बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारविरुद्ध सबै स्थानीय तहमा विरोध सभा गर्छौं :  प्रवक्ता शर्मा

‘बर्लिनको पर्खाल त धरानमा ढल्यो’
शुक्रबार, २० मङ्सिर २०७६, १८ : ५७
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान संचालन गर्ने बताएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, बेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीबिरुद्ध शुक्रबार पार्टीको नगर संघर्ष समितिले आयोजना गरेको विरोध सभामा प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए काँग्रेस विरोधमा उत्रने चेतावनी दिए ।

सरकारका बेथितिविरुद्ध काँग्रेसले नेपाल बन्द आयोजना गर्दा जनताले दुःख पाउने भएकाले विरोध सभाबाट नै जनतालाई जगरुक बनाउने बताए । ‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकामा १४ मंसिरमा भएको  निर्वाचनमा कम्युनिष्ट ढलिसके’, शर्माले भने, ‘नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनताले पत्याउन छाडिसकेको यो प्रमाण हो ।’

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको उनले दाबी गरे । शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपा पराजित हुनु उपनिर्वाचनले नेकपालाई सच्चिन सन्देश दिएको बताए । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ । 

काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको चरम अनुकम्पाले प्रधानमन्त्री भएका नेपालले आफ्नो निर्वाचन क्षेत्रमा नेकपाकै नगर प्रमुखले गरेको भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न नसकेको शर्माको आरोप थियो ।

नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष  समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए । काँग्रेसका सांसद भिमसेनदास प्रधानले नेकपाको  सरकार भएपछि स्थानीय तहमा संस्थागत रुपमा भ्रष्टाचार हुन थालेको बताए । काँग्रेस काठमाडौंका  सभापति सवुज वानियाँ (कृष्ण), नेता लोकेस ढकाल लगायतले स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर कार्यक्रम संचालन गरिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप