बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : ‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड पुगे देउवा निवास, व्यक्तिको सम्पत्तिमा गुप्तचरको निगरानी

शुक्रबार, २० मङ्सिर २०७६, ०७ : ०४
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । आज मंसिर २० गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज गरेको समाचारले प्राथमिकता पाएको छ । त्यस्तै, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) बारे पनि समाचारहरु प्रकाशित छन् ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । बुधबार साँझ दाहालले देउवालाई फोन गरे – म तपाईं कहाँ भोलि बिहान चिया खान आउन खोजेको छु । देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानअघि दाहाल बूढानीलकण्ठ पुगे । बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो । त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबार बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए ।

पत्रिकामा ‘सर्वोच्चको न्यायाधीश नियुक्ति ‘भाँडियो’ ’ शीर्षक पनि समाचार छ । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ। न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेपछि बैठक भाँडिएको हो। परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्नका लागि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए। त्यस लगत्तै नेपाल बारको अनौपचारिक बैठकले गम्भीर ध्यानाकर्षण भएको बताउँदै कडा आपत्ति जनाएको थियो।  परिषद् स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउनका निम्ति परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा पदाधिकारीबीच राय नमिलेपछि सिफारिस प्रक्रिया अवरुद्ध बनेको हो। अर्को बैठक बस्ने विषयमा कुनै टुंगो लागेको छैन। वैदिकका विषयमा निर्णय हुन नसकेपछि एक जिल्ला न्यायाधीशको सरुवा गर्दै बैठक सकिएको छ।

नयाँ पत्रिका दैनिकमा दोलखाका सिडिओले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरेको समाचार छ । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ । उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन् । रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् । सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् ।

पत्रिकामा जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग नगर्दा बिरामी निजी अस्पताल जान बाध्य बनेको समाचार पनि छ । देशको जेठो अस्पताल वीरको समस्या देखेर जापानी सहयोग नियोग ९जाइका०ले ८८ करोड लागतमा सय शय्याको तीनतले नयाँ भवन बनाइदिएको छ । तर, नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको पाँच महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । आइसियू अभावका कारण वीरबाट दैनिक १० बिरामी महँगा निजी अस्पतालमा रेफर हुन्छन् । वीरमा एक रातको आइसियू शुल्क करिब तीन हजार छ, तर निजीमा चार गुणासम्म महँगो छ । हाल वीरमा पुरानो आइसियू ६ र नयाँ पाँच गरी ११ शय्या सञ्चालनमा रहेको छ । जाइकाले बनाइदिएको नयाँ भवनमा ३० शय्या सञ्चालन गर्ने योजना छ । तर, कहिले सञ्चालन हुन्छ भन्ने निश्चित छैन । अझ वीरमा नयाँ भवन बन्दासमेत कतिपय मेसिन स्टोरमा राखिएका छन् । ती महत्वपूर्ण मेसिन खिया लागेर सड्दै गएका छन् । वीरको पुरानो भवनमा ठाउँ अभावले २४ मध्ये १२ डायलाइसिस मेसिन थन्किएका छन् । मिर्गौलारोगी उपचार नपाएर महँगो अस्पताल धाउन बाध्य छन् । कर्मचारी अभावमा पनि उपकरण सञ्चालनमा समस्या भएको हो । चार सिफ्टमा डायलाइसिसको व्यवस्था त गरिएको छ, तर धेरै भिडकै कारण बिरामी पालो कुर्दाकुर्दा आजित भएर निजीतिर जान्छन् । सम्झौताअनुसार जाइकाले संरचना बनाइदिए पनि नेपाल सरकारले उपकरण नकिन्दा भवन अलपत्र परेको हो ।

कान्तिपुर दैनिकमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसा÷व्यवसायमा संलग्न रहेका व्यक्तिहरुको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । राष्ट्रिय सुरक्षासम्बन्धी सूचना गर्दै आएको गुप्तचर विभागलाई सरकारले आर्थिक क्षेत्रको सूचना बटुल्न समेत क्रियाशील बनाएको हो । प्रधानमन्त्री कार्यालयसम्बद्ध सेतका अनुसार राअविले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा ‘शंकास्पद’ व्यक्ति तथा तिनका परिवारको आर्थिक स्थितिको अभिलेख राख्न थालेको छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माले सरकारले लिएको निर्णय सही भएको बताउँदै यसलाई सुशासन र अपारध नियन्त्रणमा यो महत्त्वपूर्ण कदम भएको बताए । उता, पूर्व गृहसचिव गोविन्द कुसुमले भने गुप्तचरलाई नागरिकको आर्थिक विवरण सङ्कलनमा खटाउँदा सरकार निरंकुश बन्ने खतरा रहने औँल्याए ।

पत्रिकामा धरहराका इँटा होटल र रेस्टुरेन्टमा पुगेको समाचार पनि प्रकाशित छ । चारखालमा रहेको इचिबान नामको रेस्टुरेन्टमा धरहराका इँटा भेटिएको छ । प्राचीन स्माचार संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । यस्तै बबरमहलको बसेर बुटिक होलमा पनि धरहराको इँटा राखिएका छन् । होटलको प्रत्येक कोठामा यस्ता एक–एक वटा इँटा फ्रेमभित्र राखिएको छ ।

नागरिक दैनिकमा अवैध हतियारको सकसमा मधेस शीर्षकमा समाचार छ । ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण मुख्य मधेस ९प्रदेश २० मा हत्याहिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएको थियो। त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७६र७७ को असोज महिनासम्म १२ थान हतियारसहित २० जना मानिस पक्राउ परेको छ। लामो समय सिआइबीमा काम गरिसकेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्न भन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप