शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानीमा राजनीतिकरण भन्नु श्यामशरणको दृष्टिदोष हो : प्रचण्ड

बिहीबार, १९ मङ्सिर २०७६, १५ : ४०
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् । 

उनले समस्या समाधान गर्ने उत्तम विकल्प कुटनीतिक र राजनीतिक माध्यम नै भएको दावी गर्दै कुटनीतिक र राजनीतिक माध्यमबाट सम्भव नभएको खण्डमा मात्रै अन्तर्राष्ट्रियकरण गर्ने बाटोमा जान सकिने बताएका हुन् । 
‘हामीले पहिला राजनीतिक र कुटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने झन् जटिल हुनसक्छ । त्यो चरण अहिले होइन,’ अध्यक्ष प्रचण्डको भनाइ छ । उनले कुटनीतिक र राजनीतिक तवरमा पहल गर्दा भएन भने पछि के गर्न सकिन्छ भन्ने सोच्न सकिने भन्दै उनले आफ्नो देशको भूमि फिर्ता गर्न जस्तोसुकै कदम चाल्न सक्नुपर्ने पनि बताए । 

‘तर अहिले अन्तर्राष्ट्रियकरण भन्ने शव्द प्रयोग गरेर यसलाई जटिल बनाउने काम हामी कसैले पनि नगरौ’ धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डको भने ।

भारतीय पुर्व सचिव श्यामशरणले नेपालका राजनीतिक दलले सीमाको विषयलाई राजनीतिकरण गरे त्यसको परिणाम राम्रो नहुने भन्ने चेतावनीयुक्त अभिव्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘श्यामशरणजीको त्यो खालको आर्टिकल पनि आयो भन्ने मैले पनि सुनेको छु । उहाँले त्यसमा ८० लाख नेपालीको कुरा पनि गर्नुभए मैले पनि सुने त्यो कुरा विल्कुल जायज होइन ।’ 

उनले श्यामशरणजस्तो कुटनीतिक रुपमा परिपक्क मानिने व्यक्तिले यस किसिमको भाषा प्रयोग गर्ने कुरा कहीँ कतै शोभनीय नभएको बताए । 

‘हामीले अरु कुनै राजनीतिकरण गर्न खोजेका छैनौ, नेपालको भुमी नेपालको हो भनेका हौ । यसको राजनीतिक र कुटनीतिक सम्बादमार्फत हल गर्ने कुरा गरेका हौँ । यदि यसलाई राजनीतिकरण गरेको भनेर श्यामशरणजीले देख्नुभयो भने त्यो उहाँको दृष्टिदोष हो । कालापानीको प्रश्नमा नेपाल राष्ट्र एक छ’, प्रचण्डको भनाइ छ । उनले भारतले पनि सुस्ता र कालापानी क्षेत्रमा समस्या छ भनेर स्वीकारेको पनि बताए । 

यसै प्रसंगमा पूर्वप्रधानमन्त्री समेत रुहेका प्रचण्डले नेपालको अतिक्रमित भुभागको विषयमा कुरा गर्न विशेष दूतका रुपमा नेता माधव नेपाललाई भारत पठाउने विषय प्रधानमन्त्री केपी ओलीले उठान गरेको भएपनि त्यसवारे निक्र्योल भैनसकेको बताए । 

‘प्रधानमन्त्रीले प्रशंग उठाउनुभएको हो । तर फाइनल नै भने भइसकेको होइन’ उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई बोलाएर विशेषदुतको रुपमा भारत जान आग्रह गरेपनि भारत सरकारसँग छलफलका लागि उच्चस्तरीय भेट र बैठकको व्यवस्था गर्ने काम बाँकी नै रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप