शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा मन मिल्यो मत मिलेन, मनमोहन अधिकारीदेखि तारा सुब्बासम्मको ‘लिगेसी’ समाप्त

सोमबार, १६ मङ्सिर २०७६, १३ : ४८
सोमबार, १६ मङ्सिर २०७६

सुनसरी । कम्युनिस्टहरुले ‘लालकिल्ला’ भन्ने पूर्वको धरान यसपटकको उपनिर्वाचनमार्फत काँग्रेसले खोसेको छ ।

हाल २० वडा रहेको धरान उपमहानगरपालिकामा नेकपाका उम्मेदवारले अनपेक्षित पराजय भोगेका छन् भने काँग्रेसका उम्मेदवारले अप्रत्यासित ‘बाजी’ मार्न सफल भएका छन् ।

उपनिर्वाचनमा आएको यो मतपरिणामसँगै काँग्रेसले झण्डै ३० वर्षे इतिहासमा धरानमा चारतारे झण्डा गाडेर इतिहास रच्न सफल भएको छ ।


मनमोहनदेखि कुन्ता शर्मासम्मको क्षेत्र

त्यसो त कम्युनिस्ट पार्टीको लालकिल्ला मानिने धरान काँग्रेसले मतदाताको मन जितेर नै खोस्न सफल भएको हो । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने यो उपमहानगरपालिका २०४८ सालदेखिकै कम्युनिस्टहरुको लालकिल्ला मानिन्थ्यो ।

पञ्चायतकालमा कम्युनिस्टहरुले संगठन निर्माण गर्दा समेत धरानलाई आधार क्षेत्र बनाएर संगठन निर्माण गर्ने गरेका थिए । जसका कारण स्थानीय तहदेखि प्रदेश हुँदै प्रतिनिधिसभा सदस्यको परीणाम समेत कम्युनिस्टहरुकै पोल्टामा जाने गरेको थियो ।

२०४६ सालको परिवर्तनपछि २०४८ सालमा तत्कालीन एमाले अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारी यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बनेका थिए । त्यसयताका संसदीय तथा संविधानसभा निर्वाचनमा समेत लगातार तत्कालीन एमाले र तत्कालीन माओवादीले नै जित्दै आएका थिए ।

२०५१ को निर्वाचनमा एमालेकै लिला श्रेष्ठ, २०५६ को निर्वाचनमा कुन्ता शर्मा निर्वाचित भएका थिए भने २०६४ मा मुक्साहाङ म्याङवो र २०७४ जयकुमार राई निर्वाचित भएका थिए । त्यस्तै २०५४ मा भएको स्थानीय निर्वाचनमा मनोजकुमार म्याङवो र त्यसपछि २०७४ तारा सुव्वा धरानको मेयर पदमा निर्वाचित भएका थिए ।

मंसिर १४ गते भएको मतदानको दिनसम्म पनि नेकपाले धरानमा नेकपाले नै चुनाव जित्ने धेरैको आँकलन थियो ।


झण्डै ६० प्रतिशत मत खसेको धरानको मेयर पदमा आएको परिणामले नेकपालाई झड्का लागेको छ भने काँग्रेस उत्साहित बन्न पुगेको छ । यसअघि एमाले एक्लैले मेयरको चुनाव जितेको यो ठाउँमा माओवादीसमेत मिसिदा कसरी चुनाव हार्ने परिस्थिति बन्यो भनेर कारणहरु केलाउनुपर्ने हुन्छ ।

नेकपाको असक्षम जिल्ला तथा केन्द्रीय नेतृत्व, कमजोर कार्यकर्ता परिचालन, धरान उपमहानगरपालिको नेतृत्वमा रहँदाको अप्रभावकारी काम, करको कहर, सुकुम्बासीका समस्याप्रति वेवास्ता जस्ता कारण नेकपाको पराजयको प्रमुख कारण मानिन्छन् । मतदान हुने दिनसम्म पनि धरानको निर्वाचन परिचालन कमिटी कसको नेतृत्वमा परिचालन भएको हो भन्ने प्रस्ट थिएन ।

पार्टीले निर्वाचन परिचालन कमिटीको जिम्मा दिएका व्यक्ति नै निष्क्रिय बस्न पुगेको नेकपाकै कार्यकर्ताको गुनासो छ ।

यतिसम्म कि धरानको चुनावमा नेकपाको जिल्ला नेतृत्वले भूमिका नदिएको भन्दै प्रदेश सांसदहरु नै असन्तुष्ट देखिएका थिए ।  त्यसैले नेकपाको संगठन परिचालन इतिहासमै सर्वाधिक कमजोर देखिएको नेकपा नेता कार्यकर्ताहरु आफै बताउँछन् ।

धरान उपमहानगरपालिकाको नेतृत्व पाएपछि नेकपाले प्रभावकारी काम गर्न खोजेपनि तारा सुब्बाको निधनसँगै विकासको गति रोकिन पुगेको थियो । सुब्बाको निधनपछि कार्यवाहक मेयर रहेकी मञ्जु भण्डारीको कार्यकुशलतामा नेकपाकै नेता कार्यकर्ता समेत सन्तुष्ट हुन सकेका थिएनन् । साथै जनताको चासोको विषय रहेको करको दर घटाउन यो उपमहानगरपालिकाले नसक्नुको असर मतपरिणाममा पनि देखिन पुग्यो । अर्को सुकुम्बासीका समस्यामा ठोस नीति लिन नसक्नु नेकपाका लागि धरानमा चुनाव हारको अर्को कारण बन्न पुग्यो ।

गुट–उपगुटको असर

धरानको परिणाम नेकपाको पक्षमा सोचेअनुसार नआउनुमा उसको कमजोर व्यवस्थापनकासाथै गुट–उपगुटको प्रभाव पनि  महत्वपूर्ण पक्ष मानिएको छ । यस्तै एमाले र माओवादी केन्द्रबीच मत मिलेजस्तो देखिएपनि मत मिल्न नसकेको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

यस्तै नेकपाका एक केन्द्रीय नेता पनि यो समस्याको जड यही भएको बताउँछन् । उनी भन्छन्, ‘चुनावलाई लिएर नेकपाका नेता–कार्यकर्ता सिरियस नै देखिएनन् । निर्वाचनको तयारी पनि राम्रो गरेको देखिएन । गुट उपगुटको प्रभावले पनि काम गर्यो भने, धरानमा पूर्वएमाले र पूर्वमाओवादीबीच एकताको भावना समेत देखिएन ।’ उनले अगाडि थपे, ‘खासगरी पूर्वएमालेको पनि केपी ओली गुटले चुनावप्रति पूरै वेवास्ता गरेको देखियो ।’

काँग्रेसलाई अवसर !

यता नेकपाभित्र गुटउपगुट र समूहको लडाईँलाई काँग्रेसले अवसरका रुपमा सदुपयोग गर्न सफल भएको देखियो । उसले सबै मतदातालाई महत्त्व दिएर मतदान केन्द्रसम्म लैजानुका साथै मतदातामाझ सरकारको कमजोर कारकारवाहीलाई चुनावी मुद्दा बनायो । त्यतिमात्रै होइन, काँग्रेसले धरानको चुनावमा मुख्य भूमिका खेल्ने सुकुम्बासीहरुलाई राम्रै प्राथमिकता दियो ।

कतिपयले त नेकपाकै एउटा गुटले नेकपाका उम्मेदवारलाई भोट नै नदिएको चर्चा समेत चलेको छ  । आन्तरिक प्रतिस्पर्धामा मात्र देखिनुपर्ने गुट विवाद विपक्षीसँगको प्रतिस्पर्धामा देखिन पुग्नु नेकपाको हारको अर्को कारण बन्न पुग्यो । जबकी यो बेलामा काँग्रेस नेता कार्यकर्ताहरु गुटलाई थाती राखेर अघि बढिरहे । नेपाली काँग्रेसको सारा ध्यान धरानको चुनावको तयारीमा केन्द्रीत बन्यो । तर नेकपाका नेता कार्यकर्तामा गुट उपगुटको ह्याङओभरका साथै पहिलो निर्वाचनमा पाएको मतको उन्माद पनि घटेको थिएन ।  नेकपाको यही कमजोरीलाई टेकेर काँग्रेसले उसको लालकिल्ला भत्कायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप