर बनाइएका राष्ट्रिय पार्टीको स्वरुप लिएर क्षेत्रीय पार्टीको पहिचान समाप्त पारेको छ । तर समाजवादी पार्टीको काम र परिणाम हेर्दा राष्ट्रिय पार्टीको हो कि क्षेत्रीय पार्टी हो भन्नेमा बहस शुरु भएको छ ।

कसरी बन्यो राष्ट्रिय पार्टी ?

२०५४ सालमा एक गैरसरकारी संस्थाका रुपमा उपेन्द्र यादवको नेतृत्वमा विराटनगरमा मधेशी जनअधिकार फोरम नेपाल स्थापना भएको थियो । फोरम नेपालको पहिलो महाधिवेशन २०६० सालमा भएको थियो । २०६२/०६३ को मधेश आन्दोलनको नेतृत्व गरेको फोरम नेपालले अन्तरिम संविधानमा संघीयता भन्ने शब्द लेखाउन सफल भएको थियो । २०६४ सालको संविधानसभा चुनावमा फोरमले दलका रुपमा भाग लिई प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको थियो ।

तत्कालिन फोरम नेपालको दोस्रो महाधिवेशन २०६५ सालमा वीरगञ्जमा भएको थियो । माधव नेपाल नेतृत्वको सरकारमा को जाने भन्ने विषयलाई लिएर विवाद हुँदा तत्कालिन फोरम पहिलो पटक विभाजित भएको थियो । पार्टीबाट विजयकुमार गच्छदार अलग भएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाने कि नजाने विवादले गर्दा उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरम नेपाल पुनः विभाजित भयो । त्यतिबेला जयप्रकाश गुप्ता अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । फोरम नेपालबाट अमर यादव र भाग्यनाथ गुप्ता पनि अलग भएर छुट्टाछुट्टै पार्टी बनाएका थिए ।

पहिलो संविधानसभामा चौथो ठूलो दल बनेको फोरम नेपाल २०७० सालसम्म आइपुग्दा १० सीटमा सिमित बन्यो । प्रत्यक्षमा २.२८ र समानुपातिकमा २.२६ प्रतिशत मत ल्याएको फोरम दोस्रो संविधानसभा चुनावबाट सातौँ पार्टी बन्यो ।

पहिलो संविधानसभा चुनावपछि आफ्नै पार्टीका ठूला ठूला नेताहरुबाट धोका पाएका थिए । त्यतिबेला उनको पार्टीमा विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता, रामकुमार शर्मा, जितेन्द्र सोनल, भाग्यनाथ गुप्ता, अमर यादव जस्ता नेता थिए । तर विस्तारै विस्तारै ठूला नेताहरुले पार्टी छाडेर हिडेपछि चौथो पोजिसनबाट सातौँ पोजिसनमा पुगेका उपेन्द्र यादवले त्यही बेलादेखि आदिवासी जनजातिसँग सम्पर्क बढाउँदै गठबन्धन बनाउन थालेका थिए । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा ३० दलीय गठबन्धन बनेको थियो । त्यसमा मधेशी र आदिवासी जनजातिहरुको बाहुल्यता थियो ।

यसअघि मधेशमा मात्र सिमित रहेका उपेन्द्र यादव विस्तारै पहाड उक्लन थाले । त्यही बीचमा ०७२ सालमा अशोक राई नेतृत्वको पार्टी तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र फोरम नेपालबीच एकीकरण भयो । एकीकरण भएपछि संघीय समाजवादी फोरम नेपाल बन्यो । अन्य सानातिना पार्टी पनि फोरम नेपालसँग एकीकृत भए । विभिन्न पार्टीसँग एकीकरण गर्ने कार्य लामै समयसम्म चल्यो । उपेन्द्र यादवले हिमाल र पहाडमा संगठन निर्माणको कार्यलाई तीब्रता दिए ।

यादवले पार्टीलाई राष्ट्रिय चरित्र दिने अभियान चलाइरहँदा मधेशमा आन्दोलन शुरु भयो । यादवले मधेशमा भइरहेको आन्दोलनलाई काठमाडौँसम्म ल्याए । आदिवासी जनजातिका संगठनलाई साथमा लिएर टुँडिखेलमा एक महिना लामो रिले अनसन गरे भने काठमाडौँ उपत्यकामा आन्दोलनका कार्यक्रमहरु तय गरे । त्यही क्रममा सिंहदरवार र बालुवाटार घेराउ गर्ने काम पनि भए । ती सबै आन्दोलनको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । उपेन्द्र यादवको काठमाडौँ केन्द्रीत कार्यक्रमलाई शरतसिंह भण्डारीबाहेक अन्य मधेशवादी दल अर्थात मधेशी मोर्चाले खुलेर साथ दिएका थिएनन् ।

आन्दोलनलगत्तै चुनाव भयो । तर, उपेन्द्र यादवले समाजवादी फोरमलाई राष्ट्रिय पार्टी बनाएर चुनावबाट जुन परिणामको अपेक्षा गरेका थिए, त्यो सफल भएन ।

राष्ट्रिय कि क्षेत्रीय पार्टी

२०७४ को चुनावमा संघीय समाजवादी फोरम नेपालले फेरि एकपटक आफ्नो सिट सङ्ख्या बढाएको छ । तर, हिमाल, पहाड र तराई जोडेर राष्ट्रिय पार्टी बनाएको समाजवादी पार्टी पुनः तराई–मधेश, विशेष गरेर प्रदेश २, मा सिमित बनेको छ । एमालेबाट अलग भएर छुट्टै पार्टी बनाएर दोस्रो संविधानसभा चुनावमा भाग लिएर अशोक राईले पाँचवटा सीट हात पारेका थिए । तर उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग एकीकरण गरेपछि पार्टीले हिमाल र पहाडमा एक सीट पनि जित्न सकेन । यादवलाई हिमाल र पहाडले साथ दिएन । यहाँसम्म कि अशोक राई आफैले पनि हार ब्यहोर्नुप¥यो ।

स्थानीय तहमा पार्टीले प्रदेश १ को पहाडी जिल्ला भोजपुर, धनकुटा, खोटाङमा वडामात्र जित हात पारेको छ । अशोक राईको गृहजिल्ला धनकुटामा पार्टीले दुईटा वडामात्र हात पार्न सफल भएको छ । स्थानीय तहमा धनकुटामा सो पार्टीले ८१८९ मत मात्र प्राप्त गरेको थियो । जबकि त्यहाँ चारलाख भन्दा बढी मतदाता छन् ।

त्यसबाहेक स्थानीय तहमा प्रदेश १ को मधेश केन्द्रित जिल्लाबाट मात्र पार्टीले जित हासिल गरेको छ । यसमा मोरङको जहदा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष रहेको छ । त्यसबाहेक विराटनगर महानरपालिकामा ६ वटा वडा जितेको छ । धनपाल थानामा, रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिमा पार्टीले केही वडामा जित निकालेको छ । त्यस्तै सुनसरीको दुहवी, देवानगञ्ज, भोक्राहा, हरिनगर गाउँपालिकाका केही वडाहरु जितेको छ ।

अर्थात मधेशी बाहुल्य क्षेत्रमा मात्र केही वडाहरु जितेको फोरम नेपालले प्रदेश २ को स्थानीय तहमा एक हजार ५७ वटा सीट जित्यो । जसमा १० जना प्रमुख, ५ जना उपप्रमुख, १६ जना अध्यक्ष, २० जना उपाध्यक्ष, १९१ जना वडा अध्यक्ष, वडा सदस्य ४०१ जना, महिला सदस्य २०९ जना, दलित महिला सदस्य २०५ जना रहेका छन् ।

प्रदेश १ मा तत्कालिन फोरम नेपालले प्रदेशसभामा ४८ जना उम्मेदवार उठाएको थियो । त्यसमध्ये एकजना मात्र जित्न सके, त्यो पनि मोरङको मधेशी इलाकाबाट । प्रदेश १ मा फोरम नेपालले जम्मा ९१ हजार ७७१ मात्र मत प्राप्त गरेको थियो ।

जबकि प्रदेश २ प्रदेशसभाको ३३ सीटमा उम्मेदवारी दिएको थियो । त्यसमा २० वटा प्रत्यक्ष सीट हात परेको थियो । प्रदेश २ मा १८ लाख भन्दा बढी मतदाता रहेका छन् त्यसमा तत्कालिन फोरम नेपालले तीनलाख २६ हजार २९८ मत प्राप्त गरेको थियो । ९ वटा समानुपातिक सहित २९ वटा सीट प्रदेश २ प्रदेशसभामा ल्यायो ।

फोरम नेपालले प्रदेश २ मा ९ र प्रदेश ५ मा १ गरी १० वटा सीट प्रतिनिधिसभा सदस्यमा जितेको थियो । त्यसबाहेक पार्टीले अरु कुनै पनि प्रदेशमा प्रतिनिधिसभा सदस्यमा जित्न सकेन । प्रदेश २ मा तत्कालिन फोरमले काँग्रेस र राजपा नेपालसँग गठबन्धन पनि गरेको थियो । यता, पार्टीले अछाममा १८, अर्घाखाँचीमा १३ इलाममा ३ हजार ३५७, उयदपुरमा दुई हजार ६५, ओखलढुङ्गामा ६६२ मत ल्याएको थियो भने दार्चुलामा त ८ मतमात्र ल्याएको थियो । दैलेखमा १६ मत, दोलखामा २८६ मत ल्याएको थियो । अशोक राईको जिल्ला धनकुटामा दुई हजार पाँचसय ५४ मतमात्र ल्याएको थियो । पार्टीले चुरे र मधेश क्षेत्रमा मत आएको देखाइएको छ भने हिमाली तथा पहाडी जिल्लाका अधिकांश ठाउँमा प्रतिनिधिसभामा पनि जमानत जफत भएको छ । 

त्यस्तै प्रदेश ४ मा १६ जना उम्मेदवार उठाए पनि पार्टीले एउटा सीट पनि हात पर्न सकेन । त्यतिबेला पार्टीले १० लाखभन्दा बढी मतदाता रहेको ठाउँमा प्रत्यक्षमा तीन हजार ७०८ र समानुपातिकमा तीनहजार ७४७ मत मात्र ल्याएको थियो । प्रदेश ४ को स्थानीय तहमा पनि पार्टीले एउटा सीट जित्न सकेको थिएन ।

प्रदेश ५ को प्रदेशसभाका लागि ३३ ठाउँमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये तीनजनाले मात्र जित हात प¥यो । प्रदेश ५ मधेशी बाहुल्य प्रदेश हो, त्यही भएर तीनवटा सीट प्रत्यक्षमा र दुईवटा सीट समानुपातिकमा जित्न सफल भएको हो । फोरम नेपालको पहिलादेखि नै त्यहाँ राम्रो संगठन थियो । तत्कालिन फोरमले प्रत्यक्षमा ९७ हजार ८९२ र समानुपातिकतर्फ दुई हजार ३९० मत हासिल गरेको थियो । त्यहाँको स्थानीय तहमा २४४ वटा सीट जितेको छ ।

त्यस्तै प्रदेश ३ मा प्रदेशसभामो ३९ वटा सीटमा उम्मेदवार दिएको फोरम नेपालले एउटा पनि सीट हासिल गर्न सकेको थिएन । प्रत्यक्षमा सात हजार ६३१ मत मात्र ल्याएको थियो भने समानुपातिकमा आठ हजार २२ मत ल्यायो । कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यका लागि तत्कालिन फोरम नेपालले ५ वटा सीटमा उम्मेदवारी दिएको थियो तर एउटा पनि सीट जित्न सकेको थिएन । प्रदेश ३ को स्थानीय तहमा एउटा पनि सीट जित्न सकेका थिएन । बरु तत्कालिन नयाँ शक्तिले विभिन्न तहमा ३० वटा सिट जितेको छ । 

कर्णाली प्रदेशमा पार्टीले प्रत्यक्षतर्फ ९१९ मत मात्र ल्याएको थियो भने समानुपातिक तर्फ ८४१ मत ल्याएको थियो । त्यहाँको स्थानीय तहमा कुनै सीट जित्न सकेन । त्यस्तै सदुरपश्चिम प्रदेशको प्रदेशसभातर्फ सातवटा सीटमा उम्मेदवारी दिएको थियो तर त्यहाँ पनि निराशा मात्र हात लाग्यो । प्रत्यक्षमा पार्टीले तीनहजार ६८८ मत ल्याएको थियो भने समानुपातिकतर्फ दुईहजार ६२ मत मात्र ल्याएको थियो । त्यहाँको स्थानीय तहमा पनि पार्टीलाई शुन्य हात लागेको छ ।

अर्थात समाजवादी पार्टी हिमालदेखि तराईसम्म सङ्गठन विस्तार गरे पनि अन्ततः प्रदेश २ र ५ मामात्र सीमित भएको चुनावी परिणामले देखिन्छ । नयाँ शक्तिसँग एकीकरण गरेपछि संगठन झन् ठूलो भएको छ । तर उपचुनावमा प्रदेश २ बाहेक सन्तोषजनक परिणाम भने देखिएको छैन । देशभरि ५२ स्थानमा भएको चुनावमा समाजवादी पार्टीले चारवटा वडा जितेको छ त्यो पनि प्रदेश २ मा । त्यसैले पार्टीको राष्ट्रिय चरित्रमा प्रश्न चिन्ह खडा भएको छ ।

के भन्छन् नेताहरु ?

‘मधेशमा प्रभाव हुँदैमा मधेशवादी दल हुँदैन,’ समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले भन्छन्, ‘प्रत्येक दलको कहीँ न कहीँ प्रभाव क्षेत्र हुन्छ, त्यस्तै समाजवादी पार्टीको प्रभाव क्षेत्र मधेश हो तर यो मधेशवादी दल वा क्षेत्रीय दल होइन ।’

अघिल्लो चुनावमा नाकाबन्दीको असर पहाडमा परेको स्वीकार गर्दै उनले नाकाबन्दीले मधेशमा फाइदा भए पनि हिमाल र पहाडमा घाटा भएको बताए । दानापानी रोकेको दल भन्दै प्रचार भयो र आउनुपर्ने मत पनि पहाडमा नआएको उनले दावी गरे ।

‘नाकाबन्दीको प्रभाव सधै रहँदैन,’ अगामी चुनावमा विगतको भन्दा राम्रो हुने उनले दावी गरे । देशमा भएको सबै दलभन्दा समाजवादी पार्टी समावेशी रहेको दावी गर्दै उनले यो पार्टी नै असलमा राष्ट्रिय पार्टी रहेको दावी गरे । एउटा चुनावमा आएको मतले मात्र दलको मूल्याङ्कन गर्न नसकिने उनले बताए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...