केन्द्रीय संस्करण

व्यङ्ग्य : अध्यात्मिक संसारका मत्ता हात्ती

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0

धार्मिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रका अभियन्ता भई परसेवामा अभ्यस्त हुने निष्कामकर्मी नै परमार्थी भावनाका जोगी हुन् । 

तर यो कराल कलि कालमा  अपवादबाहेक अत्यधिक जोगी  भने भोगी, ढोँगी, रोगी र स्वार्थलम्पट बन्न पुगेका छन् । ओठमा राम जपेर हराम कर्म गर्ने बाह्याडम्बरीहरु बर्खाको भ्यागुता र कीराझैँ स्याउँस्याउँ पो छन् बा ! अगाडि प्रशंसाको पुल बाँधी तुल बिछ्याई हुल जम्मा गर्दै जय जयाकारमा मडारिने, तर पछाडि हुने बित्तिकै खुराफातको तुषारापात गरी घातको वितण्डा मच्चाउने अलङ्कारवादी  नामधारी जोगीहरुको  हिउँद बर्खा नभनी एकोहोरो बाढी नै चलेको छ  गाँठे ?  

अझ धार्मिक र अध्यात्मिक क्षेत्रमा बाबा, स्वामी, एक हजार आठ महाप्रभु, आबाल ब्रह्मचारी, तपस्वी, गुरु, महागुरु, बालसन्त, उपबुद्ध, औतारीप्रभु, वाचनमणि भनेर कैयौँ स्वयं घोषित उपाधि तथा विशेषणमा रङ्गिएका जोगी भेषका र मुनि पहिरनका महासयहरुले भोगवादको किल्लामा झण्डा गाडेर वितण्डा मच्चाउँदै हिँडेका कुरूप तस्बिरले दिक्कै बनाउँछ बा ! परम हंस महाराज, भागवत्– भाष्कर, प्रवचन– दिवाकर, परम सन्त महाराज, परमसिद्ध पिता जस्ता उपाधि स्वयंले हो वा कुनै संस्थाले दिएका हुन् कि थाहै छैन समाजमा ।

 समय समयमा बाबाहरु वा सन्यासीहरुका चर्तिकलाले धर्म र अध्यात्मलाई  हावाकावा बनाएको छ । भारतीय बाबा आशाराम बाबु, स्वामी रामरहिमकै नयाँ संस्करणहरु नेपालमा पनि देखिन थाले भनेर आरोप र लाञ्छनाका किस्सा जोडिन थालेको निकै समय भइसक्यो । धर्म र अध्यात्मलाई बदनाम गरी यस्ता गेरुभेषधारी बलात्कारको केसमा मुछिएर मैल्याउनसम्म मैल्याए भनी आलोचना गर्नेहरुको धुइरो व्यापक पो हुन लाग्यो मेरी बास्सै नि ! 

वास्तवमा योगीकै तद्भव नेपाली मुहार हो ‘जोगी’ । जोगीलाई नै सङ्केत गर्ने शब्दहरु यति (इन्द्रिय जित्ने संन्यासी)  संन्यासी, बाह्रपन्थी, गोरखपन्थी, सन्नेसी, यायावर, बाबा वा स्वामी (साधुसन्तलाई मानपूर्वक गरिने सम्बोधन), महात्मा (समत्व भाव भएको जोगी) साधु (जो  विषयाशक्ति वा सांसारिक प्रपञ्चबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउँछ) सन्त, भिक्षु, पण्डित,  आदिबाट सम्बोधन गरिन्छ । तर उपाधिको पगरी भत्काएर इन्द्रियहरुलाई हिउँदको वस्तुझैँ छाडा छोड्नेहरु कसरी योगी, जोगी, ब्रह्मचारी र सिद्ध बाबा हुनसक्छन्, यी असिद्ध छावाहरु ? पेचिलो प्रश्न ठडिएको छ ।

‘छट् जोगी फट्कार छाला जहाँ जाला त्यहीँ खाला, कौपीनवन्तः खलु भाग्यवन्तः, अशोकवन्तः करुणैकवन्तः, भिक्षान्नमात्रेण च तुष्टिमन्तः, जोगीलाई फुक्का, भोगीलाई हुक्का, गफीलाई टुक्का, जफतीलाई मुक्का, जोगी हुन सजिलो जोगिन गाह्रोजस्ता उक्ति भत्काएर मतर्काएका साँढे तालका गाँडे बाबाले अध्यात्म संसारमा हुरीबतास र भूकम्प पो ल्याउन थाले भन्ने हल्लाले चल्ला पार्न थालेको छ  । हुन त व्यास बूढाले पाँच हजार वर्षअघि लेखेका थिए– ‘न योगी नैव सिध्दो वा, न ज्ञानो सत्क्रियो नरः । पाखण्डनिरताः सन्तो, विरक्ताः सपरिग्रहाः ।।’ भनेर योगी, साधु र महात्माहरुको बारेमा निर्मम उक्तिहरु पस्किएका छन् । 

 कोही योगीको दोहोरो नागरिकता देखियो, सरकारी जग्गा कब्जा गरेर आश्रम र कुटी बनाए, आफ्नै चेली चेला र शिष्याहरुलाई दीक्षाको बहानामा अनुचित हर्कत गरे । आफूले आफैलाई गोली हानेर तमासा मच्चाए, आपूmलाई ‘सानो बुध्द’ भनेर अनुयायी चेलीहरुको हूर्मत लिएका कुराहरु मिडियाबाजी भइरहेको छ समय समयमा ।

 किन्तु प्रमाणित हुन आनाकानी गर्दै फेरि त्यस्ता घटना सामसुम हुने क्रम उत्तिकै छ । तर सम्बन्धितहरु यसलाई विधर्मीहरुको षड्यन्त्र भनेर आपूm सफा र बेदाग भएको पनि बताउँछन् ।  

राम जाने, मुखमा रामराम बगलीमा छुरा हो कि के हो ? युरोपीय जगत्मा मध्यकालतिर धेरै पादरी र पोपहरुले भोगको रोगमा सांसारिक बनेर मोजमजामा अभ्यस्त भई पापमोचनपत्र बेची क्याथोलिक चर्च सत्ता कुरुप पारेको इतिहास ताजा छ ।

 जसको प्रोटेस्ट गरेर एक धर्मशास्त्रका प्राध्यापक मार्टिन लुथरले प्रोटेस्टेन्ट धर्मकै प्रतिपादन गर्न पुगेका थिए । कतै त्यस्तै दीर्घरोगले हाम्रो अध्यात्म संसारलाई हल्लाइरहेको त छैन ? छानबिन, आत्मालोचना र सुधारको खाँचो देखिएको छ । 

स्वामी वा बाबाहरुले समाज, सभ्यता र अध्यात्म जगत्मा हाबाकाबा मच्चाएर दिग्भ्रमित पार्नु सर्वथा वर्जनीय हुन्छ । नक्कली बाबा बनेर कामुताको तातो तावामा अनुयायीहरुलाई भ्रष्टतातिर धकेल्नु दुष्टता हो, मूर्खता हो र पश्चगमनको जात्रालु कुचिन्तन हो ।

त्यसैले आफूलाई परिव्राजक, संन्यासी, ध्यानी वा ज्ञानी भन्नेहरुले यस्ता पेचिला आरोपहरुबाट मुक्त हुन सक्नु अनिवार्य छ । मत्ता हात्ती र चटारिएको साँढे बनेर अध्यात्म संसारमा भद्रगोल मच्चाउनु भयङ्कारी विकृति हो । खबरदार ! लाञ्छना लागेका र लगाउने जमात !

समाजलाई गुमराहमा राखेर अनुचित हर्कत पूरा गर्ने चेष्टा पटाक्षेप गर । कलङ्कको विरूप अनुहार लिएर समाजमा वितण्डा नमच्चाउ । भोगी, रोगी, कोपी, ढोँगी, सोखी, आडम्बरी र बढी खरानी धस्ने र गेरुवा वस्त्रमा सिँगारिएर आध्यात्मिक संसारको भिलेन बन्न हुँदैन योगी वा जोगी । योग, ध्यान, तपस्या तथा ज्ञानको परा विद्याका उदधि हुन नसक्नेहरु नानाथरी विशेषणका पगरी ढल्काएर अनधिकार चेष्टा नगर । जय साधु, जय अध्यात्म !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...