बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनुमतिपत्र लिन जाँदैनन् चालक

सोमबार, १६ मङ्सिर २०७६, १९ : ४८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । सडक नियम उल्लङ्घन गरेको भनी ट्राफिक प्रहरीले कारवाही गरेका धेरै सवारी चालक लामो समयसम्म चालक अनुमतिपत्र बुझ्न नआउने गरेका छन् । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अहिले १० वर्ष वा त्योभन्दा पहिलेदेखि रहेका चालक अनुमतिपत्र लिन सेवाग्राही नआएको पाइएको छ ।

लामो समयसम्म चालक अनुमतिपत्र लिन नआउँदा कार्यालयलाई त्यसको व्यवस्थापन गर्न कठिन भएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए । उनका अनुसार कार्यालयमा अहिले ट्राफिक प्रहरी कार्यालयबाटै आएका झण्डै २५ हजार चालक अनुमतिपत्र छन् । 

लामो समयदेखिका अनुमतिपत्र वितरणका लागि त्यतिबेलाको फाइल खोजेर मात्रै दिने गरिएको छ । यहाँ रहेका अनुमतिपत्र वितरणका लागि समेत जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘एकातिर यहाँ जनशक्ति नै कम छन् त्यसमा भएका जनशक्ति पनि यी काममा लाग्नुपर्ने अवस्था छ ।’

ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गरेको भनी चिट काटेका सवारी चालकलाई सोही वर्षभित्र सेवाग्राही जाँदा सम्बन्धित कार्यालयबाटै चालक अनुमतिपत्र दिन्छ । ती कार्यालयले चिट काटेकै आवमा राजश्व बुझाउने र ट्राफिक नियमसम्बन्धी कक्षा लिएपछि चालक अनुमतिपत्र दिने गरेको छ । 

एक आवभरमा समेत चालक अनुमतिपत्र लिन नजाने चालकको भने अनुमतिपत्र यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्रका चार कार्यालय भए पनि ट्राफिक प्रहरीले भने कारवाही गरेका चालकको अनुमतिपत्र एकान्तकुना कार्यालयमा नै पठाउँदै आएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप