शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरको बलात्कार र हत्याका चार आरोपी घटनाको ९ दिनपछि प्रहरी इन्काउन्टरमा मारिए

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ५७
शुक्रबार, २० मङ्सिर २०७६

भारतको हैदराबादस्थित तेलंगनामा २७ वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको छ ।

शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँ उनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका थिए । उनीहरुलाई उक्त स्थानमा लगेर घटना के –कसरी भएको थियो भनेर सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले । उनले पुलिसमाथि गोली पनि हाने । आत्मरक्षामा पुलिसले जवाफी फायरिङ गर्यो जसमा चार आरोपी मारिए ।

साइबराबादका पुलिस कमिश्नर वीसी सज्जनरले चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा इन्काउन्टरमा मारिएको जानकारी दिए । एक वरिष्ठ पुलिस अधिकारीले घटनामा दुई पुलिसकर्मी पनि घाइते भएको बताए ।

पुलिसको इन्काउन्टर उदाहरणीय हुनेछः पीडितकी बहिनी

इन्काउन्टरको खबर पाएपछि पीडितका बुवाले भने, ‘हाम्री छोरी मारिएको १० दिन भइसकेको छ । तेलंगना सरकार, पुलिस र जो व्यक्तिले मलाई सहयोग गरे, उनीहरुलाई बधाई । ’

यस्तै, पीडितकी बहिनीले भनेकी छिन्, ‘सबै आरोपी इन्काउन्टमा मारिए । म निकै खुुसी छु । यो एउटा उदाहरणीय घटना हनेछ, आशा छ भविष्यमा यस्तो घटना नदोहोरिएला । म पुलिस र तेलंगाना सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

घटनास्थलमा गुञ्जियो डिसीपी–एसीपी जिन्दाबादको नाराः

पुलिसले जुन स्थानमा चारै आरोपीको इन्काउन्टर गरे त्यहाँ अत्यधिक भीड जम्मा भएको छ । पुलिसकर्मी र कमिश्नर सज्जनार जब घटनास्थल पुगे तब मानिसहरुले डिसीपी–एसीपी जिन्दाबादको नारा लगाए । पुलिसकर्मीमाथि पुष्प वृष्टि पनि गरिएको छ । पुलिसथाना अघिल्तिर पटाका पनि पड्काइएका छन् ।  

भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएः तेलंगाना कानूनमन्त्री

तेलंगानाका कानूनमन्त्री ए इन्द्राकरण रेड्डीले एक समाचार च्यानलसँग भने, ‘भगवानले कानूनभन्दा अगाडि आरोपीलाई सजाय दिएको छ । उनीहरुमाथि जे भएको छ, त्यसले पूरा हिन्दुस्तानलाई खुसी दिएको छ । टिभीमा हामीले देखेका छौं कि आरोपीले पुलिसको हतियार लिएर भाग्ने कोसिस गरिरहेका थिए । जे भयो राम्रै भयो ।’


 १४ दिनको न्यायिक हिरासतमा पठाइएकाे थियोः

हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । पुलिसले यो मामलामा चार आरोपीलाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए ।

उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइन्छ ।


त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । चारैजना आरोपीलाई अदालतले १४ दिनका लागि  न्यायिक हिरासतमा पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप