बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बलात्कारका चार आरोपितको इन्काउन्टर : अपराध उनीहरुले नै गरेको के प्रमाण थियो ?

कानुन व्यवसायीले उठाए प्रश्न
शुक्रबार, २० मङ्सिर २०७६, १४ : ४८
शुक्रबार, २० मङ्सिर २०७६

नयाँ दिल्ली । भारतको हैदरावादमा एक महिला डाक्टरको बलात्कार र हत्या आरोपमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’ मा मारेको घटनाबारे कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

दिल्ली उच्च अदालतमा अपराध मामिलाको वकिल रेबेका मेनन जोन र हैदरावादस्थित कानुनकी प्रोफेसर तथा मानवअधिकार कार्यकर्ता कल्पना कन्नाबिरनले प्रहरी कारवाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन् ।

रेबेकाले फेसबुकमा लेखेकी छन्, ‘कति सजिलै हामी भीडको हातबाट न्यायको उत्सव मनाइरहेका छौँ, त्यो प्रहरी जसमाथि कसैले पनि विश्वास गर्न सक्दैन, आधा रातमा चार निःसशस्त्र मानिसको हत्या गर्छ, किन ?’

जवाफमा उनी आफैँ लेख्छिन्, ‘किनकि यस्ता मानिस रहोस् या नरहोस्, कसैलाई केही फरक पर्दैन ।’


उनले प्रश्न गरेकी छन्, ‘के दिल्ली प्रहरीले पहुँचवालामाथि पनि यस प्रकारको व्यवहार गर्न सक्छ, जो जोर बाग र महारानी बागमा बस्छन् ? उनीहरुले नै अपराध गरेका थिए भन्नेमा हामीसँग त्यस्तो के बलियो प्रमाण थियो र ? के कुनै अदालतले उनीहरुलाई देखेको थियो ? उनीहरुलाई अपराधी करार गरिएको थियो ?’

उनीहरुले अपराध नै गरेको हो भनेर मान्न सकिए पनि तिनलाई प्रक्रियाअनुसार कारवाही हुनुपर्ने उनको भनाइ छ । उनले समाजलाई सचेत तुल्याउँदै व्यङ्ग्यको शैलीमा भनेकी छन्, ‘यदि उनीहरु रहँदैनन् भने भोलि तपाईको पनि पालो आउन सक्छ, निर्वाचित प्रतिनिधिहरु, राजनीतिक दल र कार्यकर्ता न्यायको माहोल बनाइरहनु भएको थियो, तपाईहरुलाई न्याय मिल्यो ।’

उनले अगाडि भनेकी छन्, ‘अब तपाईंहरु घर जानुस्, जुस खानुस्, तपाईंहरुको नक्कली अनशन सकियो, तपाईंलाई कहिल्यै कुनै वास्ता नै थिएन किनकि तपाईंलाई वास्ता थियो भने उन्नावमा एक महिला उजुरीकर्तामाथि खुलेआम त्यसरी हमला हुने नै थिएन ।’

उनले बलात्कारको शिकार भएका महिलाहरुलाई सहयोग गर्नु एउटा लामो र थकाइ लाग्ने काम भएको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, ‘तपाईंहरुले त्यस्तासँग कहिल्यै भेट गर्नुभएन, कुरा गर्नुभएन । तपाईंहरुलाई थोरै पनि ज्ञान छैन, उनीहरुमाथि के भइरहेको छ र उनीहरु के चाहन्छन् ।’

उनले लेखेकी छन्, ‘आफ्नो शिर लाजले झुकाउनुस् र डराउनुस् । तर याद राख्नुस्, महिलाहरु यस्तो चाहँदैनन् । हाम्रो नाममा यस्तो नगर्नुस् ।’

यस्तै प्रोफेसर तथा मानवअधिकार कार्यकर्ता आदित्यनाथले एउटा प्रदेश सञ्चालन गरिरहेको, नित्यानन्दले एक राजशाही स्थापित गरिरहेको र उन्नावकी पीडित महिलालाई जलाइएको घटनाको पृष्ठभूमि उल्लेख गर्दै कल्पनाले लेखेकी छन्, ‘चार जनालाई मारिएको छ, के यही न्याय हो ? के तेलङ्गानामा अदालतले आफ्नो काम बन्द गरोस् र यस्तो तमाशा हेरौँ भन्ने हामीले चाहेका हौँ ?’

उनले अनगिन्ती परिवार न्यायको प्रतीक्षामा रहेको पनि बताएकी छन् ।

उनले लेखेकी छन्, ‘इन्काउन्टरबाट न्याय हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप