शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आलम पक्राउको टाइमलाइन : रौतहटको गौतम होटल पुगेर प्रहरी महानिरीक्षकको त्यो ‘गो अहेड’

प्रधानमन्त्री ओलीले पनि भनेका थिए – जोसुकै भए पनि पक्राउ गर्नु
आइतबार, २२ मङ्सिर २०७६, १४ : ०४
आइतबार, २२ मङ्सिर २०७६

रौतहटको राजपुर बमकाण्डका आरोपी तत्कालीन सांसद अफताब आलमलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले एक वर्ष मिहिनेत गरेको खुलासा भएको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डका दर्जन बढी घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप खेप्दै आएका तत्कालीन सांसद आलम प्रहरी प्रधान कार्यालयको लगातार एक वर्षको मिहिनेतपछि गत असोज २६ गते पक्राउ परेका थिए ।

पीडितहरुका तर्फबाट श्रीनारायण सिंह र रुक्साना खातुनले २०६५ साउन २१ गते आलमविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिई आलमविरुद्धको मुद्दा अगाडि बढाइदिन निवेदन दिएकी थिइन् ।

निवेदन दर्ता भएको झण्डै चार वर्षपछि २०६९ जेठ १६ गते सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय सुुशीला कार्की र भरतबहादुर कार्कीको संयुुक्त इजलासले बमकाण्ड घटनाको पुनः अनुुसन्धान गर्नुपर्ने आदेश दिएका थिए ।

सर्वोचले उक्त घटनाको अनुसन्धान गरी मुद्दा अगाडि बढाउनु भन्ने आदेश दिएको भए पनि आदेशपछिको झण्डै ७ वर्ष प्रहरी अलमलमै अड्किएको थियो ।

रौतहटमा तत्कालीन एमालेबाट प्रतिनिधित्व गर्ने अब्दुल कलाम आजाद समानुपातिक सांसद बनेपछि बमकाण्डका आरोपीलाई पक्राउ गर्न उनले सदनमा हस्ताक्षर अभियान नै चलाएका थिए ।

समाजवादीका केन्द्रीय सदस्य किरण साहका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सांसदहरुसँग हस्ताक्षर गराइ सर्वोच्चको आदेश कार्यान्वयन गराउन पटक–पटक गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पीडित परिवारले उक्त हस्ताक्षर बुझाएका थिए ।

४ पूर्वआईजीपीले टेरेनन् सर्वोच्चको आदेश

सर्वोच्चको आदेशपछिको ७ वर्षको अवधिमा नेपाल प्रहरीमा ४ जना व्यक्ति महानिरीक्षक बनेर आए पनि शक्तिमा रहेका आलमलाई पक्राउ गर्न कुनै पनि महानिरीक्षकले चासो देखाएनन् ।

२०६९ भदौदेखि २०७० को कात्तिकसम्म कुवेरसिंह राणा प्रहरी महानिरीक्षक बने भने २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीको महानिरीक्षक रहे ।

त्यसैगरी २०७३ फागुनदेखि चैतसम्म एक महिनाको लागि दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकका रूपमा काम गरे भने २०७३ चैतदेखि ०७४ चैतसम्म प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक रहे ।

तर ७ वर्षको अवधिमा ४ जना नयाँ महानिरीक्षक आउँदा पनि सर्वोच्च अदालतको आदेशको परिपालना गर्ने हिम्मत कसैले देखाएनन् ।

सर्वोच्चको आदेश कार्यान्वयन गराउन पीडित परिवारले प्रहरीलाई विपक्षी बनाएर पुनरावेदन गर्दा पनि कार्यान्वयन हुन नसकेको राजपुर फरहदवा घर भई रौतहट क्षेत्र नम्बर २ का सांसद प्रत्यासी समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साहले बताए ।

जब सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेर प्रहरी मुख्यालय पुगे, त्यसपछि उनकै निर्देशन र सक्रियतामा रौतहट बम काण्डको बारेमा पुनः अनुसन्धान गर्न टोली खटाए ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउन खनालले रौतहट प्रहरी प्रमुखको रूपमा एसपी भूपेन्द्र खत्रीलाई २०७५ माघ महिनामा जिम्मेवारी दिएर प्रधान कार्यालयबाट रौतहट पठाएका थिए ।

जिल्ला प्रहरी प्रमुखका रूपमा रौतहट गएका एसपी खत्रीलाई महानिरीक्षक खनालले आलमलाई पक्राउ गर्नेबारे तथा जिल्लाको शान्ति सुरक्षाबारे पटक–पटक निर्देशन र मार्गदर्शन गर्दै आएका थिए ।

आलम पक्राउ हुनुभन्दा करिब ६ महिनाअघि महानिरीक्षक खनालले प्रदेश नम्बर दुई भ्रमणको क्रममा रौतहटको चन्द्रपुरस्थित होटल गौतममा आलम प्रकरणबारे फाइल मगाएर अध्ययन गरी एसपी खत्रीलाई ‘गो अहेड’को निर्देशन दिएका थिए । महानिरीक्षक खनालको निर्देशन र ग्रिन सिग्नलपछि रौतहटका एसपी खत्रीले फाइलबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएका थिए ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानिरीक्षक खनालले उक्त होटलमा आलमलाई पक्राउ गर्न अन्य राजनीतिक व्यक्तिहरुसँग पनि परामर्श लिएका थिए ।

समाजवादीका केन्द्रीय सदस्य किरण साह आफूले पटक–पटक महानिरीक्षक खनालसँग भेट गरी उक्त मुद्दाबारे कुराकानी गरेको बताउँछन् । पछिल्लो पटक साह पनि रौतहट घटनाबारे छलफलका लागि अन्य राजनीतिक दलका नेतासहित रौतहटको होटल गौतममा पुगेका थिए । घटनाको अनुसन्धानमा सहयोग गर्ने राजनीतिक दलको प्रतिबद्धतापछि होटल गौतमबाटै आलमलाई पक्राउ गर्ने योजना बनेको साहको दाबी छ ।

बेला–बेला नेपाल प्रहरी बद्नाम भइरहेको छ ।  प्रहरीमाथि लागेको बद्नामीको दाग मेटाउन पनि प्रहरीलाई रौतहट घटनाको सफल अनुसन्धानको आवश्यकता थियो । त्यही आधारमा महानिरीक्षक खनाल आफै अग्रसर भएर अनुसन्धान र आरोपीलाई पक्राउ गर्न पटक–पटक रौतहट मात्रै पुगेनन्, निर्देशनसमेत दिए ।

यस्तो थियो आलम पक्राउ पर्नुअघिको घटना विवरण :

मिति : २०७५ असोज २३ गते ।

समय : अपरान्ह ४ बजे ।

स्थान : प्रहरी हेडक्वार्टर

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरी हेडक्वार्टरमा आफ्नै काममा व्यस्त थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले बहालवाला सांसदलाई जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी काटेको भन्दै खनलालाई ब्रिफिङ गरे । एसपी खत्रीले ‘ती सांसद यतिबेला भारतस्थित ससुराली गएको र २–४ दिनमा आउने र समात्ने’ भनेर जानकारी गराए ।

महानिरीक्षक खनालले तत्कालै प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई बहालवाला सांसदलाई अदालतले पक्राउ पुर्जी काटेको जानकारी गराए । ‘जोसुकै भए पनि पक्राउ गर्न’ भन्दै प्रधानमन्त्रीले महानिरीक्षक खनाललाई आदेश दिएको उच्च प्रहरी स्रोतले रातोपाटीलाई बतायो ।

पक्राउ गर्ने आदेशसँगै महानिरीक्षक खनालले गोप्य तरिकाले आफ्ना विश्वासिला पात्रहरुलाई असोज २४ गते नै रौतहट पठाउने निर्णय गरे । महानिरीक्षक खनाल भन्छन्, ‘प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवको आदेशपछि हेडक्वार्टरबाट पनि रौतहटमा सादा पोसाकका प्रहरी पठाइएको थियो ।’

मिति : २०७५ असोज २४

समय : ८ः३० बजे

स्थान : प्रहरी हेडक्वार्टर

हेडक्वार्टर मातहत रहने विशेष ब्युरोका इन्सपेक्टरको कमान्डमा १५ जनाको सादा पोसाकको टोली रौतहटतर्फ लाग्यो । टोलीमा महानिरीक्षक सचिवालय र विशेष ब्युरोका दुई जना सईसमेत सहभागी भए ।

टोलीको अन्तिम गन्तव्य थियो रौतहटको सदरमुकाम गौर । दिउँसो ३ः३० बजेको समयमा सो टोली गौर पुग्यो । ८ घण्टाको यात्रापछि गौर पुगेका उनीहरु थकित थिए ।

उनीहरुको मिसन थियो– पूर्वमन्त्री तथा बहालवाला सांसद अफताब आलमलाई पक्राउ गर्नु । त्यति मात्रै उनको परिचय थिएन, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका स्थानीय नेता, मुस्लिम समुदायका अगुवा आदि आदि उनको परिचय थियो । सत्ता र शक्तिको आडमा उनले आफ्नो अपराधको ढाकछोप गरिरहेको आरोप लागेको थियो ।

रौतहट गृहजिल्ला भएका आलमलाई पक्राउ गर्न जिल्ला अदालतले असोज २३ गते पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेसँगै आलमलाई पक्राउ गर्ने उद्देश्यले नै इन्सपेक्टरको कमान्डमा टोली त्यहाँ पुगेको हो ।

आलममाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले बम बनाउँदै गर्दा विस्फोट भएपछि घाइते भएकाहरुलाई नजिकैको इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप थियो ।

हेडक्वार्टरको टोलीले गरेन रौतहट प्रहरीसँग समन्वय ?

आलमलाई समात्न इन्सपेक्टरको टोलीले सुरुमा रौतहट प्रहरीसँग नभएर पर्सा प्रहरीसँग समन्वय गर्यो ।

‘आलमलाई २–४ दिनमा समात्न पर्ला’ रौतहट एसपी खत्रीले महानिरीक्षकलाई ब्रिफिङ गराएको कुरा हो । एसपी खत्रीको ब्रिफिङले महानिरीक्षक खनालको मनमा चिसो पसेको थियो ।

एसपीको कुरापछि रौतहट प्रहरीले आलमलाई समात्नभन्दा पनि उम्काउन खोजेको जस्तो आभास आईजीपीलाई भयो । महानिरीक्षक खनाललाई रौतहट प्रहरीमाथि विश्वास लाग्न सकेन ।

खनालले तत्कालै छिमेकी जिल्ला पर्सालाई पनि घटनाबारे जानकारी गराएर रौतहट पठाए । महानिरीक्षकको निर्देशन लगत्तै रौतहट पुगेको पर्सा प्रहरी टोलीले पनि आलमको ‘रेकी’ गरिरहेको थियो ।

एसपी खत्रीले आलम भारतमा भएको झूठो ब्रिफिङ गरेका थिए

एसपी खत्रीले महानिरीक्षक खनाललाई ‘आलम भारतस्थित ससुराली गएको र २–४ दिनमा फर्किन्छ’ भनेर ब्रिफिङ गराएको कुरा सत्य नभएको महानिरीक्षक खनालले थाहा पाए । असोज २३ गते पनि आलम रौतहटमै थिए र असोज २४ गते उनी रौतहटको जिङ्गडिया भन्ने गाउँमा नेपाली काँग्रेसको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइरहेका थिए ।

किनकि प्रहरी हेडक्वार्टरबाट गएको टोली र पर्सा प्रहरीले आलमको घर ‘रेकी’ गर्दै महानिरीक्षक खनाललाई आलम कहाँ छन् ? के गरिरहेका छन् ? लगायत घटनाबारे ब्रिफिङ गराइरहेको थियो ।

असोज २४ गते साँझ आलम घर आएपछि हेडक्वार्टरबाट गएको टोली र पर्सा प्रहरीको टोलीले आलमको गाउँ फरहदवामा ‘रेकी’ गरेर बसेको थियो । 

मिति : २०७६ असोज २५

स्थान : आलम निवास नजिकै

समय : बिहान ६ बजे

घरबाट आलम बिहानै आफ्नो पर्सनल बडिगार्डसहित ‘मर्निङ वाक’को लागि निस्किए । प्रहरीले आलमको गतिविधि नजिकैबाट नियालिरहेको थियो । करिब एक घण्टापछि आलम मर्निङ वाकबाट घर फर्किए ।

मर्निङ वाक गरेर घरभित्र गएका आलम ११ बजेतिर मात्र बाहिर निस्किए । केही व्यक्तिहरु बाहिर आलमलाई कुरिरहेका थिए । शनिबारको दिन भएकाले आलम त्यो दिन कतै निस्किएनन् ।

मिति : २०७६ असोज २६

समय : बिहान ६ बजे

स्थान : आलम निवास नजिकै

प्रत्येक दिनझँै सो दिन पनि आलम बडिगार्डसहित ‘मर्निङवाक’का लागि निस्किए । अरू दिनभन्दा केही समय ढिला गरेर आलम घर फर्किए । सायद आलमलाई थाहा हुन सक्छ, आफू पक्राउ पर्दैछु भन्ने ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक प्रहरी कर्मचारीका अनुसार एसपी खत्रीले अदालतले पक्राउ पुर्जी काटेको दिन नै घटनाबारे आलमलाई ‘तपाईंलाई हेडक्वार्टरबाट पक्राउ गर्न टोली आएको’ भनेका थिए ।

आलम बिहान ११ बजेतिर घरबाट आफन्तको बिहेका लागि भारत जाने भन्दै निस्किए । तर उनी भारत पुग्न पाएनन् । घरबाट निस्केको केही मिनेटमै आलमलाई प्रहरीले पक्राउ गर्यो । टोयोटाको फर्चुनर गाडीमा निस्किएका आलमलाई मोटरसाइकलमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुटुक्क आलमको घर पुगेका थिए एसपी र सीडीओ

प्रहरी उच्च स्रोतका अनुसार रौतहटका एसपी भूपेन्द्र खत्री र रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा आलम पक्राउ गर्नुभन्दा सात दिनअघि मात्र आलमको घर पुगेर ‘नास्ता’ गरेर फर्किएका थिए ।

सीडीओ र एसपी दुवैजना आलमलाई जोगाउने पक्षमा देखिएपछि प्रहरी नेतृत्व सङ्कटमा परेको थियो । प्रदेश २ प्रहरी कार्यालयका डीआईजी प्रधुम्न कार्की पनि आलम पक्राउ गर्न नहुने पक्षमा थिए ।

आलम घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संस्थाले अनुसन्धान समेत गरिसकेका थिए ।

काका शेख इद्रिसको आडमा राजनीतिमा जमेका आलम रौटहट काँग्रेसको कार्यबाहक सभापति हुँदै दुई पटक जिल्ला सभापति र एक पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

छवि सुधार्ने प्रयत्न

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणपछि लगातार आलोचनाको केन्द्र बनिरहेको नेपाल प्रहरी पछिल्लो समय आफ्नो छवि सुधार्न प्रयासरत छ । निवर्तमान सभामुख कृष्णबहादुर महरादेखि जनकपुर एयरपोर्टमा तोडफोड गर्ने सांसद प्रमोद साह र गृहमन्त्रीकै भाइ नरेश थापा पनि पक्राउ परेपछि केही हदसम्म प्रहरी आफ्नो साख फर्काउन सफल भएको छ ।

खनालको कार्यकालमा डेढ वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न रहेका आठजना अभियुुक्त विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सोही अवधिमा १ सय ४५ किलो अवैध सुन र तस्करीमा संलग्न १ सय १६ जना समेत पक्राउ परेका छन् ।

१४ किलो लागूऔषध कोकिन, २ हजार ९ सय ६६ किलो खैरो हिरोइन, १२ हजार ४ सय ८१ किलो चरेस बरामद गर्नुका साथै घटनामा संलग्न करिब ७ हजार तस्करलाई पक्राउ गर्नु महानिरीक्षक खनालको थप सफलता हो ।

महानिरीक्षक खनालको कार्यकालमा ३ सय ६३ थान अवैध हतियार र १ हजार ३ सय ८४ थान गोली बरामद भएको छ । अवैध हातहतियारको घटनामा भने ४ सय २३ जना पक्राउ परेका छन् । नेपालमा अपराध गरेर विदेशमा लुकी बस्दै आएका ३० जनालाई रेड कर्नर तथा र ३६ जनालाई डिफ्युजन नोटिस जारीसमेत भएको छ ।

खनाल एसएसपी हुँदा फुटबल म्याच फिक्सिङका खेलाडीलाई पक्राउ गर्नका साथै कुुमार घैटेको इन्काउन्टर, ३५ जना व्यक्ति हत्याका आरोपी एवम् ५ लाख पुरस्कार रासी तोकिएका अपराधी बब्लु दुबेलाई आफै भारतको पटना पुगी पक्राउ गरेर ल्याएका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा भने नेपाल प्रहरी चुकेको विश्लेषण भइरहँदा केही दिनअघि मात्र महानिरीक्षक खनाल सुदूरपश्चिम भ्रमणमा निस्किएका थिए ।  महानिरीक्षक खनालले निर्मलाको हत्यारा छिट्टै पत्ता लगाउनुपर्ने भन्दै कञ्चनपुरका प्रहरी प्रमुखलाई कैलाली बोलाएर घटनाको अनुसन्धानमा भइरहेको प्रगति विवरण मागेका थिए । यद्यपि महानिरीक्षक खनाल आफ्नो अवकास हुनु अगाडि नै निर्मलाको हत्यारालाई कानुनी दायरमा ल्याएर घर जाने तयारीमा छन् । खनाल आगामी माघ २९ गते अवकाशमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप