बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेतृत्व खोज्दै पर्यटन बोर्ड, यी हुन् सम्भावित अनुहार

बिहीबार, १९ मङ्सिर २०७६, १२ : ३६
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड (एनटीबी)ले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ ।

बोर्डले बुधबार राष्ट्रि दैनिक पत्रिका सूचना प्रकाशित गर्दै नयाँ सीईओको दर्खास्त आह्वान गरेको थियो । योसँगै पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि निजी तथा सरहकारी क्षेत्रबाट आवेदन खुला भएको छ । दर्खास्त सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दिइसक्ने भनिएको छ ।

सरकारी–निजी साझेदारी बोर्डको नेतृत्वका लागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अभुनव भएका जोकोहीले आवेदन दिनसक्ने बताइएको छ । बोर्डको सीईओ हुनका लागि कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण भएको र कुनै पनि आपराधिक वा फौजदारी अभियोगसमेत नलागेको व्यक्ति हुनुपर्ने प्रावधानमा उल्लेख छ ।

बोर्डले सीईओ छनोटका लागि तीन सदस्यीय छनोट समितिसमेत गठन गरेको छ । मन्त्रालयका सचिव घनश्याम उपाध्यायको नेतृत्वमा निजी क्षेत्रबाट विष्णुबहादुर महरा र विप्लव पौडेल छनोट समितिमा छन् । महरा र पौडेल होटल तथा पर्यटन व्यवसायबाट आएका हुन् ।

को आउँदै छ बोर्डको नयाँ नेतृत्वमा ?

अहिलेको बोर्डको गतिविधि, राजनीतिक प्रभाव र पहिलेको सिनारियोका आधारमा बोर्डको सीईओमा बोर्डकै सदस्यहरुबाट आउने सङ्केत गरेको छ । राजनीतिक चलखेल र प्रभावमा सीईओ छनोट हुने देखिएपछि निजी क्षेत्रबाट सीईओमा खासै चासो देखाएका छैन ।

सीईओका लागि राखिएको मापदण्डअनुसार ५० प्रतिशत उच्चस्तरका कर्मचारीहरु नै सक्षम रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार बोर्डका १०–१२ जनाले सीईओका लागि आफ्नो दाबी प्रस्तुत गर्ने देखिन्छ । अहिले नै छनोट समितिले इच्छुक व्यक्तिको नामावाली सार्वजनिक नगरे पनि बोर्डका डाइरेक्टर काशीराज भण्डारी, आदित्य बराल, नम्बिनी लय थापा, मणिलाल लामिछाने, हिक्मतसिंह यर, दिवाकर राना लगायतले दाबी प्रस्तुत गर्ने देखिन्छ । यीमध्ये काशीराज भण्डारीको सम्भावना उच्च रहेको स्रोतले बताएको छ । कारण भण्डारी नेकपा निकट मानिन्छन् ।

त्यसो त बहालवाला सीईओ जोशीको समेत कार्यकाल पुनः दोहोरिने सम्भावना पनि उतिकै छ । एक व्यक्ति दुई कार्यकालसम्म काम गर्न पाउने व्यवस्था अनुरूप उनले फेरि पनि कार्यकाल दोहोर्याउने गरी राजनीतिक लबिङमा लागेको बुझिएको छ । भ्रमण वर्षको मुखमा आएर बोर्डको नेतृत्व फेरबदलले पर्यटन वर्षलाई नै प्रतिकूल प्रभाव पार्ने देखिन्छ । यसले गर्दा पुरानै नेतृत्वलाई निरन्तरता दिने हो कि भन्ने चर्चा पनि चलेको छ । तर अहिले नै कसैले पनि आफ्नो दाबी प्रस्तुत भने गरेका छैनन् ।

यता बोर्डको नयाँ नेतृत्वमा जो आए पनि असल व्यक्ति ल्याउनुपर्ने टानका पूर्वअध्यक्ष नवराज दाहाल बताउँछन् ।

‘आफ्नालाई होइन राम्रालाई बोर्डको नेतृत्वमा ल्याउनुपर्छ,’ पूर्वअध्यक्ष दाहाले भने, कुनै राजनीतिक, आर्थिक तथा शक्तिको प्रयोगमा नभई योग्यताका आधारमा बोर्डको सीईओ छानिनुपर्छ ।’

दाहालका अनुसार हालका सीईओ जोशी कार्य सम्पादनमा कमजोर देखिए पनि दक्षता, क्षमता र योग्यताका आधारमा सक्षम व्यक्तित्व हुन् । राजनीतिक दबाब र प्रभावमा जोशीले राम्ररी काम गर्न नपाएको र नदिएको उनको भनाइ छ ।

‘बहालवाला सीईओ दीपकराज जोशी असक्षम व्यक्ति होइनन् । बरु राजनीतिक प्रभाव र दबाबमा काम गर्न दिइएन’, दाहालले भने, ‘केही हदसम्म उनले आफ्नो कर्मचारी र संयन्त्रलाई परिचालन गर्न नसकेकै हुन् । अब सक्षम र काम गर्ने जोसजाँगर भएको व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्छ ।’

के छ कानुनी व्यवस्था ?

पर्यटन बोर्ड सञ्चालन व्यवस्थापन तथा पदाधिकारीहरु नियुक्तिसम्बन्धी एन पर्यटन बोर्ड ऐन २०५३ को व्यवस्था गरिएको छ । सो ऐन अनुसार बोर्डको सीईओको समयावदी (कार्यकाल) चार वर्षको हुने व्यवस्था ऐनमा नै उल्लेख गरिएको छ । हाल बहालवाला सीईओ जोशी सोही ऐन बमोजिम पद निवृत्त हुँदै छन् । 

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्थामा  उपाध्यक्ष र सीईओ भने बोर्डको पदाधिकारी छनोट समितिले गर्ने व्यवस्था छ ।

अन्य सदस्यहरु भने, अर्थ मन्त्रालयका सचिव, अध्यागम विभागका प्रवन्ध निर्देशक, नेपाल सरकारले तोकेको अन्य पर्यटनसम्बन्धी मन्त्रालयको व्यक्तित्व र निजी क्षेत्रबाट पर्यटन विकास तथा प्रवद्र्धनमा लागेको व्यक्ति रहने व्यवस्था छ ।

पर्यटन बोर्डले सीईओ छनौट गर्न गठित समितले आवेदकहरु मध्येबाट तीन जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्येबाट समितिले १ जनालाई सीईओ नियुक्ति गर्ने छ ।

सीईओ नियुक्त भएपछि व्यक्तिले सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानुनी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप