बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता अझै वितरण भएन

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ३४
शुक्रबार, २० मङ्सिर २०७६

जिल्लाका वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सरकारले दिने सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन । सात गाउँपालिका रहेको हुम्लामा दशैँ अगाडि नै सरकारले दिने सामाजिक सुरक्षाभत्ता वितरण अहिलेसम्म हुनसकिरहेको छैन । जिल्लाको चङ्खेली गाउँपालिकाबाहेक अन्य छ पालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेका छन् ।
 
भत्ताबाट आएको रकमले न्यानो र नयाँ कपडा किनौँला, केही मिठोमसिनो खाउँला भन्ने सोच राखेका वृद्धवृद्धालाई गाउँपालिकाले भत्ता साउनमै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म वितरण नगर्दा निकै खल्लो लागेको सिमकोट गाउँपालिका–२ निवासी मैना बोहराले गुनासो गरे । आफूले पाएको भत्ताले जाडोमा न्यायो कपडा किन्ने सोच गरे पनि आशा मात्रै हुने उहाँले गुनासो गर्नुभयो । यस्तै सिमकोट गाउँपालिका–५ निवासी अदनसिंह रावत साउनदेखि पहिलो चौमासिकतर्फको भत्ता वितरण नगरेको गुनासो गरे ।
 
छ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका वृद्धवृद्धा, एकल तथा विधवा र अशक्त अपाङ्गता भएका व्यक्तिले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका वडा नं १ देखि ८ सम्मका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लेखापाल नभएकाले वितरण गर्न ढिलाइ भएको सिमकोट  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । 

आठवटै वडाका वडाध्यक्षले रकम निकासाका लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला, बालबालिकाको विवरण पालिकामा नबुझाउँदा ढिलाइ भएको उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा लेखापाल आएपछि रकम निकासा गरी अबको एक÷दुई दिनभित्र रकम वितरण गरिने छ । 

यस्तै जिल्लाको अदानचुली गाउँपालिकाले कर्मचारीको अभावले चौमासिकतर्फको भत्ता वितरण गर्न नसकिएको बताएको छ । अदानचुली गाउँपालिकामा रहेका छ वडामा एक मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाइ भएको पालिका अध्यक्ष दल फडेराले जानकारी दिए । भत्ता रकम आए पनि रकम निकासा गर्नका लागि कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवा भएको हुँदा र रकम निकासा नभएको उनको भनाइ थियो । 

खार्पुनाथ गाउँपालिकामा पनि सुरक्षाभत्ता वितरण हुन सकेको छैन । पालिकाले रकम निकासा गरे पनि उपनिर्वाचनलगायत विभिन्न कारण देखाउँदै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । त्यस्तै सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको प्रथम चौमासिक वितरण गरे पनि दोस्रो चौमासिक भत्ता वितरण गर्न सकेको छैन । 

यस्तै ताँजाकोट गाउँपालिकाले पनि सुरक्षाभत्ता वितरण गर्न ढिलाइ गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिए । जिल्लाको चङ्खेली गाउँपालिकाले अहिलेसम्मको सबै सामाजिक सुरक्षाभत्ता वितरण गरेको उपाध्यक्ष विमला शाहीले जानकारी दिए । 

भत्ताको रकमबाट लत्ताकपडालगायतका विभिन्न खर्च चलाउँदै आएका वृद्धवृद्धा लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् । कर्मचारी समायोजनका कारण र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको रेकर्ड नहुँदा रकम निकासामा ढिलाइ भएको हो । दुर्गम क्षेत्रका अधिकांश ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताकै भरमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । 

सरकारले ६० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई मासिक रु एक हजार, ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु २ हजार, आंशिक अपाङ्गता भएका व्यक्तिलाई रु ६००, एकल महिलालाई रु एक हजार, बालबालिकालाई रु २०० उपलब्ध गराउने प्रावधान बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप