मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनाको कहालीलाग्दो तथ्याङ्क : १९ दिनमा ८८ जनाको मृत्यु

शुक्रबार, २० मङ्सिर २०७६, १२ : ४९
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । बढ्दो सवारी साधन सँगसँगै संसारभरि नै अल्पविकसित तथा विकासशील देशहरूमा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपाल पनि अछुतो छैन ।

सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन् । सानो होस् या ठूलो दुर्घटना नभएको दिन नै छैन ।

हाल नेपालमा एकदिनमा ३० देखि ४० वटा सवारी दुर्घटना हुने गर्छ । जसमा दैनिक ७ जनाको मृत्यु हुन्छ भने १० जना घाइते हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले बताउँछ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो १८ दिनमा मात्रै सडक दुर्घटनामा १५१ जनाले ज्यान गुमाएका छन् भने १ हजार ४७५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीको यो तथ्याङ्क हेर्दा वार्षिक १४ हजारभन्दा बढी सवारी दुर्घटना भइरहेका छन् । वार्षिक सवारी दुर्घटनामा २ हजारभन्दा बढीले ज्यान गुमाउनुपरेको छ भने ४ हजारभन्दा बढी घाइते भएको तथ्याङ्कले देखाएको छ ।

अझ मृत्यु हुनेमा ३० प्रतिशत बालबालिका रहेका छन् । देशलाई चाहिने असल नागरिक सवारी दुर्घटनामा परेका छन्, मरेका छन् । भविष्यमा देश हाँक्ने अशल नागरिक अकालमा मृत्युवरण गरिरहेका छन् ।

मङ्सिर १९ गतेसम्म ८८ जनाको अनाहकमा सडक दुर्घटनामा ज्यान गएको समाचार रातोपाटीमा छापिएको छ । जसमा कति गते कहाँ के दुर्घटना भयो ? विस्तृत रूपमा तल हेर्न सक्नुहुनेछ ।

मङ्सिर १ गते

काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–११ डालाबेँसीस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भयो । काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्डो छल्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको हो । स्कुटीमा सवार अर्का एक जना घाइते भएका थिए ।

मङ्सिर २ गते

यस्तै बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भए । दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना५ख ६४४९ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

बसमा सवार १४ जना घाइते भए । घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दङ्गीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर भयो । उनीहरुलाई तत्कालै उपचारका लागि पठाइयो ।

मङ्सिर ४ गते

दोलखाको लामोसाँगु जिरी सडकखण्डअन्तर्गत भीमेश्वर नगरपालिका–८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भयो ।

सडकमा  रोकिराखिएको बा३ख २९९७ नम्बरको बस ब्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका–३, मिर्गेकी ७० वर्षीया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौँतर्फ आइरहेको थियो ।

राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।

मङ्सिर ५ गते

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भयो । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा हुन् ।

कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको महिन्द्रा जिपले ठक्कर दिँदा घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै सोही दिन बर्दियाको गुलरिया नगरपालिका–३, पुरानो सरजु नदी हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भयो । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव थिए । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नं को मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्याक्टर चालक मनोज तामाङको मृत्यु भएको हो ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुमतर्फ गइरहेको ग१त ४१६४ नं को ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको हो ।

मङ्सिर ८ गते

चितवनको भरतपुर महानगरपालिका–२९, दासढुङ्गामा ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष थिए ।

मुग्लिनबाट हेटौँडातर्फ जाँदै गरेको ना६ख १८९६ नं को ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीले लगत्तै पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा लियो ।

यस्तै बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भयो । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका अर्जुन खत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते भए ।

सोही दिन पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका– ६ बैरेनीबजारमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने ४० घाइते भए । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।

यस्तै बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको बानेश्वरमा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । संसद् भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भएको हो ।

मङ्सिर ९ गते

काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । ड्याम बनाउने क्रममा बा३क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो ।

घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए ।

मङ्सिर १० गते

सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको को१प १०६ नम्बरको मोटरसाइकल बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भयो ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको हो । चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेतासमेत हुन् ।

सोही दिन गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकको बुटिस गैरामा रिडीबाट ठुलोलुम्पेकतर्फ जाँदै गरेको लु१ज २७८४ नम्बरको जिप दुर्घटना भयो । दुर्घटनामा एकजनाको मृत्यु भयो ।

दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङ्दीकी ६८ वर्षीय ललितादेवी सिंजालीको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै २३ वर्षका साजन राहादी, २२ वर्षका देवबहादुर विक, ७ वर्षका वीरेन्द्र सिंजाली, पाल्पा घर बताउने २३ वर्षका अनिल विक घाइते भए ।

मङ्सिर ११ गते

अर्घाखाँचीको सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्वरको यात्रुबाहक बस  सन्धिखर्क नगरपालिका–६, कालाखोलामा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए । दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भए ।

दुर्घटनामा मृतक १९ जनाको २४ घण्टापछि मात्र सनाखत भयो ।

सोही दिन हुम्लामा टिपर दुर्घटना हुँदा चारजनाले ज्यान गुमाए भने १३ जना घाइते भए । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका–३, पाटुमा ट्याक्टर पल्टिँदा सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवारको मृत्यु भयो । सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना२त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै दाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने २० जना घाइते भए । घोराहीबाट प्युठान जाँदै गरेको ना३ख ६५४२ नम्बरको बस बङ्गलाचुली गाउँपालिका–६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

मङ्सिर १३ गते

सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४, घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा ७ जना घाइते भए ।

मङ्सिर १४ गते

प्युठानको ऐरावती गाउँपालिका–५, पकलामा एम्बुलेन्स दुर्घटना भयो । दुर्घटनामा एकजनाको ज्यान गयो भने चारजना घाइते भए । ऐरावती–१ बन्जाडे गाउँबाट सुत्केरी छोडेर फर्कने क्रममा धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

यस्तै सोही दिन सुनसरी, सिरहा, अर्घाखाँची, चितवन, उदयपुर र पाँचथरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका थिए ।

मङ्सिर १५ गते

काठमाडौँ, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाए । काठमाडौँ महानगरपालिका–१४, कलङ्की मकालु पम्प नजिक नम्बर नखुलेको टिपरको ठक्करबाट नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यस्तै भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकमा बा३ख २५३१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री उदयपुर हडिया–५ घर भएका २७ वर्षीय समिर विकको मृत्यु भएको थियो ।

यसैगरी चितवनको खैरहनी नगरपालिका–१० बडागाउँस्थित भित्री सडकमा ना.५८ प ९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्री ५५ वर्षीय मदरा चौधरीको मृत्यु भयो ।

मङ्सिर १६ गते

गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानका लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।

गुल्मीको तम्घासबाट बागलुङका लागि कार्की परिवारलाई बोकेर आएको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका थिए । बेपत्ता व्यक्तिको मङ्सिर १७ गते मात्र शव भेटिएको थियो ।

जिप सडकबाट ३ सय मिटर तल बडिगाड खोलामा खसेको थियो । यस्तै दुर्घटनामा ३ जना घाइते भएका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

मङ्सिर १७ गते

महोत्तरीको बर्दिवास नगरपालिकाअन्तर्गत लक्ष्मीनियामा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो भने १४ जना घाइते भए । गढीमाई मन्दिरको दर्शन गरेर फर्कंदै गरेको ना ५च १२२७ नम्बरको यात्रुबाहक पिकअप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

गढीमाईबाट धनुषा आउँदै गर्दा विपरीत दिशाबाट गइरहेको ट्रकले हेडलाइट डिम नगर्दा अनियन्त्रित भई पिकअप भ्यान सडकबाट तल खसेको घाइतेहरुको भनाइ छ ।

मङ्सिर १९ गते

पाल्पाको तिनाउ गाउँपालिका–५, चौबीस माइलमा भएको जिप दुर्घटनामा २ जनाले ज्यान गुमाए । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४२०९ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक रैनादेवी गाउँपालिका–५, छहराका २५ वर्षीय दिलिप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको ज्यान गएको हो ।

यसैगरी नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–५ पाङरेस्थित सडकमा ना.२८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्धबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

यता सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियास्थित सडकमा पनि ना४३प ५६९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गणेसिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको छ ।

पहाडी भेगमा दुर्घटना बढ्दो

पछिल्लो समय पहाडी भेगमा सवारी दुर्घटना बढ्दो छ । एक हप्ताअघि भएको अर्घाखाँची दुर्घटना र बागलुङ दुर्घटनामा मात्रै ३ दर्जनभन्दा बढीले अकालमा ज्यान गुमाउनु पर्यो ।

सडकको अवस्था र तीव्र गतिका कारण पहाडी इलाकामा अत्यधिक दुर्घटना हुने गरेका प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् । उनले भने, ‘चालकको लापरबाहीको कारण पनि दुर्घटना हुने गरेको छ ।’

सहर केन्द्रित ट्राफिक प्रहरी

सडक व्यवस्थापनमा खटिँदै आएको ट्राफिक प्रहरी सहरमा मात्रै केन्द्रित देखिन्छ । समयमै पहाडको ट्राफिक व्यवस्थापनमा ध्यान नदिने हो भने निकट भविष्यमा यस्ता दुर्घटना नदोहोरिएलान् भन्न सकिँदैन ।

पहाडी भेगमा सोचेअनुसार ट्राफिक प्रहरी राख्न नसकेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीम ढकाल स्वीकार्छन् । ‘चालकले ट्राफिक नियमको पालना गरे निकै हदसम्म दुर्घटना कम गर्न सकिन्छ भन्नेमा शङ्का छैन,’ ढकालको भनाइ छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार मङ्सिर १५ गतेसम्मको डाटा (मृत्युमा)

प्रदेश १ मा १६ जना

प्रदेश २ मा ३१ जना

प्रदेश ३ मा १६ जना

प्रदेश ४ मा २२ जना

प्रदेश ५ मा ३० जना

प्रदेश ६ मा ४ जना

प्रदेश ७ मा ८ जना

उपत्यकामा १० जना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप