शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाइयो ‘मर्यादित महिनावारी दिवस’

आइतबार, २२ मङ्सिर २०७६, १३ : ५४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं– विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।

राधा पौडेल फाउण्डेसनको अग्रसरतामा मनाइएको दिवसको अवसरमा माइतीघर मण्डलामा भेला भएका अभियन्ता तथा सर्वसाधारणले मर्यादित महिनावारीबारे कविता वाचन तथा आफ्नो भनाइ राखेका थिए । 

स्कुल तथा कलेजस्तरबाट महिनावारीबारे जनचेतना जगाउँदै आएको फाउण्डेसनले आज (डिसेम्बर ८)का दिन विशेष कार्यक्रमको आयोजना गरी मर्यादित महिनावारी दिवस मनाएको हो । 

राधा पौडेल फाउण्डेसनकी अध्यक्ष तथा मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले छोरीहरु महिनावारी हुनुपूर्व मानसिक रुपमा अछुतो हुँदैछु भन्ने मानसिकताबाट गुज्रिनु पर्ने भएकाले उनीहरुको जीवन डरत्रासबाटै वित्ने गरेको बताइन् ।

समाजले छोरीहरुलाई सानैबाट सवैकुरा सहनुपर्छ भन्दै मानसिक रुपमा तयार पार्दै आउने तर छोराहरुलाई भने उनीहरुलाई सर्वेसर्वा बनाइदिने हुँदा मानसिक रुपमा पूरषहरुमा अहम्ता र पुरुषत्तोको भावनाको विकास हुने पौडेलले बताइन् । यसको असर पुरुषहरुले आफूहरुलाई समाजको माथिल्ले दर्जाको मानवको रुपमा उभ्याउन पुग्छ र महिलामाथि विभिन्न हिंसा गर्न पुग्छ । यस्तो सामाजिक परिपाटीकै कारण हिंसा र बलात्कार जस्ता जघन्य अपराध हुने गरेको पौडेलको तर्क छ । लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको उनको तर्क छ ।

त्यसैगरी, अभियन्ता अनुपा रेग्मीले लैंङ्गिकतामा आधारित हिंसाविरुद्धको अभियान मनाइरहँदा लैङ्गिकतामा आधारित हिंसाको मूल कारणको बारेमा बहस वार्ता, छलफल हुनु जरुरी ठानेर यो दिवस मनाउन सुरु गरेको बताइन् । रोग्मीले महिनावारीलाई मानवअधिकारको साझा सवालसँग जोडेर सरोकारवालालाई महिनावारी केन्द्रमा राखेर काम गर्न झकझक्याउनकै लागि दिवस मानाएको बताइन् । महिनावारीले उत्पन्न गर्ने सवैखाले हिंसा रोकथाम गर्न महिनावारीका बारेमा खुलेर बहस हुनु जरुरी भएको उनको तर्क छ ।

महिनावारी सामान्य शारीरिक अवस्था भएकाले यसलाई स्वस्थ्यसँग जोडेर हेर्नुपर्ने अभियन्ताहरुको भनाई छ ।

माइतीघर मण्डलामा भेला भएका अभियन्ता तथा सर्वसाधारणले मर्यादित महिनावारीबारे कविता वाचन तथा आफ्नो भनाइ राखेका थिए । सँगै उनीहरुले मण्डलाबाटै मर्यादित महिनावारी लेखिएको सुन्तला रङको ब्यानर र बलुन पनि उडाएका थिए । सुन्तला रङ हिंसा विरुद्धको विश्वव्यापी अभियान (अरेन्ज दि वल्र्ड) को सिम्बोल पनि हो । त्यसैले, उक्त रंगको व्यानर उडाएर यो दिवसको संकेत गरिएको हो । 

मर्यादित महिनावारी दिवसलाई राष्ट्रियस्तरमै मनाइनुपर्छ: मन्त्री गुरुङ

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादिन महिनावारी दिवसलाई निरन्तरता दिनको लागि सरकारले पहल गर्ने बताएका छन् । 

प्रदेश नम्बर ३ ले आयोजना गरेको ‘लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७’ अन्तरगत लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिवद्धता विषयक प्रदेशस्तरीय अभियानमा बोल्दै मन्त्री गुरुङले आजको दिन (डसेम्बर ८) लाई ‘मर्यादित महिनावारी दिवस’का रुपमा घोषणा गरी संसारभर मनाउनका लागि सरकारले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने पनि प्रतिवद्धता गरेका छन् ।

मन्त्री गुरुङ्ले २ वर्ष अगाडि मस्यौदा भएको ‘मर्या्दित महिनावारी नीति २०७४’ को कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आगामी वर्षबाट सवैखालको महिला हिंसाको अन्त्य गर्न र महिलाहरुलाई शसक्तरुपमा अगाडी ल्याउन यो दिनलाई अभियानकै रुपमा मनाउने पनी मन्त्री गुरुङले बताए । 

मर्यादित महिनावारी दिवस ६ वटा प्रदेशका १२ वटा जिल्लामा यो दिवस मनाइएको छ । र, विदेशमा पनि यो दिवस मनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप