बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडकबाट उद्धार गरिएका नागरिकको पुनःस्थापनाको चुनौती

शनिबार, २१ मङ्सिर २०७६, १४ : २५
शनिबार, २१ मङ्सिर २०७६

असहाय, बेसहारा नागरिकलाई सडकबाट उद्धार गरिएपछि अहिले उनीहरुको पुनःस्थापनाको चुनौती पनि थपिएको छ ।  प्रदेश नं ५ सरकारको कार्यक्रमअनुसार बाँकेका विभिन्न स्थानबाट उद्धार गरिएका बेसहारा, असहाय ज्येष्ठ नागरिक र बालबालिकालाई अहिले नेपालगञ्जस्थित नीलसागर सेवा आश्रममा राखिएको छ ।   

    आश्रममा क्षमताभन्दा बढी सङ्ख्यामा असहाय, बेसहारा नागरिकलाई राखिएपछि उनीहरुको उचित रेखदेख, स्याहार तथा पुनःस्थापनाको चिन्ताले आश्रमका सञ्चालकलाई अहिले पिरोल्न थालेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाको सडक, मठमन्दिरबाट उद्धार गरिएका ७० जनाभन्दा बढीले नीलसागरमा आश्रय लिइरहेका छन् ।

    “सडकबाट मुक्त गरिएका नागरिकको पालनपोषण तथा पुनःस्थापनाका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार नै उनीहरुलाई आश्रममा राखिएको हो”, आश्रमका अध्यक्ष सरिता खनालले भन्नुभयो । बाँकेका तीन स्थानीय तहबाट १६५ जना असहाय, बेसहारालाई सडक तथा मठमन्दिरबाट आश्रममा लगिएको छ ।

    अहिलेसम्म नेपालगञ्जबाट ७५, कोहलपुरबाट ५५ र खजुराबाट ३५ जनालाई सडकबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ८० जनालाई पारिवारिक पुनःमिलन गराइएको छ । अहिले नीलसागर सेवा आश्रममा सडकवाट मुक्त गरिएका ७० जना ज्येष्ठ नागरिक र बालबालिका छन् । यस्तै, नीलसागरको शाखा कोहलपुरमा २८ जना र बर्दियाको गुलरियामा ३३ जना असहाय, बेसहारा नागरिकले आश्रय लिइरहेको अध्यक्ष खनाल बताउनुभयो । 

    सडक तथा मठमन्दिरबाट उद्धार गरिएका त्यस्ता नागरिकको लालनपालनका लागि मासिक रु तीन लाख बढी खर्च हुने गरेको र भाडाको घरमा उनीहरुको व्यवस्थापनमा कठिनाइ आउने गरेको छ । “प्रदेश र स्थानीय सरकारले बस्ने भवन र उचित व्यवस्थापन गरिदिएको खण्डमा मात्र उद्धार गरिएका असहाय तथा बेसहाराको पुनःस्थापनालाई सहज बनाउन सकिन्छ”, अध्यक्ष खनालको भनाइ छ ।  

    नेपालगञ्जमा विसं २०७३ मा स्थापना भएको नीलसागर सेवा आश्रमले शुरुआति चरणदेखि नै असहाय, अशक्त तथा सहारा विहीनलाई सडकबाट उद्धार गर्दै आएको छ । सेवा आश्रमको मासिक खर्च अहिले रु तीन लाख रहेको छ । अहिलेसम्म विभिन्न दाताबाट प्राप्त हुँदै आएको नगद, चामल, दाल, लुगाफाटो, जिन्सी सामग्रीबाट आश्रमको गुजारा चल्दै आएको छ । प्रदेश नं ५ सरकारले सडक मानवमुक्त अभियान सञ्चालन गरेपछि बाँकेका स्थानीय तहका जनप्रतिनिधिले पनि अभियानमा साझेदारी गरेका छन् । 

    नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर भन्नुहुन्छ, “‘असहाय, बेसहारालाई सडक, मठमन्दिरबाट उद्दार गर्न उपमहानगरपालिकाको प्रदेश नं. ५ सरकारसंग सहकार्य भएको छ । नीलसागरलाई हामीले अभियानमा समेटेका छौँ । उद्धार गरिएकाको उचित लालनपालन र पुनःस्थापनाका लागि आवश्यक रकम र अन्य सहयोग हामी नीलसागरलाई उपलब्ध गराउने छौँ ।”

    नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको नीलसागर सेवा आश्रमको शाखा कार्यालय हाल बाँकेको कोहलपुर, सुर्खेत, दैलेख बर्दियाको गुलरिया र दाङमा समेत विस्तार गरिएको छ । आश्रमसँग अहिले ती जिल्लामा आप्mनो भवन छैन । सबै शाखा कार्यालय भाडाको घरमा स्थापना गरिएको छ । रु पाँच करोडको लागतमा पाँच वर्षभित्र नेपालगञ्ज–६ मा आश्रमको केन्द्रीय कार्यालय भवन निर्माण हुने भएको छ ।

    केही समयअघि प्रदेश नं ५ का सामाजिक विकास मन्त्रीले भवनको शिलान्याससमेत गर्नुभएको थियो । भवन निर्माणका लागि प्रदेश ५ सरकारले सबै खर्च व्यवहोर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म रकम हात नपरेको अध्यक्ष खनालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप