मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको विपक्षमा मतदान गर्ने राप्रपाको निर्णय

आइतबार, ०४ भदौ २०७४, १४ : ३९
आइतबार, ०४ भदौ २०७४

 काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 


हेटौडामा आज सम्पन्न  पार्टी केन्द्रीय समितिको विशेष बैठकले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको  सह–प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 


संसदमा हाल विचाराधीन संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित  र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत  राजनीतिक दलहरुले विधेयक  पारित नभएपनि चुनावमा भाग लिने प्रतिबछता जनाएको, विधेयक पारित गराउने बारे स्वयम् सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश  भएको हिन्दुराष्ट्र पुर्नस्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु नै सक्रियाशिल रहेकाले  विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको श्रेष्ठले बताए । 

बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुनुलाई गम्भीर भुल भएको ठहर गर्दै आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागि हुनु राप्रपाजस्तो पार्टीलाई प्रत्युपादक हुन पुगेको निष्कर्ष निकालेको छ । 


यस्तै बैठकले देशको वर्तमान राजनीतिक परिस्थतिको समीक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समग्र अर्थतन्त्रमा देखा परेको ह्रास र नकारात्मक प्रबृत्तिप्रति चिन्ता समेत गरेको छ ।  सत्तारुढ दलको गलत नीति र सत्ता लिप्साका कारण तराईमा सानै र सुक्ष्म रुपमा  भएपनि विखण्डनकारी तत्व क्रियाशिल भैरहेको भन्दै यसबारे गम्भीर हुन सरकारसँग बैठकले आग्रह गरेको छ । 


बैठकले आगामी भदौ १५ गतेदेखि  देशभर पार्टीका स्थानीय तहका अध्यक्षहरुको सम्मेलन गर्ने सनातन धर्म सभाको आयोजना गर्नेलगायतका कार्यक्रम पनि तय गरेको छ । 


वरिष्ठ नेता पशुपति शमशेर राणाले आफ्नो पक्षमा  ४० प्रतिशत केन्द्रीय सदस्य तथा सांसद रहेको दाबी गर्दै पार्टी विभाजनको प्रयास थालेपछि तीन दिनयता राप्रपाको हेटौडामा केन्द्रीय समितिको विशेष बैठक बसेको हो । बैठकले  राणा पक्षमा लागेकाहरु मुल पार्टीमा फर्किए यसअघि घोषणा गरिएको कारबाही फिर्ता लिने निर्णय समेत गरिसकेको छ । 
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप