बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चार उम्मेदवारले २ हजार मत पनि ल्याउन सकेनन् : आखिर कहाँ चुक्यो साझा ?

मतदाताको ‘ब्रान्ड–लोयालिटी’ कि साझाको रणनीतिक त्रुटी ?
सोमबार, १६ मङ्सिर २०७६, ०८ : २५
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । निर्वाचनको अघिल्लो दिनसम्म पनि ‘जनताको आवाज’ बोल्ने भनिएको सामाजिक सञ्जालमा पुराना राजनीतिक दलहरुको खुबै आलोचना हुन्छ । साथसाथै, देशमा ‘वैकल्पिक शक्ति’ को आवश्यकताबारे पनि गरमागरम बहस हुन्छ । सामाजिक सञ्जालमा यो बहसले राम्रो स्पेस र समर्थन पनि पाउँछ । यसले निर्वाचनको पूर्वसन्ध्यासम्म ‘वैकल्पिक शक्ति’ का पक्षधरहरुलाई उत्साहित बनाउँछ, यसपटककको निर्वाचनमा केही फरक नतिजा पक्कै आउँछ ।

तर, जब मतपेटिका खोलिन्छ, त्यहाँभित्र वैकल्पिक शक्तिका लागि निराशाबाहेक केही हुँदैन । यो नियति एक पटक होइन पटक–पटक दोहोरिरहेको छ । अझ, यसपटक दुई तिहाइको सरकारमाथि जनताको चरम आक्रोश रहेको बताइरहँदा सरकारप्रतिको वितृष्णाको मत वैकल्पिक शक्तिलाई जाने विश्वास गरिएको थियो । तर, मतपरिणामले त्यो अपेक्षालाई गलत साबित गरिदियो ।

एक प्रतिनिधिसभा, दुई प्रदेशसभा र एक उपमहानगरमा साझाले उतारेका उम्मेदवारहरुले फेरि एक पटक निराशजनक प्रदर्शन गरेका छन् । चार निर्वाचन क्षेत्रमा डेढ लाखभन्दा बढी मत खसेका छन् । साझा  पार्टीका उम्मेदवारहरुले त्यसमध्येमा २ हजार मत ल्याउन सकेनन् । पुराना दललाई टक्कर समेत दिन नसकेका उनीहरु सबैको जमानत समेत जफत भएको छ ।

दाङ–३ (ख) मा भएको प्रदेश सभा सदस्यको निर्वाचनमा ४५ हजारभन्दा बढी मत खसेकोमा साझाका उम्मेदवार शिवकुमार चौधरीले मात्र २ सय ६६ मत ल्याएका छन् । भक्तपुरमा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा साझाका उम्मेदवार सुरज प्रधान ३ सय ९३ मतमा सिमित बनेका छन् ।

कास्की–२ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा  साझाकी रजनी केसीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो । तर उनी पनि ९ सय ४२ मतमा सिमित बनेका छन् । उता, धरान उपमहानगरमा समाचार तयार पार्दासम्म मतगणना जारी रहेको छ । जसमा साझाका राजनकुमार श्रेष्ठले ८० मत ल्याएका छन् ।

पराजयबारे राजनीतिक विश्लेषकसमेत रहेका डम्बर खतिवडा यसलाई मतदाताको ब्रान्ड लोयालिटी बलियो रहेको प्रमाणको रुपमा लिन्छन् । उनी लेख्छन्, अन्ततःभोट घुमिफिरी नेकपा र नेकाकै पोल्टामा पुगेको छ।मतदातामा ब्रान्ड-लोयालिटी कति बलियो छ भन्ने थप प्रमाण हो यो।बैकल्पिक शक्ति निर्माण एक कष्टकर तपस्या सरह हो, बैकल्पिक शक्ति बनाउन चाहनेहरुको रणनीतिक त्रुटि पनि जिम्मेवार होलान्, ठूलो काम ठुलो चित्तले मात्र संभव हुन्छ।

उनी थप लेख्छन्, संक्षिप्तमा अहिलेलाइ यथास्थितिवाद जनअनुमोदित भएको छ । हुनत नेपालमा आजसम्म कुनै पनि परिवर्तन भोटको बाकसबाट भएका छैनन् । लोकतन्त्रमा विश्वास गर्नेले जनमतको सम्मान त गर्नै पर्छ । तर, निरास नभइ रुपान्तरणको अभियान निरन्तर राख्नु पर्छ ।

पराजयबारे विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डे लेख्छन्, यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ, मनमा पुग्न बाँकी रहेछ। हामीलाई मत दिनुहुने, नदिनु हुने सम्पूर्ण मतदाताहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। काम गर्छौँ। तपाईँहरूको मन पनि जित्छौँ। अभियान, सङ्गठन अनि स्पष्ट नीति बोकेर फेरि आउनेछौँ।

राजनीतिक विश्लेषक जुगल भुर्तेल लेख्छन्, इतिहासमा कांग्रेस, एमाले र माओवादीले पनि वैकल्पिक राजनीतिकै बाटो समातेर लामो यात्रापछि आजको स्थानमा आइपुगेका हुन्। तिनका सिद्धान्तसँग विमति राख्न सकिएला, तर तिनले आफ्नो वैकल्पिक बाटोलाई स्थापित गरेरै छाडेको सत्यलाई नकार्न सकिन्न। अर्थात, कता जाने थाहा छ भने आफ्नो दिन अवश्य आउँछ।

अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल लेख्छन्, 'यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमीनमा टेकुन् भन्ने सन्देस दिएको छ। यही सन्देस बोकेर कमजोरीको समीक्षा गर्दै पार्टी अगाडि बढ्नेछ। स्थायी असफलताले 'सफलता' पायो भन्दैमा हामी निराश भएका छैनौं। अझ डटेर आगामी निर्वाचनको सामना गर्नेछौं।'

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने चुनावको नतिजाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्, उपचुनावले  साझा पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप