शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहमा कुन दलले कहाँ आफ्नो वर्चश्व कायम राखे, कसले कहाँ गुमाए ? (तथ्याङ्कसहित)

सोमबार, १६ मङ्सिर २०७६, १८ : ४४
सोमबार, १६ मङ्सिर २०७६

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ५२ स्थानका लागि शनिबार उपनिर्वाचन सम्पन्न भयो । उपनिर्वाचनको सोमबार अन्तिम नतिजा आइसकेको छ । 


यो समाचारमा भने रातोपाटीले स्थानीय तहका एक उपमहानगर प्रमुख, तीन गाउँपालिका प्रमुख, एक गाउँपालिका उपाध्यक्ष र ४३ वटा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कुन दलले कहाँ आफ्नो वर्चश्व कायम राखे, कसले कहाँ गुमाए भन्ने विषयमा आधारित रहेर चुनावी परिणामको समीक्षा गरेको छ । हेरौँ, स्थानीय तहमा कुन दलको अवस्था कस्तो रह्यो ?  

उपनिर्वाचन अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका वीरबहादुर कुरुम्वाङ ५ हजार ३६९ मत ल्याएर विजयी भए । २०७४ सालको निर्वाचनमा यस गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका सञ्चकुमार केरुङ दुई हजार ९९६ मत ल्याएर विजयी भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि नेकपाले आफ्नो प्रभाव विस्तार गर्ने क्रममा यो गाउँपालिकामा काँग्रेसको बर्चश्व तोडेको हो । 

पाँचथरकै फिदिम नगरपालिका–१ को वडाध्यक्षमा पनि नेकपा विजयी भएको छ । नेकपाका उम्मेदवार गजाधर भट्टराईले एक हजार ४४६ मत ल्याए । २०७४ को निर्वाचनमा उक्त पदमा काँग्रेसका हर्कबहादुर मोक्तान ७७४ मत ल्याएर विजयी भएका थिए । यस वडामा अघिल्लो निर्वाचनको तुलनामा उपनिर्वाचनमा काँग्रेसले मत बढाए पनि जित हासिल गर्न सकेनन् । 

पाँचथरकै हिलिहाङ गाउँपालिका–७ वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार तिलविक्रम इधिङ्गो ८४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिश्पर्धी नेकपाका गेहनाथ रिजालले ८१२ मत ल्याए । अघिल्लो निर्वाचनमा सो पदमा तत्कालिन नेकपा एमालेका तीर्थराज तिम्सिनाले ७१९ मत ल्याएर विजयी भएका थिए । पार्टी एकताका बाबजुद यो वडामा नेकपाले आफ्नो बर्चश्व गुमाउन पुग्यो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर विजयी भएका छन् । यसअघि भएको निर्वाचनमा उपमहानगर प्रमुख पदमा तत्कालीन एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईले उपमहानगर प्रमुख पदमा २३ हजार ९१४ मत ल्याए । नेकपाले उपनिर्वाचनमा गुमाउनु परेको स्थानीय तहमध्ये यो नै मुख्य हो ।

धरान उपमहानगरपालिकाकै वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए । उपनिर्वाचनमा सबैभन्दा थोरै मतान्तरले विजयी हुने क्रममा उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका सुवर्णमोहन पालिखेलाई एक मतले पराजित गरे । पालिखेले ६२१ मत ल्याए । अघिल्लो निर्वाचनमा यहाँ तत्कालीन एमालेका भुपेन्द्रराज मोक्तान ६३६ मत ल्याएर विजयी भएका थिए । 

मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका नारायणप्रसाद साह एक हजार ७०१ मत ल्याएर विजयी भए । २०७४ को निर्वाचनमा यस वडामा तत्कालिन एमालेका बलीराम भगत एक हजार १४६ मत ल्याएर विजयी भएका थिए ।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका तेजबहादुर पोख्रेल तीन हजार १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याए । अघिल्लो निर्वाचनमा यो पदमा तत्कालीन एमालेका खड्गबहादुर कटुवाल एक हजार ७१२ मत ल्याएका थिए ।

यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा नेकपाका भरतकुमार घिमिरे ७९६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका विक्रम गुरुङले ४६७ मत हासिल गरे । यो सिटमा यसअघिको निर्वाचनमा तत्कालीन एमालेका तोयानाथ ढुंगाना ४९० मत ल्याएर विजयी भएका थिए । 

भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका जितेन्द्र राई ६९१ मतसहित विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यस सिटमा नेपाली काँग्रेसका रुद्रबहादुर पाण्डे ४३४ मत ल्याएर निर्वाचित भएका थिए ।

यस्तै, खोटाङको साकेला गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपाकी शिवकला राई ३९१ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी काँग्रेसका शुक्रबहादुर तामाङले ३७४ मत ल्याए । अघिल्लो निर्वाचनमा यहाँ तत्कालीन एमालेका मणिकुमार राई २७९ मत ल्याएर विजयी भएका थिए ।

यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमिलादेवी यादव ५४० मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका अच्छेलाल यादवले ५२९ मत ल्याए । अघिल्लो निर्वाचनमा यहाँ राजपा नेपालकै प्रभाकर यादव २८८ मत ल्याएर विजयी भएका थिए ।

यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष पदमा नेकपाका दिलिपकुमार यादव ८२५ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी राजपा नेपालका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गर्दा काँग्रेसका राजकुमार मुखियाले ६१५ मत पाए । अघिल्लो निर्वाचनमा यस पदमा काँग्रेसका रामदेव यादव ६२२ मत ल्याएर विजयी भएका थिए । 

रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका कुलबहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भए । अघिल्लो निर्वाचनमा यस वडाको वडाध्यक्षमा तत्कालीन एमालेबाट कुविरबहादुर खत्री ४३६ मत ल्याएर निर्वाचित भएका थिए ।

यस्तै, महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा काँग्रेसका विपिन पजियार सुडी ४६१ मतसहित विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यस वडाको वडाध्यक्षमा काँग्रेसकै राजकुमार साह ३७९ मतसहित विजयी भएका थिए ।

सोही नगरपालिकाको वडानम्बर ८ मा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यस वडाको वडाध्यक्षमा समाजवादी पार्टीकै लोकिन्दर महतो कोइरी २८८ मतसहित विजयी भएका थिए ।

महोत्तरीकै पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी ३ हजार दुई सय ४९ मतसहित विजयी भए । यो गाउँपालिकाका अघिल्लो निर्वाचनमा राजपा नेपालका विनोदकुमार चौधरी २ हजार ७७५ मतसहित निर्वाचित भएका थिए । प्रदेश २ को सरकारमा सहभागी राजपा नेपालले आफ्नो वर्चश्व गुमाएको स्थानीय तहमध्ये यो एक हो । 

महोत्तरीकै मटिहानी नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा राजपा नेपालका रामबाबु नायक निर्वाचित भएका छन् । उनले ३७५ मत हासिल गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपाका मोहम्मद जाकिर अन्सारीले ३५५ मत ल्याए । अघिल्लो निर्वाचनमा यस वडाको वडाध्यक्षमा राजपा नेपालकै संजयकुमार मण्डल ३२३ मतसहित विजयी भएका थिए ।  

यस्तै, सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा समाजवादी पार्टीका श्यामबाबु राय ३४७ मतसहित विजयी भए । यस स्थानमा अघिल्लो निर्वाचनमा तत्कालिन नेकपा एमालेका कुमार लामा ६२८ मत ल्याएर निर्वाचित भएका थिए ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठ ७७१ मत ल्याएर विजयी भएका छन् । सो पदमा अघिल्लो निर्वाचनमा राजपा नेपालका जोगेन्द्रदास तत्मा ५१६ मत ल्याएर विजयी भएका थिए ।

यस्तै, बाराको बारागढी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी ७४९ मत ल्याएर निर्वाचित भएका छन् । यो वडामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका नन्दलाल राय थारु ४३३ मत ल्याएर निर्वाचित भएका थिए । उपनिर्वाचनमा काँग्रेसले यस वडामा ४७१ मत हासिल गरेको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलालकुमार यादव एक हजार ३१ मत ल्याएर निर्वाचित भएका छन् । यसअघि उक्त वडामा संघीय समाजवादी फोरमका बृजमोहन राय यादव ६९४ मत ल्याएर विजयी भएका थिए ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेकपाका केदारनाथ आचार्य ७१२ मतसहित निर्वाचित भएका छन् । यसअघि उक्त वडामा नेपाली काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत ल्याएर विजयी भएका थिए । उपनिर्वाचनमा काँग्रेस उम्मेदवार राले तामाङले ४३९ मत ल्याए । 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेकपाका देवप्रसाद कोइराला ८६७ मतसहित निर्वाचित भएका छन् । यसअघि उक्त वडामा तत्कालीन एमालेका राजन कोइराला ८३६ मतसहित निर्वाचित भएका थिए ।

काठमाडौँको दक्षिणकाली नगरपालिकाको ३ नम्बर वडाको वडाध्यक्षमा नेकपाका शिवभक्ति बलामी ६१८ मतसहित निर्वाचित भएका छन् । यस वडामा अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका नानीबाबु बस्नेत २९७ मतसहित निर्वाचित भएका थिए ।

चितवनको भरतपुर नगरपालिका–१६ को वडाध्यक्षमा नेपाली काँग्रेसका अमृतराज हमाल ३ हजार १८३ मतसहित विजयी भएका छन् । यस वडामा अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका चतुरमान गुरुङ २ हजार १३२ मत ल्याएर विजयी भएका थिए । पार्टी एकताका बाबजुद यस वडामा नेकपाले आफ्नो साख जोगाउन नसकेको हो ।

चितवनकै खैरहनी नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा काँग्रेस उम्मेदवार देवबहादुर बस्नेत १ हजार १३८ मत ल्याएर विजयी भएका छन् । उक्त वडामा नेकपाका वेदबहादुर अधिकारी ९८६ मतमा सीमित भए । अघिल्लो निर्वाचनमा पनि यहाँ काँग्रेसले नै जित हासिल गरेको थियो भने उपनिर्वाचनमा जित हासिल गर्ने क्रममा अघिल्लो निर्वाचनको तुलनामा काँग्रेसको मत बढेको छ । 

सोही नगरपालिकाको वडा नम्बर ५ मा काँग्रेसकै प्रतिमा कार्की ८४२ मतसहित विजयी हुँदा नेकपाका उम्मेदवार पुननारायण प्रधानले ७५६ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा काँग्रेस नै विजयी भएको यस वडामा उपनिर्वाचनमा काँग्रेसको मत विगतको तुलनामा बढेको देखिन्छ । 

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका–४ को वडाध्यक्ष पदमा नेकपाका नविनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९८९ मत हासिल गरे । अघिल्लो निर्वाचनमा यस वडामा काँग्रेसका कृष्णराज खनिया ५६२ मतसहित विजयी भएका थिए । पार्टी एकतापछि नेकपाले काँग्रेसबाट फुत्काएको स्थानीय तहमध्ये यो पनि एक हो ।

बागलुङको बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन ७०४ मत ल्याएर विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यस वडामा तत्कालीन एमालेका विष्णुप्रसाद भुसाल ६१४ मत ल्याएर निर्वाचित भएका थिए । पार्टी एकतापछि यस वडामा पनि तुलनात्मक रुपमा नेकपाको मत बढेको देखिदैँन । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुङ्दीकाली गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपाकै खिमबहादुर थापा खरु मगर ३६७ मतसहित विजयी भए । अघिल्लो निर्वाचनमा यस वडामा तत्कालीन एमालेका दलबहादुर खरु मगर ३८४ मत ल्याएर विजयी भएका थिए । पार्टी एकता भए पनि यस वडामा नेकपाको मत तुलनात्मक रुपमा बढ्न सकेको देखिएन ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ को वडाध्यक्षमा नेकपाका गिरीप्रसाद सिञ्जाली ८०२ मत ल्याएर विजयी भए । अघिल्लो निर्वाचनमा यस वडामा तत्कालीन नेकपाका पूर्णबहादुर रेगामी ६३८ मत सहित निर्वाचित भएका थिए ।

कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षमा राजपा नेपालबाट मञ्जु मिश्र ८६८ मतसहित विजयी भएकी छन् । यसअघि यो वडामा स्वतन्त्र उम्मेदवार सकुन्तला भारतीले जित हासिल गरेकी थिइन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली काँग्रेसका शोभाखर खनाल एक हजार १५९ मतसहित विजयी भए । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार जीवनकुमार चौहान एक हजार ४ मत ल्याएर विजयी भएका थिए । पार्टी एकताका बाबजुद नेकपाले यो वडामा आफ्नो साख जोगाउन सकेन । यस वडामा नेकपाका उम्मेदवार यमलाल खनालले एक हजार ५३ मत हासिल गरे ।

प्युठानको प्युठान नगरपालिका–२ को वडाध्यक्षमा नेकपाका मुक्ति पोख्रेल एक हजार १२७ मत ल्याएर विजयी भए । यस वडामा अघिल्लो निर्वाचनमा तत्कालिन एमालेका खिमबहादुर विष्ट ८०० मत ल्याएर निर्वाचित भएका थिए ।

प्युठानकै ऐरावती गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेकपाका द्रोणप्रसाद पाण्डे र वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार भिमेशकुमार घर्तीमगर विजयी भए । पाण्डेले ६९६ मत पाए भने घर्तीमगरले ८५५ मत हासिल गरे । अघिल्लो निर्वाचनमा वडा नम्बर १ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार पदम थापा ६३८ मत हासिल गर्दै विजयी भएका थिए । यस्तै २ नम्बर वडामा अघिल्लो निर्वाचनमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य विजयी भएका थिए ।

रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढामगर १७४ मत ल्याएर विजयी भए । उनी उपनिर्वाचनमा सबैभन्दा कम मत हासिल गरेर विजयी हुने जनप्रतिनिधिसमेत हुन् । अघिल्लो निर्वाचनमा उक्त वडामा स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा मगर ३५९ मत ल्याएर निर्वाचित भएका थिए ।

यस्तै दाङको घोराही उपमहानगर–१६ मा नेपाली काँग्रेसका ताराबहादुर डिसी एक हजार २१८ मतसहित विजयी भए । सो वडामा यसअघि तत्कालीन एमालेका लछिन बुढा निर्वाचित भएका थिए । पार्टी एकताका बाबजुद नेकपाले उपनिर्वाचनमा साख जोगाउन नसकेको स्थानीय तहमा यो वडा पनि एक हो ।

बाँकेको कोहलपुर नगरपालिका–६ मा नेकपाका रामशरण थारु ८०० मतसहित विजयी भए । यो वडामा यसअघि काँग्रेसका रामसोहन थारु विजयी भएका थिए । उपनिर्वाचनमा काँग्रेसका श्रीकृष्ण थारुले ७३६ मत हासिल गरे ।

यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ वडाध्यक्षमा नेकपाका धर्मे बुढाथोकी ७९२ मतसहित विजयी भएका छन् । यसअघि उक्त वडामा तत्कालीन माओवादी केन्द्रका हरिप्रकाश बुढाथोकी ७८८ मतसहित निर्वाचित भएका थिए ।

बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाकै मनराजे बुढा ३६७ मत हासिल गर्दै विजयी भए । यस वडामा अघिल्लो निर्वाचनमा काँग्रेसका खम्म दमाई निर्वाचित भएका थिए । उपनिर्वाचनमा काँग्रेसले गुमाएको स्थानीय तहमा यो पनि एक हो । 

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका रमेशबहादुर खड्का ७७८ मत हासिल गर्दै विजयी भए । यो वडामा पनि यसअघि काँग्रेसले जित हासिल गरेको थियो ।  
डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्षमा नेकपाकै रामबहादुर बोहरा विजयी भए । उनले ६६८ मत हासिल गरे । अघिल्लो निर्वाचनमा यस वडामा तत्कालिन एमालेका पदमसिंह बोहरा ५०२ मत ल्याएर विजयी भएका थिए ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मतसहित वडाध्यक्षमा निर्वाचित भए । यस वडामा अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका फैरु तामाङ ४५४ मत ल्याएर निर्वाचित भएका थिए ।

बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका गजेन्द्रबहादुर चन्द २१९ मत हासिल गर्दै विजयी भए । अघिल्लो निर्वाचनमा यो वडामा काँग्रेसकै कलशबहादुर चन्द १५८ मत ल्याएर विजयी भएका थिए ।

बैतडीकै पुर्चौडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक ६६३ मतसहित निर्वाचित भए । सो वडामा अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका गौतमप्रसाद भट्ट विजयी भएका थिए ।

बैतडीकै दोगडाकेदार गाउँपालिका–४ वडाध्यक्षमा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट ५८४ मतसहित विजयी भए । यो वडामा यसअघि तत्कालीन एमालेका मानबहादुर विष्ट ४६९ मत ल्याएर विजयी भएका थिए । पार्टी एकताका बाबजुद यहाँ नेकपाले आफ्नो साख कायम राख्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप