एकता टुङ्ग्याउन प्रचण्डको गृहकार्य : खुमलटारमा छुट्टाछुट्टै छलफल
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी गृहकार्य थालेका छन् ।
त्यसका लागि अध्यक्ष प्रचण्डले सोमबार सचिवालयको बैठक बोलाएका छन् । बैठकअघि आइतबार बिहान प्रचण्डले मुख्य नेताहरुसँग परामर्श गरेका छन् ।
प्रचण्डले नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटेर एकताका बाँकी कामबारे छलफल गरेका हुन् ।
आइतबार प्रचण्डसँग छलफल गर्न बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
तर उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएलगत्तै अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम चाँडै टुङग्याउने बताउदै आएका थिए ।
गत मंसिर ५ गतेयता कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक दुई पटक बोलाइसकेका छन् ।
सोमबारको सचिवालय बैठकमार्फत प्रचण्डले एकताका बाँकी काम टुङग्याउने र स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।