बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा ३५ यूगल जोडीको सामुहिक विवाह (फोटो फिचर)

सोमबार, १६ मङ्सिर २०७६, २१ : ४२
सोमबार, १६ मङ्सिर २०७६

जनकपुर । विवाहपञ्चमी महोत्सवलाई लक्षित गर्दै जनकपुरमा पहिलो पटक सामूहिक विवाह भइरहेको छ । विश्व हिन्दु परिषद नेपालले प्राचीनकालमा सितारामको विवाह भएको स्थल जनकपुरधामस्थित रानी बजारमा रहेको मणिमण्डपमा १ सय ८ सामुहिक विवाहको लक्ष्य राख्दै सामुहिक विवाह कार्यक्रम सुरु गरेको हो ।

दाइजो प्रथा निर्मुल पार्ने उद्देश्य लिई विश्व हिन्दु परिषद नेपाल पहिलो पल्ट ऐतिहासिक कार्यको आरम्भ गरेको प्रदेश नम्बर २ का प्रवक्ता मिथुन साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मणिमपण्डपमा सोमबार देखि ३५ जोडीको सामूहिक विवाह भइरहेको छ। विवाहमा बेहुली र बेहुला पक्षका आफन्तजन तथा पण्डितहरु समेतको उल्लेख्य सहभागितामा सामुहिक विवाह कार्यक्रम भएकोमा श्री सिताराम विवाह मणिमण्डप विकास समितिले जनाएको छ । 

सामूहिक विवाहपूर्व विवाहका लागि आएका बेहुलाहरुलाई जनकपुर दर्शन समेत गराइएको थियो । जनकपुर दर्शन अन्तरगत उनीहरुलाई गाडी चढाएर जनकपुरधामको नगर परिक्रमा गराइएको थियो । सामूहिक विवाहमा कम्तिमा १०८ जोडीको विवाह गर्ने लक्ष्य रहेपनि कानुनी प्रावधानलाई ध्यानमा राख्दै अधिकांश जोडीलाई सामुहिक विवाह समारोहमा सामेल नगराइएको परिषदका प्रवक्ता साहले बताए । 

प्रवक्ता साहले सामूहिक विवाहमा नेपाल–भारतबाट स–परिवारसहित जोडीहरु धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, मोरङ्ग लगायतका जिल्लाबाट जोडीहरु विवाह गर्नका लागि सहभागी भएका छन् । 

सामूहिक विवाहका लागि आएकाहरु मध्ये नेपाली नागरिकलाई नागरिकता र जन्मदर्ता तथा भारतीयहरुलाई आधार कार्डको प्रतिलिपी आयोजकले लिएको छ । सरकारी प्रमाणपत्रको आधारमा विवाहको लागि उमेर पुगेकालाई मात्र सामूहिक विवाहमा सहभागी गराइएको छ । 

सामूहिक विवाहमा लाग्ने खर्चको व्यवस्था विश्व हिन्दु परिषद नेपालले गरेको छ भने प्रदेश नम्बर २ को सरकारले विवाहमा पण्डाल सजाउनका लागि १० लाख रुपैया र बृहत्तर क्षेत्र जनकपुर परिषदले ५ लाख रुपैया सहयोग गरेको र स्थानीयस्तरमा समेत रकम उठाएर वैवाहिक कार्यक्रमको आयोजन गरिएको प्रवक्ता साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप