केन्द्रीय संस्करण

गैरसरकारी संस्थाका कोठे बैठक र बलात्कारको चित्कार

person explore access_timeमंसिर १९, २०७६ chat_bubble_outline0

कानुनी रूपमै बलात्कार एक निकृष्ट र जघन्य अपराध हो । समाजमा यस्ता घटना अहिले पनि दिनानुदिन बढिरहेकै छन् । आफ्नै बाबु, दाजुभाइ, काका, साथीभाइ, नजिकका आफन्त, छरछिमेकबाटै बालिकाहरु तथा महिलाहरु बलात्कृत भइरहेका छन् । यसले समाज दिनदिनै झन् असभ्य बन्दै गएको छ ।

महिला हिंसाभित्रको सबैभन्दा कारुणिक अवस्था हो बालिका बलात्कार । यस्ता घटनाले समाजमा पुरुषलाई हेर्ने दृष्टिकोण फरक हुन पुगेको छ । आफ्नै बाबुबाट दाजुभाइबाट  एउटी छोरी, एउटी बहिनी बलात्कृत हुन्छिन् भने बाहिरी समाजमा कहाँ, कसरी सुरक्षित हुन सक्लिन् ? छोरीचेलीहरु अझै पनि घर, अफिस, स्कुल, अस्पताल, बाटोघाटो आदि सबै ठाउँ र क्षेत्रबाटै असुरक्षित बनिरहेका छन् । 

गत सोमबार सिन्धुपाल्चोकमा एक ६ वर्षीया बालिका बलात्कृत भइन् । उनलाई सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५, सिङार्चेका १९ वर्षीया उज्ज्वल बस्नेतले बलात्कार गरेका थिए ।  बस्नेतले ती बालिकालाई ललाइफकाई आफ्नै घरमा लगेर जबरजस्ती बलात्कार गरेका थिए । बस्नेतलाई अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बर्दियामा हाडनातामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । कसैलाई भनिदिए मार्ने धम्की दिएर आफ्नै बहिनीलाई बलात्कार गरेका उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

यता काठमाडौँ नागार्जुनमा एक ३६ वर्षीया महिला जबर्जस्ती करणीमा परेकी छिन् । काठमाडौँ नागार्जुन नगरपालिका–३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ । नगरकोटीले ती महिलालाई जबरजस्ती पटक पटक करणी गरेकाले उनलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । नगरकोटीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

मङ्सिर ९ गते मेडिसिटी हस्पिटलका डाक्टर रोहितप्रसाद झाले चेकजाँच गर्न आएकी एक बिरामीलाई बलात्कार प्रयास गरेका छन् । ३३ वर्षीय ती महिला होलबडी चेकअप गर्न सो हस्पिटल पुगेकी थिइन् । डाक्टर झाले नियमित जाँच गर्नेक्रममा ती महिलाको संवेदनशील अङ्गहरुमा छँुदै बलात्कार प्रयास गरेका थिए । त्यसपछि प्रहरीले डा. झालाई पक्राउ गरेको छ र अहिले जबर्जस्ती करणी उद्योगमा ललितपुर जिल्ला अदालतबाट चार दिनको अनुसन्धान म्याद लिएको छ ।

त्यस्तै कात्तिक १२ गते एक १८ वर्षीय युवती बलात्कृत भइन् । काठमाडौँको माकलबारीमा आफन्तको घरमा लगेर उनलाई इन्द्रहाङ राईले बलात्कार गरेका थिए । राई अनेरास्ववियु केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव पनि हुन् । उनले ती युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । राई अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

*****

बालिका तथा महिला जुन समाजमा बसोबास गर्छन्, त्यही समाजका व्यक्तिहरुबाट उनीहरु बढी बलात्कार भएका छन् । अहिले पनि सबैभन्दा बढी ६४ प्रतिशत महिला छिमेकीबाट, १३ प्रतिशत साथीबाट, १० प्रतिशत आफूले आत्मीय ठानेका साथीबाट, ७ प्रतिशत परिवारका सदस्य (बाबु, दाजुभाइ, काका)बाट, ३ प्रतिशत संस्थाका कर्मचारीहरुबाट, २ प्रतिशत शिक्षक र १ प्रतिशत कानुनी एवं सामाजिक परम्पराअनुसार विवाह नगरेका तर विवाहितसरह सँगै बसेका साथीबाट बलात्कृत भएको तथ्याङ्कले देखाएको छ ।

*****

यता कीर्तिपुर (ठाउँ परिवर्तन) की एक युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा सिनामङ्गलस्थित कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुङ्गाना पक्राउ परेका छन्  । उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ । अहिले ढुङ्गाना प्रहरी परिसर ललितपुरमा छन् र उनलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

यी त केही प्रतिनिधी घटनाहरु मात्र हुन् । बलात्कार जस्तो जघन्य अपराधका घटना दिनानुदिन बढिरहेका छन् । एक दिनमा कम्तीमा ५ वटासम्म यस्ता घटना भइरहेको प्रहरीले बताउँदै आएको छ । तर प्रहरी प्रशासन नै बलात्कार जस्तो जघन्य अपराधमा संवेदनशील नहुँदा यस्ता घटनाका दोषी समाजमा सजिलै उम्केर घुमफिर गरिरहेका छन् भने पीडित झन् पीडित बन्दै जाुनपर्ने अवस्था छ ।

बालिका तथा महिला जुन समाजमा बसोबास गर्छन्, त्यही समाजका व्यक्तिहरुबाट उनीहरु बढी बलात्कार भएका छन् । अहिले पनि सबैभन्दा बढी ६४ प्रतिशत महिला छिमेकीबाट, १३ प्रतिशत साथीबाट, १० प्रतिशत आफूले आत्मीय ठानेका साथीबाट, ७ प्रतिशत परिवारका सदस्य (बाबु, दाजुभाइ, काका)बाट, ३ प्रतिशत संस्थाका कर्मचारीहरुबाट, २ प्रतिशत शिक्षक र १ प्रतिशत कानुनी एवं सामाजिक परम्पराअनुसार विवाह नगरेका तर विवाहितसरह सँगै बसेका साथीबाट बलात्कृत भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै बलात्कारको शिकार १६ वर्षमुनिका ४८ प्रतिशत बालिका बढी बलात्कार प्रभावित छन् । त्यस्तै १७ देखि २५ वर्ष उमेर समूहका ३४ प्रतिशत, २६ देखि ३५ वर्ष उमेर समूहका ९ प्रतिशत, ३६ देखि ४५ तथा ४६ वर्षभन्दा माथि उमेर समूहका ४–४ प्रतिशत महिलाहरु बलात्कारबाट प्रभावित भएको ओरेक नेपालको अन्वेषी वर्ष पुस्तक ०७६ मा उल्लेख गरिएको तथ्याङ्कले देखाएका छन् । यी तथ्याङ्कहरुले पनि के देखाउँछ भने धेरैजसो बलात्कारका घटनाहरु बालिकाहरुमाथि नै हुने गरेका छन्, जुन स्कुल जाने उमेरका छन् ।

एकातिर बलात्कारपछि कतिपय बालिकाहरुको निर्मम तरिकाले हत्या हुने गरेका घटना पनि बाहिर आएका छन् । त्यसको पछिल्लो उदाहरण निर्मला पन्त हत्या प्रकरणलाई लिन सकिन्छ । १२ वर्षीया निर्मला पन्तको आज बलात्कारपछि हत्या भएको पनि लगभग डेढ वर्ष पुग्न लागिसक्यो तर बलात्कार र हत्यामा संलग्न भएकालाई अहिलेसम्म प्रहरी प्रशासनले पक्रन सकेको छैन । यसबाट पनि पुष्टि हुन्छ पीडकहरुलाई जहिले पनि राजनीतिक संरक्षण रहिरन्छ साथै उनीहरु सामाजिक रूपमा पनि सहजै रहन, बस्न सक्छन् यो समाजमा । तर जो वास्तविक पीडितहरु हुन्छन् उनीहरु शारीरिक रूपमा विक्षिप्त त बन्छन् । घटनापश्चात मानसिक रूपमा पनि एकदमै विक्षिप्त हुन पुग्छन् साथै कुनै दोषबिनै उनीहरुले पारिवारिक र सामाजिक रूपमा समेत अनेक लाञ्छनाहरुको सामना गर्नुपर्ने हुन्छ । तर पीडितहरुको त्यसपछिको कष्टकर जीवनको बारेमा कसलाई चिन्ता ?

यस्तो निकृष्ट अपराध नियन्त्रणका लागि विभिन्न कानुन पनि निर्माण भएका छन् तर तिनीहरुको कार्यान्वयन पक्ष फितलो देखिएको छ । बलात्कारको सजाय पनि उमेरअनुसार फरक फरक छन् । १० वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरे १० देखि १५ वर्षसम्म कैद, १४ वर्षदेखि १६ वर्षसम्मका बालिका वा किशोरीलाई बलात्कार गरे ८ देखि १२ वर्षसम्म कैद, १६ देखि २० वर्षसम्मको युवतीलाई बलात्कार गरे ५ देखि ८ वर्षसम्म कैद र २० वर्षदेखि माथिका महिलाहरुलाई बलात्कार गरेमा ५ देखि ७ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।  त्यस्तै बलात्कारसम्बन्धी उजुरी गर्ने हदम्याद ३५ दिनबाट बढाएर ६ महिना र नयाँ अपराध संहितासँगै त्यसलाई बढाएर एक वर्ष पुर्याइएको छ ।

घरेलु हिंसा तथा कसुर सजाय ऐन, कार्यस्थलमा हुने दुव्र्यवहार नियन्त्रण ऐन, वैवाहिक बलात्कारसम्बन्धी ऐनलगायतका कानुनी प्रावधानले महिलामाथि हुने हिंसालाई सम्बोधन गरिरहेका छन् । तर कानुनी व्यवस्था र यसको कार्यान्वयनले मात्र बलात्कारबाट पीडितमाथि न्याय गर्न सकेको छैन । कार्यान्वयन पक्ष फितलो भएकै कारण यस्ता अपराधमा संलग्न अपराधीहरु केही वर्षपछि सजिलै जेलबाट छुटी समाजमा खुल्ला हिँड्ने परिपाटीले कानुनमाथि आम जनताको भरोसा कम भएर गएको छ, कानुनकै उपहास भएको छ ।

*****

घटनाको तथ्यगत विश्लेषण गर्दा बालिका तथा किशोरीहरु बढी मात्रामा पीडित बनेका छन् । उनीहरुको पुनस्र्थापना अहिले ठुलो चुनौती बनेको छ । एउटी पीडितलाई शारीरिक रूपमा जति आघात पुगेको हुन्छ, त्यो भन्दा बढी घाउ उसलाई मानसिक रूपमा लागेको हुन्छ । जसलाई मनोसामाजिक परामर्शका माध्यमबाट पहिलाको अवस्थामा फर्काउन सकिन्छ । दीर्घकालीन आवास गृह व्यवस्था र पीडितका आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा, सीप तथा रोजगारीका अवसर सिर्जना गर्नु राज्यको दायित्व हो । 

*****

महिलाहरुको लामो सङ्घर्षपश्चात दु्रत न्याय प्रणाली (फास्ट ट्रयाक) लाई आत्मसात गरिए पनि यसको कार्यान्वयन प्रक्रिया प्रभावकारी भएको छैन, अझै न्याय प्राप्त गर्न सहज छैन । अझै पनि बलात्कृत बालिका तथा महिलाहरूप्रति रहेको विभेदकारी दृष्टिकोणका कारण उनीहरुले परिवार र समाजमा बसेर आफ्नो न्यायको लडाइँ लड्ने वातावरण बनेको छैन ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी भन्नुहुन्छ, “जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस सुरु हुन्छ । उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्ने जस्ता कुराहरु उठ्न थाल्छन् । त्यस्तो कदापि हुनुहँदैन, बलात्कार विशुद्ध अपराध हो ।” त्यस्तै बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडितहरुले प्रहरी कार्यालय तथा अदालतमा बारम्बार झेल्ने तनाव र दुव्र्यवहारले उल्टै पीडकलाई प्रोत्साहन गरिरहेको अधिकारकर्मीहरुको पनि तर्क छ ।

यतिबेला महिला हिंसाविरुद्धको १६ दिने अभियान तामझामका साथ चलिरहेकै छ । विभिन्न गैरसरकारी संस्थालगायत सरकारी नियकायबाट पनि विभिन्न कार्यक्रमहरु, बहसहरु भइ नै रहेका छन् तर पनि यही समयमा बलात्कारका घटनाहरु पनि बाहिर आएकै छन्  । बलात्कारका घटनाहरु यस वर्ष पनि धेरै बढिरहेको भन्दै सरकारले आफ्नो तर्फबाट यस वर्षको नारा “समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने ल्यायो । सरकारले उही अभियान सञ्चालन हुँदा मात्र आफ्नो प्रतिबद्धता जनाउने, कार्यक्रमहरु पनि सञ्चालन गर्ने तर यसलाई रोक्न र कार्यान्वयन पक्ष एकदम फितलो गर्दै आएको छ । अरू समयमा त्यति प्रभावकारी नभएर विशेष नीति बनाएर अभियानहरुलाई देशव्यापी रूपमा सञ्चालन नगर्ने अनि १६ दिने अभियानको मिति आउँदा मात्र काम गरेको जस्तो देखाउनुको कुनै अर्थ छैन । अहिले पनि बलात्कारको घटनाको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष १००० भन्दा बढी महिलाहरु बलात्कारको शिकार भएका छन् भने बलात्कारका घटनाहरु पनि हरेक वर्ष १६ प्रतिशतका दरले बढिरहेकै पाइन्छ । यसरी बलात्कारको प्रवृत्ति हेर्दा उत्पीडन र बर्बरता नै बढी देखिन्छ । अझ पछिल्ला घटनामा त अबोध बालिकाहरु बलात्कृत भएका छन् भने बलात्कारपछि हत्याको प्रवृत्ति पनि बढ्दो छ । तर सरकारको उही झारा टार्ने प्रवृत्तिका कार्यक्रमहरुले यस्ता घटनामा कमी आउन सकिरहेको छैन, दिनानुदिन बढिरहेकै छन् । त्यस्तै गैरसरकारी संस्था र मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले पनि यस अभियानलाई मात्र आफ्नो पर्वका रूपमा लिएर होटलहरुमा केही सेमिनार, गोष्ठीहरु मात्र गरिएको देखियो । यही दिनहरुमा मात्र अभियान चलाएर महिला हिंसा र बलात्कार जस्तो जघन्य अपराधमा कमी आउँदैन । यस्ता कार्यक्रमहरु धेरैभन्दा धेरै  जनस्तरमा गएर, गाउँ गाउँमा गएर गर्नुपर्छ । यसका लागि सबै तह र तप्काबाट एकजुट भएर लाग्नुपर्छ । होइन भने सरकारले पनि उही झारो टार्नकै लागि मात्र ऐक्यबद्धता जनाइरहने र गैरसरकारी संस्थाहरुले पनि उही कोठे बहस र केही सडक र्यालीहरु गर्दैमा महिला माथिको हिंसा र विशेषतः बालिकाहरुमाथि हुने गरेको बलात्कारका घटनामा कमी आउनेवाला छैन ।

यसरी बलात्कारको घटनाको तथ्यगत विश्लेषण गर्दा बालिका तथा किशोरीहरु बढी मात्रामा पीडित बनेका छन् । उनीहरुको पुनस्र्थापना अहिले ठुलो चुनौती बनेको छ । एउटी पीडितलाई शारीरिक रूपमा जति आघात पुगेको हुन्छ, त्यो भन्दा बढी घाउ उसलाई मानसिक रूपमा लागेको हुन्छ । जसलाई मनोसामाजिक परामर्शका माध्यमबाट पहिलाको अवस्थामा फर्काउन सकिन्छ । दीर्घकालीन आवास गृह व्यवस्था र पीडितका आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा, सीप तथा रोजगारीका अवसर सिर्जना गर्नु राज्यको दायित्व हो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...