शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गार्डका छोराले भेटेको ४० लाखको हिरा मालिकलाई दिए फिर्ता

आइतबार, ०४ भदौ २०७४, १० : २९
आइतबार, ०४ भदौ २०७४

एक सुरक्षाकर्मीका १५ वर्षीय छोराले ४० लाख पर्ने ७ सय क्यारेटको हिरा मालिकलाई फिर्ता दिएका छन् । भारतको सुरतस्थित महिदापुरमा क्रिकेट खेल्ने क्रममा गत अगस्ट १५ तारिखमा भेटेको उक्त हिरालाई खोजी गर्दै आएका मालिकलाई दिइएको हो ।

कक्षा ११ मा अध्ययनरत विशाल उपाध्यायलाई हिराका मालिक मानसुख साभालियाले ३० हजार र सुरत डाइमण्ड असोसिएसनका अध्यक्ष बाबु गुजरातीले इमान्दारिता देखाएको भन्दै शनिबार ११ हजार नगद पुरस्कार दिए ।

‘हिराको प्याकेट फिर्ता गर्ने ती किशोरप्रति म निकै आभारी छु । यदि मैले त्यो नभेट्टाएको भए, म ठूलो घाटामा हुने थिएँ । ऋण चुक्ता गर्नका लागि मैले घर नै बेच्नुपर्दथ्यो । ती किशोरले मलगायत मेरो पूरा परिवारलाई बचाएका छन्,’ मानसुखले बताए ।

विशालले हिराको उक्त प्याकेट डाइमण्ड स्ट्रिटमा साथीहरुसँग क्रिकेट खेल्दा भेटेका थिए । उनका साथीले हिर्काएको बलको पिछा गर्ने क्रममा पार्किङ क्षेत्रमा हिराको प्याकेट भेटेको उनले बताए ।

‘म घर फर्किएँ र कसैलाई पनि यसबारे जानकारी नदिई आफैंसँग राखे । यसका मालिक भेट्नेछु र फिर्ता दिनेछु भन्ने मेरो सोच थियो । तेस्रो दिन प्याकेटका मालिक खोजी गर्दै आइपुगे । मैले उनीबारे थाहा पाएँ र उनी भए ठाउँ गएँ । मैले उक्त प्याकेट मसँग भएको बताएँ,’ विशालले भने । विशालकी आमा लुगा सिलाउँछिन् भने दाइ अकाउन्टेन्ट अफिसमा काम गर्छन् । ‘एक पटक दिएको आमाले दिएको ५० को नोट मैले हराएको थिएँ । त्यो दिन मैले केही खाइनँ । आफ्नो सामान हराउँदा हुने पीडा बुझेर नै मैले उक्त सामान मालिकलाई दिने निधो गरेको हुँ,’ विशालले भने ।

पुरस्कारस्वरुप पाएको ४१ हजार भारुले के गर्ने त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म त्यो पैसा आफ्नो पढाईमा खर्च गर्नेछु । म एकदिन ठूलो मान्छे बन्नेछु । म मेरा आमा र बुवालाई राम्रो जीवन दिन चाहन्छु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप