शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपिका पादुकोणले भनिन्, ‘त्यतिबेला डिप्रेशनमा हुनुपर्ने कुनै कारण थिएनन् तर पनि पीडित भएँ’

शुक्रबार, २० मङ्सिर २०७६, ११ : ५३
शुक्रबार, २० मङ्सिर २०७६

फिल्म छपाकमा एसिड पीडितको रुपमा देख्न सकिने दीपिका पादुकोणले डिप्रेशनसँग जुध्दा आफूले जुन अवस्थाबाट गुज्रिनुपर्यो त्यसबारे जानकारी दिएकी छिन् । दीपिकाले न्यूयोर्क टाइम्सलाई लेखेको ब्लग पोष्टमा आफ्नो स्थितीलाई स्विकार गरेर उनले आफ्नो लागि सबैभन्दा ठूलो उपकार गरेको बताउँछिन् ।

आफ्नो डिप्रेशनबारे दीपिकाले ब्लगमा लेखेकी छिन्, ‘सन् २०१४ मा लक्षण देखिन सुरु भयो । यो फेब्रुअरी महिनाको बीचतिरको दिन थियो । अत्यधिक काम गरेको त्यो दिन म बेहोस भएँ । त्यसको भोलिपल्ट म खाली पेट लिएर उठेँ । बेस्सरी रुन मन लागेको थियो ।’

करियरको उच्चतम बिन्दुमा पुगेको र रणवीर सिंहसँग डेटिङमा रहेको उक्त समय स्मरण गर्दै दीपिकाले लेखेकी छिन्, ‘त्यो मेरो जीवनकै उत्कृष्ट समय हुन सक्थ्यो तर कागजमा मात्रै । मैले आफ्ना सबैभन्दा उत्कृष्ट चारवटा फिल्ममा भर्खरै काम गरेकी थिएँ, मलाई परिवारको अत्यधिक साथ र समर्थन थियो, म यस्तो व्यक्तिसँगको प्रेम सम्बन्धमा थिएँ जो पछि मेरो श्रीमान् भए । त्यतिबेला डिप्रेशनमा हुनुपर्ने कुनै पनि कारण थिएनन् । तर म डिप्रेशनमा गएँ ।’

त्यतिबेला उनलाई सुत्न मात्रै मनलाग्थ्यो किनभने निद्रामा हुँदा उनले यथार्थको सामना गर्नुपर्दैनथ्यो । ‘म जतिबेला पनि थकित र दुःखी भइरहेको हुन्थेँ । यदि कसैले मेरो मुड अन गर्न खुसीका गीतहरु बजाइदिए त्यसले मलाई थप दुःखी बनाउँथ्यो,’ उनले भने ।

जब उनका आमाबुवा उनलाई भेट्न मुम्बई आए तब उनलाई आमाले प्रोफेशनलको सहयोग लिन सल्लाह दिएको दीपिकाले बताइन् । उनले लेखिन्, ‘उहाँहरु मेरोमा बसेको बेला म उहाँहरुको अगाडि साहसिक अनुहार बनाउँथे । तर जब एयरपोर्ट जानुअघि उहाँहरुले ब्याग प्याक गर्नुभयो तब मैले आफ्नो आँसु थाम्न सकिनँ । मेरो आमाले मलाई हेरेर सोध्नुभयो, ‘के भयो ?’ तर मसँग उत्तर थिएन । मेरो काममा केही समस्या थियो भनेर उहाँले सोध्नुभयो । म र मेरो पार्टनरबीच केही गडबडी छ भनेर पनि सोध्नुभयो । मैले आफ्नो टाउको हल्लाएर जवाफ दिएँ । एकछिन रोकिएपछि आमाले मलाई भन्नुभयो, ‘दीपिका, मलाई लाग्छ कि तिमीलाई व्यवसायिक मद्दतको आवश्यकता छ ।’’

उनी मनोचिकित्सककोमा गइन् । उनलाई क्लिनिकल डिप्रेशन भएको थाहा पाइन् । उनी लेख्छिन्, ‘म एकदम हतास थिएँ । तर मलाइृ डाक्टरले यस्तो भनेपछि मलाई निकै राहत महसुस भयो । अन्ततः मलाई थाहा भयो कि म कुन अवस्थाबाट गुज्रिएकी छु । मलाई थाहा थिएन कि मैले जस्तो अनुभव गरिरहेकी थिएँ, त्यो सबैभन्दा ठूलो संघर्ष थियो । जब मैले मेरो समस्याबारे थाहा पाएँ तब म बिस्तारै ठिक हुँदै गएँ ।’

‘सबैभन्दा ठूलो कुरा के भयो भने मैले स्थितीलाई स्विकार गरेँ । म डिप्रेशनसँग लडिनँ । डाक्टरले मलाई औषधी लेखिदिए र आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउने सल्लाह दिइन् । निद्रा, स्वस्थ खानपिन, व्यायाम र माइन्डफुलनेसको प्राथमिकता निश्चित गरे । यो प्रक्रियाले मलाई म को हुँ भनेर जागरुकता प्रदान गर्यो ?,’ उनले लेखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप