शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारणले हुन्छ शिशुको पेटभित्र शिशु !

शनिबार, १४ मङ्सिर २०७६, १२ : ०८
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । महिला र पुरुषको संसर्गपछि महिलाको पाठेघरभित्र बन्ने जीवनको शुरुवाती चरणको रुप हो भ्रुण। यस अर्थमा कुनै पनि महिलाभित्र भु्रण हुनको लागि महिला र पुरुषबीच संसर्ग हुनु वा चिकित्सीय हस्तक्षेप (कृत्रिम गर्भाधान) ले सो क्रिया सम्पन्न गरेको हुनैपर्छ ।

तर सधैं यस्तै हुन्छ र हुनैपर्छ भन्ने चाहिँ हुँदैन । कहिलेकाहीँ भरखरै जन्मेको शिशुमा पनि त्यस्तो भ्रुण देखापर्न सक्छ ।

केही दिन पहिलाको कुरा हो, कोलम्बियाको बरानकिलाकी एक महिलाले जन्माएकी शिशुको शरीरभित्र भ्रुण रहेको खबर प्रकाशित भएको थियो । उक्त भ्रुण एक दिन पछि अप्रेशनबाट निकालिएको थियो । सुन्दा सबैलाई अचम्म लाग्ने त्यस्तो घटना विदेशमा मात्रै हुने हैन, हाम्रै नेपालमा पनि भएको पाइन्छ । वरिष्ठ बाल शल्य चिकित्सक (पेडियाट्रिक सर्जन) प्रा.डा रामनन्दप्रसाद चौधरीले पनि यस्तै एउटा घटना भोगेका छन् ।

उनले ८ वर्ष पहिला कान्ति बाल अस्पतालमा ढेड वर्षको बालकको पेटको भ्रुण भेटेका थिए ।  हाल इशान महिला तथा बाल अस्पतालका निर्देशक डा. चौधरी २५ विगत वर्षदेखि बालबालिकाको स्वास्थ्यको क्षेत्रमा काम गर्दे आएका छन् ।

कसरी हुन्छ यस्तो घटना ?

सामान्यतः गर्भवती हुँदा महिलाको गर्भमा एउटा शिशु रहने गर्छ । तर कहिलेकाहीँ जुम्लयाहा वा तिम्ल्याहासम्म पनि हुन सक्छ । जुम्ल्याहा वा तिम्ल्याहा गर्भमा छ र ती शिशुहरुको बराबर रुपमा विकास भएको छ भने ती शिशुहरुलाई सामान्य अवस्थामा वा अप्रेशन गरेर जीवितै जन्म गराउन सकिन्छ । तर कहिलेकाहीँ गर्भाधान चाहिँ एकभन्दा बढी हुने तर गर्भभित्र शिशुको विकास चाहिँ समान रुपमा नहुन पनि सक्छ । त्यस्तो अवस्थामा एउटा शिशुको बिकास राम्रोसँग हुने र  अर्काे शिशुको विकास राम्रोसँग भएन भने भरखरै जन्मेको बच्चामा भ्रुण फेलापर्ने हुन सक्छ ।

गर्भअवस्थामा शिशुको पेट बन्ने क्रममा खुल्ला हुन्छ र आद्रा बाहिरनै हुन्छ । शिशुको बिकाससँगै सबै भित्र जान्छ र पेट बन्द हुन्छ । बन्द हुने क्रममा स्वस्थ्य शिशुको पेट भित्र राम्रोसँग विकास नभएको शिशु पनि पस्न जान्छ ।  त्यस्तो भु्रणको आकार शिशुको जस्तै भए पनि त्यो शिशु भने जीवित हुँदैन । हड्डी टाउँको सबै शिशुको आकार जस्तो देखिए पनि त्यस्तो भु्रण भने मृत अवस्थामा हुन्छ ।

कसरी थाहा पाउने ?

गर्भावस्थामा चरणबद्ध परीक्षण गरिनुपर्ने हुन्छ । सामान्यतः अल्ट्रासाउण्डबाट शिशुको अवस्थाको नियमित परीक्षण गर्ने गरिन्छ ।तर गर्भावस्थामा कुनै पनि जटीलता देखापरेमा वा चिकित्सककलाई शंका लागेमा थप अनुसन्धानको लागि सिटी स्क्यान गर्नुपर्ने पनि हुन स्क्छ । केही गरी माथिको अवस्था अर्थात् गर्भभित्र विकसित शिशुको पेटभित्र अर्को शिशुको भ्रुण रहेको स्थिति छ भने पेट भित्र डल्लो जस्तो देखिन सक्छ ।

कान्ति अस्पतालमा आज भन्दा ८ वर्ष पहिला डेढ वर्षको बालक पेटमा ‘ट्यूमर’को समस्या बोकेर आएका थिए । पछि डा. चौधरीको टिमले हेर्दा त्यहाँ भु्रणको खुट्टा देखिएको थियो । डा. चौधरीले आन्द्राको वरिपरि देखिएको त्यो भु्रणलाई अप्रेशन गरेर निकालेका थिए ।

विदेशमा शिशु जन्मने बितिकै विस्तृत परीक्षण गरिने हुँदा यस खालको स्थिति देखापर्दा जन्मेको केही दिनमा नै अप्रेशन गर्ने गरेको डा. चौधरीले बताए । तर नेपालको सन्दर्भमा भने बालबालिका जन्मने बित्तिकै स्वास्थ्य परिक्षण गर्न खासै चासो दिँइदैन र समस्याले नच्यापेसम्म भित्री स्थिति थाहा पनि लागिहाल्दैन । त्यही कारण नै एक बालकले ढेड वर्षसम्म भु्रण बोकेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो । अहिले ती बालकको अवस्था सामान्य रहेको छ । यस्तो घटना नेपालको सन्दर्भमा भने एकदमै कम पाइने गरेको पनि वरिष्ठ सर्जन चौधरीको अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप