शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हङ्गकङ्गमा अहिलेसम्मकै सबैभन्दा विशाल प्रदर्शन, ८ लाख मानिस सडकमा उत्रिए

सोमबार, २३ मङ्सिर २०७६, ०७ : २८
सोमबार, २३ मङ्सिर २०७६

हङ्गकङ्गको सडकमा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ ।

गत अगस्ट महिनापछि पहिलो पटक लोकतन्त्र समर्थक समूह सिभिल ह्यूमन राइट्स फ्रन्टलाई यो र्‍यालीलाई अनुमती दिइएको हो ।

आयोजकका अनुसार यसमा करिब ८ लाख मानिसले भाग लिए जबकी पुलिसले प्रदर्शनकारीको संख्या १ लाख ८३ हजार बताएका छन् ।

र्‍याली अघि पुलिसले छापा मार्दा ११ जनालाई पक्राउ गरेको र एउटा ह्यान्डगन बरामद गरेको दाबी गरेको थियो ।

एक विवादित प्रत्यर्पण विधेयकका विषयमा गत जूनदेखि यहाँ प्रदर्शन सुरु भएको थियो र अब यो व्यापक सरकारविरोधी प्रदर्शनमा परिवर्तन भएको छ ।

प्रदर्शनको क्रममा भिक्टोरिया पार्कमा आएकी ४० वर्षीया महिला जूनले भनिन्, ‘म स्वतन्त्रताका लागि अन्तिम साससम्म संघर्ष गर्नेछु ।’

शनिबार एक बयान जारी गरेर सरकारले शान्ति स्थापित गर्नका लागि अपिल गर्दै आफूले पाठ सिकिसकेको र अब सहानुभूतिका साथ मानिसहरुको कुरा सुन्ने र आलोचना स्विकार गर्ने बताएको छ ।

Photo: REUTERS

प्रदर्शनको ६ महिना पूराः

यो र्‍यालीपछि सरकारले आफूहरु हङ्गकङ्गको गहिरिँदो समस्यालाई कुराकानी मार्फत् हल गर्ने कोसिस गरिरहेको बताएको छ ।

गत जून ९ मा विशाल र्‍याली सुरु भएको थियो । सोमबार यसको ६ महिना पूरा भएको छ ।

यी प्रदर्शनका कारण एउटा ठूलो राजनीतिक संकट पैदा भएको छ जसले चीनको यो अर्ध स्वायत्त इलाकालाई आफ्नो पकडमा पारेको छ ।

Photo: AFP

र्‍यालीको आयोजनाकर्ता सिभिल ह्युमन राइट्स फ्रन्टले विभिन्न माग राखेको छ जसमध्ये प्रदर्शनकारीमाथि पुलिस व्यवहारको स्वतन्त्र अनुसन्धान, पक्राउ परेकालाई रिहा र निष्पक्ष चुनाव गराउनुपर्ने रहेका छन् । सरकारसँग उनीहरुको माग सम्बोधन गर्ने यही नै अन्तिम उपाय भएको फ्रन्टले जानकारी दिएको छ ।

हालैका दिनमा यो प्रदर्शन हिंस्रक हुँदै गएका कारण यो अशान्ति कसरी रोक्न सकिन्छ भन्ने संकट पैदा भएको छ ।

जूनदेखि अहिलेसम्म ६ हजार व्यक्तिलाई पक्राउ गरिएको छ र सयौं घाइते भएका छन् जसमा पुलिसकर्मी पनि समावेश भएका छन् ।

यद्यपि, आइतबारको र्‍याली शान्तिपूर्ण नै रह्यो तर केही स्थानमा हिंसाका खबर पनि आइरहेको बताइएको छ ।

यो र्‍यालीको अन्तिम समयमा प्रदर्शनकारीले आफ्नो मोबाइलको टर्च बालेर सरकारविरोधी नारा लगाए ।

Photo: GETTY IMAGES

हिंसाको खबरः

यसैबीच हाई कोर्ट र कोर्ट अफ फाइनल अपिललाई क्षती पुर्‍याइएको र पुलिसका अनुसार यीमाथि पेट्रोल बममार्फत् हमला गरिएको छ ।

यो हमलालाई र्‍यालीका आयोजक, पुलिस र सरकारले निन्दा गर्दै यो हङ्गकङ्गको छवि धुमिल गर्ने कारवाही भएको बताएका छन् ।

यसअघि पुलिसले अनुसन्धानको क्रममा एउटा अटोमेटिक पेस्तोल, १ सय ५ वटा गोली, चक्कु र पटाका भेटेको बतायो । प्रदर्शनको क्रममा ह्यान्डगन भेटिएको यो पहिलो घटना हो ।

दुई हप्ता अघि स्थानीय निकाय चुनावमा लोकतन्त्र समर्थक उम्मेद्वारको भारी जीत पछि शहरमा केही शान्ति छाएको छ ।

 तर हङ्गकङ्गका नेता क्यारी ल्यामविरुद्ध अहिले पनि असन्तोषको स्थिती छ र प्रदर्शनकारीले सरकारलाई थप सहुलियतको लागि माग गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप