बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जमानतमा छुटेको दुई दिनपछि सामुहिक बलात्कारका आरोपीले पीडितलाई जिउँदै जलाए

अदालत जाँदै थिइन् पीडित युवती, स्थिति गम्भीर
बिहीबार, १९ मङ्सिर २०७६, १८ : ३४
बिहीबार, १९ मङ्सिर २०७६

एजेन्सी । उत्तर प्रदेशको उन्नावमा दुई दिन अघि जमानतमा रिहा भएका सामुहिक बलात्कारका दुई अरोपीले बिहीबार पीडित युवतीलाई जिउँदै जलाएका छन् ।

घटना लगत्तै प्रहरीले युवतीलाई गम्भीर हालतमा जिल्ला अस्पतालमा पठाएको थियो । त्यहाँ डाक्टरहरुले युवतीलाई लखनउको ट्रमा सेन्टरमा रेफर गरेका थिए ।

पीडितलाई पाँच जना मिलेर आगो लगाइएको बताइएको छ । प्रहरीले सबै आरोपीलाई पक्राउ गरिसकेको छ । यसमा शिवम त्रिवेदी, उनका पिता रामकिशोर, शुभम त्रिवेदी, हरिशंकर र उमेश बाजपेयी छन् ।

यस मामिलामा राष्ट्रिय महिला आयोग र मुख्यमन्त्री आदित्यनाथले रिपोर्ट पेश गर्न माग गरेका छन् ।

लखनउमा पनि उपचार सम्भव नभएपछि पीडित युवतीलाई दिल्लीस्थित सफदरगञ्ज अस्पताल लगिने भएको छ । सिभिल अस्पतालका निर्देशक एस नेगीले युवतीलाई एयरलिफ्ट गरेर दिल्ली लगिने जानकारी दिए । लखनउ प्रहरीलाई अस्पतालदेखि विमानस्थलसम्म ग्रीन कोरिडोर बनाउन निर्देशन दिइएको छ । भारतीय समयअनुसार साँझ साढे ६ बजे पीडितलाई दिल्ली लगिनेसञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार घटना बिहार थाना क्षेत्रको हिन्दूनगरमा भएको हो । पीडित सामुहिक बलात्कारको मामिलामा सुनवाइका लागि रायबरेली अदालत जाँदै थिइन् । रेल चढ्न गइरहेको बेला बाटोमा पहिलेदेखि बसेका दुई मुख्य आरोपीले अन्य तीनजना मिलेर मट्टितेल छर्केर आगो लगाइदिएका थिए ।

एसपी विक्रान्त वीरले पीडित युवतीको हालत गम्भीर रहेको बताए । उनका अनुसार युवतीको शरीर ९० प्रतिशतसम्म जलेको छ । युवतीले बयानमा आरोपीहरुको नाम बताएकी थिइन् । प्रहरीका अनुसार शुभम र शिवम दुई दिनअघि मात्र जेलबाट जमानतमा रिहा भएका थिए । रायबरेली अदालतको आदेशमा बलात्कारको मुद्दा दर्ता भएको थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै पीडितलाई सरकारको तर्फबाट हरसम्भव चिकित्सा सुविधा दिने आश्वासन दिए । उनले प्रदेश सरकारले मामिलाबारे पैरवी गरेर शीघ्र न्याय दिलाउने वाचा पनि गरे । योगीले यस मामिलामा प्रहरीलाई साँझसम्म रिपोर्ट पेश गर्न निर्देशन समेत दिएका छन् ।

गत मार्चमा युवतीले सामुहिक बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । युवतीका अनुसार उनकै गाउँमा बस्ने शिवम त्रिवेदीसँग उनको प्रेम सम्बन्ध थियो । शिवमले उनलाई रायबरेली लगेर बलात्कार गरेर भिडियो पनि बनाएका थिए । त्यसपछि धम्काएर लगातार बलात्कार गरिरहे । शिवममाथि विवाहको दबाब दिएपछि उनलाई एउटा कोठामा बन्धक बनाइएको थियो । त्यसपछि १२ डिसेम्बर २०१८ मा आरोपी शिवम आफ्नो साथी शुभम त्रिवेदीसँग आए । मन्दिरमा विवाह गर्ने बहाना बनाएर सामुहिक बलात्कार गरे ।

बिहार प्रहरीले अदालतको आदेशमा आरोपी शिवम त्रिवेदी र शुभम त्रिवेदीलाई पक्राउ गरेर जेल पठाएको थियो ।

घटनाबारे बोल्दै भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीले देशका गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीले यूपीको कानून व्यवस्था सुदृढ भएको भनेर झुठो बोलेको जिकिर गरिन् । उनले भाजपा नेताहरुलाई फर्जी प्रचार नगर्न सुझाव दिइन् ।

यता, अखिलेश यादवले यो घटनापछि भाजपा सरकारले सामुहिक राजीनामा दिनुपर्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप