शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको सम्धी बने राजेन्द्र महतो

बिहीबार, १९ मङ्सिर २०७६, २१ : १९
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने अभिव्यक्तिले आलोचित राजेन्द्र महतोले अन्ततः काठमाडौँसँग पारिवारिक नाता कायम गरेका छन् । 
उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समुदायकी चेलीसँग भएको हो । 

सो बिहेमा विभिन्न दलका नेता, पत्रकार, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको बताइएको छ । 

बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ‘बिहे अर्थपूर्ण भएको’ टिप्पणी गरेका छन् । 

‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 

काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ । 

विद्रोही मधेशी नेताको छवि बनाएका महतोले पहाडी समुदायमा छोराको बिहे गर्नु निकै साहसिक काम भएको विश्लेषण भइरहेको छ । संयोजक महतोजस्तो व्यक्तिले काठमाडौँसँग पारिवारिक सम्बन्ध कायम गरेपछि नेपाली राजनीतिमा राष्ट्रिय एकताको ठूलो सन्देश जाने विश्लेषकहरु बताउँछन् । 

राघवेन्द्र र पलिशाको चिनजान पहिलादेखि नै थियो । खुमलटारस्थित एआइटी कलेजमा सँगै पढ्दा दुईजनाको बिचमा चिनजान भएको थियो । त्यही चिनजान प्रेममा परिवर्तन भयो । र, पारिवारिक सहमतिमा दुईजनाको बिचमा बिहे भएको बताइएको छ । 

पलिशा अनलाइन कम्पनी ‘दराज’मा कार्यरत छिन् भने राघवेन्द्र फोहर मैलाको क्षेत्रमा काम गर्ने डोको रिसाइकलरका सञ्चालक हुन् । दुवैजनाले एमबीए गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप