बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनको नेकपा–काँग्रेसलाई सन्देश

सोमबार, १६ मङ्सिर २०७६, १७ : ०७
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । उपनिर्वाचन परिणामले सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दुवैले गर्दै आइरहेको दाबीलाई खण्डित गरेको छ ।

 प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचन मतपरिणाम आएसँगै आफ्नो लोकप्रियता बढेको नेकपाको दाबी र सत्तासीन दल अलोकप्रिय भयो भन्ने काँग्रेसको दाबीलाई यो परिणामले खण्डित गरेको हो । 

प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ सहित ३० स्थानमा नेकपाले कब्जा जमाउन सफल भएको छ । नेकपाले उपनिर्वाचनबाट २ सिट थपेको छ । तर यो नेकपाका लागि प्राप्त भने होइन । स्थानीय तहअन्तर्गत ४८ स्थानमा चुनाव हुँदा ४० स्थान जित्ने नेकपाले आँकलन गरेको थियो । गएको स्थानीय तहको चुनावमा अधिकांश स्थानमा काँग्रेस र तत्कालीन माओवादी केन्द्र चुनावी तालमेलमा हुँदा पनि तत्कालीन एमाले पहिलो दल बनेको थियो ।

उपनिर्वाचनमा (एमाले– माओवादी केन्द्र) नेकपा बनेर चुनावी मौदानमा गएका थिए । यस्तो अवस्थामा पनि नेकपाले अपेक्षित नतिजा हात पार्न सकेन । साथै भक्तपुर–१ (क) प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिका पनि गुमाएको छ ।

धरानमा तत्कालीन एमाले– माओवादी केन्द्रको मत जोड्दा १५ हजार बढी हुन पुग्छ । तर धरानमा नेकपा २ हजार ७ सय ९५ मतले नेकपा हार चाख्न पुग्यो । नेकपाको ‘लोकप्रियता’ यहीँनिर खण्डित भएको छ ।
साथै यसअघि काँग्रेसले जितेका पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि नेकपाले झिनो मतान्तरले मात्र बाजी मार्न सफल भएको छ । 

यता उपचुनावमा पार्टीको पूरै शक्ति परिचालित गरेको काँग्रेसले पनि अपेक्षाकृत परिणाम आफ्नो पक्षमा पार्न सकेन । भक्तपुरको प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिका मेयर जितेर उपनिर्वाचनमा काँग्रेस सन्तोषको सास फेर्नमा सीमित भएको छ । 

उपनिर्वाचनमा काँग्रेसका १४ सिट दाउमा थिए । सबै दलले आफ्ना सिट सुरक्षित गर्दा उपनिर्वाचनमा आक्रमक देखिएको काँग्रेस एक सिट गुमाउन पुगेको छ । विशेषतः काँग्रेसले यसअघि जितेका दुई गाउँपालिका गुमाउनुपरेको छ ।

उपनिर्वाचनबाट पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पद काँग्रेसको बसमा रहेन । 

वडाध्यक्षको मतपरिणाम अनुसार नेकपाले यसअघि काँग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा काँग्रेसले जितेको छ । तर काँग्रेसले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र र तत्कालीन सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको निर्वाचन क्षेत्रका वडामा भएको जितलाई प्रतिष्ठाका रूपमा लिएको देखिन्छ । 

यता  सत्ता साझेदार दल समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ । उपनिर्वाचमा समाजवादीले २ वडा थप गरेको छ । तर उपनिर्वाचन राजपाका लागि भने अनुकूल रहेन ।

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष जोगाउनुपर्ने चुनौतीका साथ चुनावी मैदानमा गएको राजपाले ३ वडामा जित हासिल गरे पनि एउटा गाउँपालिका अध्यक्ष पद गुमाएको छ । 

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले उपनिर्वाचन मत परिणाम नेकपा र काँग्रेसका लागि सन्देशमूलक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपनिर्वाचन मतपरिणाम सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका लागि सन्देशमूलक छ । किनभने नेकपाका लागि एकीकरणपछि पहिलो चुनाव उपचुनाव नै हो । त्यसमा नेकपा भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिका गुमाउन पुगेको छ । यता काँग्रेसमा पनि उम्मेदवार छनोटदेखि पार्टी एकमतका साथ चुनावमा गएको थियो । पार्टीभित्रको एकताअनुसार अपेक्षाकृत नतिजा ल्याएको देखिन । अब दुवै दलले जनता के चाहन्छ भन्नेबारे सोच्नुपर्ने देखिएको छ ।’
भक्तपुर र धरानपछि वडास्तरको चुनाव भए पनि नेकपा अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनको परिणाम नेकपाका लागि सन्देशमूलक रहेको दाहालको बुझाइ छ । प्रचण्डले ‘उपचुनाव सानोतिनो अग्निपरीक्षा’ भएको बताएका थिए । उनकै गृहजिल्लालाई परीक्षाको एउटा विषय मान्ने हो प्रचण्ड आफै उत्तीर्ण हुन सकेनन् । 

‘भरतपुर महानगर–१६ मा तत्कालीन नेकपा माओवादी केन्द्र र काँग्रेस चुनावी तामेलमा हुँदा पनि स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवारको प्यानलै विजयी भएको थियो,’ दाहालले भने, ‘तर भरतपुर महानगर–१६ को अध्यक्षमा यस पटक काँग्रेसले जितेको छ । अहिले दुई पार्टीबीच एकता भएको समयमा पनि नेकपाले जोगाउन सकेन । वडाकै चुनाव भए पनि यसलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।’
उक्त वडा प्रचण्डको निर्वाचन क्षेत्र  र भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर हुँदा पनि नेकपामाथि काँग्रेसले बाजी मार्नुको पछाडि  ठूलो अर्थ रहेको उनी बताउँछन् । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङको घोराही उपमहानगर–१६ को अध्यक्षमा काँग्रेसले बाजी मारेको  छ । यसअघि यो वडा तत्कालीन एमालेका लछिनप्रसाद बुढा विजयी भएका थिए । यो वडाको नतिजा पनि अर्थपूर्ण रहेको दाहालले तर्क गरे ।

यता राजनीतिशास्त्री प्रा.डा. लोकराज बरालले भने उपनिर्वाचन परिणामले केही समय नेपालको राजनीति यथास्थितिमा नै रहने सन्देश गरेको बताए ।

 ‘उपनिर्वाचनले मुलुकको राजनीतिलाई नै त ब्याख्य गर्नु मिल्दैन । तर जुन परिणाम आएको छ । त्यसले मुलुको राजनीति केही सयम यथास्थितिमा रहन्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘दुई तिहाइसहित सत्ता सञ्चालन गरिरेहको नेकपाले आफ्नो कार्यक्षमता अनुसारको मत पायो । उल्लेख्य काम गर्न नसकेको नेकपा त्यसैको परिणाम चितवन, धरान र भक्तपुरमा पराजित भयो । यता काँग्रेसले कुनै नयाँ एजेन्डासाथ जनतालाई साथमा लिन सकेको थिएन । वैकल्पिक सरकारका रूपमा हेरिने प्रमुख प्रतिपक्षीले उपनिर्वाचनमा सिट बढाउन नसक्नु काँग्रेसका लागि चिन्ताको विषय हो ।’

साथै उनले क्षेत्रीय र वैकल्पिक शक्तिको उपमा दिने सीके राउतदेखि साझा पार्टीसम्मा लागि राजनीतिभूमि अनुकूल भएको उपनिर्वाचनको अर्को सन्देश रहेको बरालको तर्क छ । उनले भने, ‘नयाँ राजनीति एजेन्डाबिना आएका समाजवादी, भन्नुहोस्, राजपा भन्नुहोस्, साझा भन्नुहोस् वा क्षेत्रीयताको नारा लगाडि सारेको सीके राउतको पार्टीको कुरा गर्नुहोस्, उनीहरुको कुनै प्रभाव देखिएन । यता आफूलाई प्रजातन्त्रवादी भन्ने राप्रपा पनि पतनउन्मुख देखियो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप