बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व, काँग्रेसको टक्कर

आइतबार, १५ मङ्सिर २०७६, ०९ : ४२
आइतबार, १५ मङ्सिर २०७६

शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ ।

नेकपाले जितेका स्थानहरु 

गुल्मी

रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गरेका हुन् । सिञ्जालीले ८०२ मत प्राप्त गर्नुभएको थियो भने उनका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

सिरहा

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए । नेपाली काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो ।

सल्यान

सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याएका छन् । यस्तै

बाजुरा

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) का मनराज बुढा विजयी भएका छन् । बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित भएका थिए । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो ।

भोजपुर

पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बनेका हुन् । राईले ६९१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गरे ।

बनेपा

वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका थिए ।

मेलम्ची

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केदारनाथ आचार्य विजयी भएका छन् । उनले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गरेका हुन् । आचार्य ७१२ मत ल्याएर विजयी भएका हुन् । तामाङले भने ४३९ मत प्राप्त गरे । सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

सङ्खुवासभा

खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरत घिमिरे विजयी भएका छन् । उनले ७९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गरेका थिए ।

नवलपरासी

नवलपरासी पूर्व नवलपुरको  बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् । उनले कुल ३६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गरेका हुन् ।

बैतडी

पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी भएका छन् । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका छन् ।

लम्जुङ

लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो ।

बाग्लुङ

बाग्लुङको बडिगाड गाउँपालिका वडा–२ मा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भएका छन् । निर्वाचित शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका थिए ।

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिका–६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामशरण थारु निर्वाचित भएका छन् । उनले ८०० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ७३७ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले ६१ मत प्राप्त गरेका छन् । भने समाजवादीका शुभखर पोखरेलले १० र नेपकिपाकी दिपालक्ष्मी हमालले २३ मत प्राप्त गरेका छन् ।

प्युठान

प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् । पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले  ८ सय ४३ मत ल्याए ।

कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी  भएका हुन । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।

रोल्पा

रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको  उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४  मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार  गरेपछि कुल १२ सय ८८ मत मभ्ये जम्मा २०८ मत खसेको थियो ।

काँग्रेसले जितेका स्थानहरु

चितवन

चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भए । भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार निकै कम मतले पराजित भएका थिए । खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

दाङ

घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन् । डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित भएका छन् ।

चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो ।

महोत्तरी

महोत्तरीको बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

अर्घाखाँची

मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गरेका थिए ।

रौतहट

गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी भएका छन् । श्रेष्ठ १७५ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गरेका थिए ।

बैतडी

गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौंडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा विजयी सुरेन्द्रप्रसाद भट्ट ले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गरेका हुन् । एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गरेका थिए ।

सुर्नया–१ मा काँग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका थिए ।

राजपा/समाजवादी

राजविराज

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन्  । मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल  र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी भएका छन्  । उनले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला  उम्मेदवार प्रमिलादेवी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

राजपा

महोत्तरी

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी भएका हुन् । राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

कपिलवस्तु

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र  विजयी भएकी छ्न् । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी भएकी हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देब भारतीले ४ सय ६५ मत ल्याएका छन्  ।

समाजवादी

सर्लाही

सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । नेपाली काङ्ग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप