शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुग्लिन पुलबाट हाम फालेकी युवतीलाई होटलमा काम गर्ने युवकले यसरी बचाए

आइतबार, २२ मङ्सिर २०७६, १८ : ३४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिङको पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक युवतीलाई स्थानीय युवकले बचाएका छन् ।  आइतबार अपरान्ह २ बजे आत्महत्या गर्ने मनसायले मुग्लिनको पुलबाट त्रिशुली नदीमा हाम फालेकी गोरखा पालुङटारकी २६ वर्षीय सुस्मिता शर्मा (नाम परिवर्तन) लाई स्थानीय होटलमा काम गर्ने एक युवकले पौडिएर बचाएका हुन् । 

मुग्लिङको पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा काम गर्ने निलकण्ठ नगरपालिका १ हिलेखर्क धादिङका २० वर्षीय सन्तोष गुरुङले महिला बग्दै गरेको देखेपछि नदीमा पौडिएर उद्धार गरेका हुन् । 

यसरी बचाएँ.....
मेरो घर धादिङको निलकण्ठ नगरपालिकामा पर्ने हिलेखर्क भन्ने स्थानमा हो । म पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा काम गर्छु । घटना दिउँसो २ बजेतिरको हो । हामी होटलमा आएका ग्राहकलाई खाना दिँदै थियौँ । महिला लामो समयदेखि पुल छेउमै बसेर कोहीसँग मोबाइलमा कुरा गरिरहेकी थिइन् ।

हाम्रो होटल नदी छेउमै छ । होटलमै काम गर्ने समयमा महिला पुलबाट नदीमा हाम फालेको एक साथीले देखे । त्यसपछि होटलमा हल्लाखल्ला भयो । उद्धारका लागि कोही पनि अग्रसर नभएपछि म ग्राहकलाई खाना दिन छाडेर त्रिशुली नदीतर्फ दौडिए । महिला बग्दै गरेको देखें । त्यसपछि नदीमा म आँफै पनि हाम फालेर पौडिदै गएँ । 

नदी एकदमै चिसो थियो । नदिले बगाएर महिलालाई करिब ५ सय मिटर तल पुराइसकेको रहेछ । म सँगै अन्य साथीहरु पनि नदीमा पौडिँदै थिए । म सबैभन्दा अगाडि पुगेँ र महिलालाई उद्धार गरेर नदी किनारामा ल्याएँ । 

महिलाले धेरै पानी खाइसकेको रहेछ । मैले छाति थिचेर पानी निकाल्ने कोसिस गरेँ । केही पानी बाहिर आएपछि महिला बल्ल चल्न थालिन् । तर उनी बोल्न सकिरहेकी थिइनन् । त्यसपछि मैले हात माडिदिएँ । पानी एकदमै चिसो भएकाले होला उनलाई गाह्रो भइरहेको थियो । केही समय हात माडेपछि बल्न उनी बोल्न सक्ने भइन् । तर उनको अवस्था गम्भीर नै थियो । हामीले तत्कालै उनलाई उपचारका लागि नजिकको अस्पतालमा पठायौँ । पछि अवस्था गम्भीर भएको भन्दै उनलाई काठमाडौं पठाइयो ।

मेरो घर धादिङको हिलेखर्क हो । त्यहाँ नदी छैन । तर म सानो देखि नै शहर आसपास बसेको हुँ । मलाई सामान्य पौडी खेल्न आउँछ । तर नदीमा बगेको मान्छेलाई उद्धार गरेको पहिलोपटक हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक महेश पाठकका अनुसार महिलाको आफन्तसँग सम्पर्क भइसकेको छ ।

उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरी निरीक्षक पाठकका अनुसार महिलाले लामो समयदेखि डिप्रेसनको औषधी खाइरहेकी थिइन् ।  तस्बिर सौजन्यः डिलादत्त पन्त र विकास मगर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप