शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचारः सागमा इतिहास रच्दै गौरिका, ग्लोबल बन्यो देशकै ठूलो वाणिज्य बैंक

शुक्रबार, २० मङ्सिर २०७६, २० : ०४
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत मेडल तालिकामा भारतको अग्रता कायम छ । यता नेपाल मेडल तालिकामा दोस्रो स्थानमा छ । अहिलेसम्मको मेडल तालिकामा भारते ७२ स्वर्ण, ५३ रजत र २५ कास्य जितेको छ भने नेपालले ४१ स्वर्ण, २७ रजत र ४२ कास्य पदक जितेको छ । त्यसैगरी, श्रीलंकाले २० स्वर्ण, ३९ रजत र ५८ कास्य जितेको छ भने पाकिस्तान १८ स्वर्ण, २४ रजत र २६ कास्यसहित चौथो स्थानमा छ ।
त्यसैगरी, बंगलादेशले अहिलेसम्म ४ स्वर्ण, ११ रजत र ४५ कास्य जितेको छ । यता माल्दिभ्सले १ स्वर्ण, ३ कास्य जित्दा भुटानले ६ कास्य पदकमै चित्त बुझाएको छ ।

पौडी 
१३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली पौडी वाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्यकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निधारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधातर्फ नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । योसँगै गौरिकाले १३ औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।

भारोत्तोलन
सागअन्तर्गत भारत्तोलनमा नेपालका विकास थापाले स्वर्ण पदक जितेका छन् । पोखरामा शुक्रबार भएको भारोत्तोलनमा विकासले ८९ केजी तौल समूह मुनि स्वर्ण पदक जितेका हुन्। विकासले स्न्याचमा १२३ केजी र क्लिन एण्ड जर्कमा १४६ केजी उचाल्दै स्वर्ण पदक जिते ।

पुरुष क्रिकेट
सागअन्तर्गत आज भएको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निधारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रनमा समेटिको थियो ।

महिला क्रिकेट

शुक्रबारै पोखरामा भएको महिला क्रिकेटमा नेपाल उपाधि होडबाट बाहिरिएको छ । खेलमा श्रीलङ्कासँग पराजित हुँदै नेपाल उपाधि होडबाट बाहिरिएको हो । टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलङ्काले निधारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

११९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित ओभरमा ९ विकेटको क्षतिमा ७७ रनमात्र बनाउन सक्यो । प्रतियोगिताको उपाधिका लागि अब बंगलादेश र श्रीलङ्का भिड्नेछन् । बंगलादेश अहिलेसम्म अपराजित छ भने श्रीलङ्काले तीनमध्ये दुई खेल जितेको छ ।

दौड

आजै भएको ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । शुक्रबार भएको खेलमा उनले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै, नेपालकै हरिकुमार रिमालले सोही दौडमा काँस्य पदक जित्न सफल भएका छन् । 

शुक्रबारै भएको ४ सय मिटर पुरुष हर्डल्समा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पाकिस्तानका मेहबुब ओलीले स्वर्ण जित्दा भारतका जबिर मदारीपा र सन्तोष कुमारले क्रमशः रजत र स्वर्ण पदक जिते । ४ सय मिटर महिला हर्डल्समा पनि पाकिस्तानकी नज्मा प्रविनले स्वर्ण पदक जितिन् । दौडमा श्रीलङ्काकी कौशल्या मधुले रजत हात पारिन् भने भारतकी वीरपाल कौरले काँस्यमा चित्त बुझाइन् ।

महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिए : अर्थमन्त्री 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताएका हुन्  ।

उनले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए । त्यसका लागि ठुलो आकारको बैंक हुँदा सहज हुने उनको भनाई थियो । उनले अल्पकालीन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठुलो पूँजी निर्माणका लागि ठुलो बैंक आवश्यक रहेको समेत बताए । उनले ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे । उनले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले मर्जरपछि बैंकहरु ठुलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए । उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिए । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे ।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । ठुलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गरे ।

मर्जरपछि बनेको बैंकको अध्यक्ष ग्लोबल आइएमईका चन्द्रप्रसाद ढकाल बन्नुभएको छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेका छन् । बैंकको नाम भने ग्लोबल आइएमई बैंक रहेको छ । कार्यक्रममा बैंकका अध्यक्ष ढकालले बिग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको बताए । उनले मर्जरपछि बनेको बैंक पूँजी, कर्जाजोखिम बहन क्षमता, प्रविधि लगायतका क्षेत्रबाट सबल बन्न समेत सक्षम हुने प्रतिवद्धता व्यक्त गरे । 

बिग मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । दवै बैंकले घोषणा गरेको बोनस वितरण पछि भने बैंकको चुक्ता पूँजी २० अर्ब पुग्ने छ । बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ९४ अर्ब रहेको छ । त्यस्तै ३ सय शाखा कार्यालय, २ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा तथा ३३ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिने छ । 

बैंकप्रतिको विश्वास घट्न थाल्यो : उद्योगी व्यावसायी 

कार्यक्रममा उद्योगी व्यवसायीहरुको पनि उल्लेख्य उपस्थिति थियो । उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकहरुले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताए । अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताए । उनले बैंकहरुको ब्याजदर पटक–पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरुले ब्यजदर घटेको अनुभव गर्न नपाएको बताए । त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भिर नभएको गुनासो गरे ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सानै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुको आग्रह थियो । 

जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको छ : परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको बताएका छन् । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतीहरु’ विषयमा शुक्रबार जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका हुन् । उनले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताए ।

दक्षिण एसिया भौगोलिक तथा हावापानीको दृष्टिकोणले उच्च प्रकृतिक प्रकोप हुने क्षेत्र भएकाले जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहस आवश्यक रहेको उनले बताए । मन्त्री ज्ञवालीले त्यसका लागि नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार,जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताए ।

सिमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर भएन : सांसदहरु 

सत्तारुढ दलकै सांसदहरुले राष्ट्रकै गौरब र सिमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । संघीय संसद अन्र्तगत राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री र परराष्ट्रमन्त्री अनुपस्थित भएपछि सांसदहरुले सरोकारवाला मन्त्रीहरु नै सिमा सुरक्षाको विषयमा गम्भीर नबनेको आरोप लगाएका हुन् । 

राष्ट्रकै गौरव र सिमा सुरक्षा जस्तो संवेदनशील विषयमा छलफल गर्न बोलाउँदा अनुपस्थित भएर सरकारबाट संसदीय समितिकै मर्यादा उल्लंघन गर्ने काम गरेको आरोप पनि समिति सदस्यहरुले लगाए । सत्तारुढ दल नेकपाका तर्फबाट समिति भीम रावलले संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरु समितिमा उपस्थित नहुनु आपत्तिजनक भएको टिप्पणी गरे ।

 बैठकमा गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा सिमा सुरक्षा पोष्ट निर्माणका लागि मन्त्रालयको प्रस्तावमा बन मन्त्रालयले सहमति नदिएका कारण रोकिएको धारणा राखेका थिए । त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डाक्टर मिनेन्द्र रिजालले सरकारका मन्त्रीले समितिको बैठकमा अनुपस्थित भएर संसदीय समितिको मर्यादा नराखेको भन्दै आक्रोश पोखेका थिए ।

समितिले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत विवादित बनेका नेपाली सिमा सुरक्षाका बारेमा छलफल गर्न गृह, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रीलाई छलफलमा बोलाएको थियो । 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताए । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पु¥याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए । देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश शाहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थापनन कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको उनले बताए । 

बेलुका ६ बजेको भिडियो समाचार हेर्नुहोस्ः

यो पनि छुट्योकि.....


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप