शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली खतरामुक्त, ७ दिन अस्पतालमै बस्नुपर्ने

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : ५०
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । 

 महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि अझै एक साता अस्पतालमै बस्नुपर्ने जानकारी दिएको हो । 

मंसिर १० गते प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डाक्टर रमेशसिंह भण्डारीले  प्रधानमन्त्री ओलीलाई पहिलाकै अवस्थामा फर्किनको लागि अझै दुई साता लाग्ने जानकारी दिए । 

‘अहिलेको हिसावले हेर्ने हो भने अबको ७ दिनमा हामीले उहाँलाई यहाँबाट पठाउन सक्छौँ’, उनले भने, ‘उहाँले घाउलाई सहन सक्ने अवस्था रह्यो भने १० दिनपछि काममा फर्कन सक्नुहुन्छ ।’ कसैको समयमै घाउ निको हुने र कसैलाई समस्या पनि हुन सक्ने भन्दै उनले यही अवस्थामा सुधार हुँदै गयो भने प्रधानमन्त्री अबको दुई सातामा सामान्य अवस्थामा फर्किन सक्ने पनि बताए ।  

 एपेन्डिक्स फुटेपछि पेटमा संक्रमण फैलिएको बताउँदै डा भण्डारीले हाल संक्रमण हटिसकेको  जानकारी गराए । अहिले प्रधानमन्त्रीको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको अहिले पनि आइसीयूमा राखेर उपचार भइरहेको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले मिर्गाैला र एपेन्डिसाइटिसको अप्रेशन बाहेक कुनै पनि समस्या नभएको भन्दै मिर्गाैला प्रत्यारोपण गर्ने नगर्ने बारेमा निर्णय नभएको बताइन् ।

‘उहाँको अप्रेसन गरेकाले रक्तश्राव पनि हुने भएकाले धेरै रक्तश्राव नहोस् भनेर प्लेटलेस चढाइएको हो’, उनले भनिन्, ‘उपचारको बेलामा जे कुराको जरुरत पर्छ हामीले त्यही एक्सन लिन्छौँ । सबै विरामीको हकमा चिकित्सकले गर्ने यही हो ।’

यसैबीच उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको पनि बताएका छन् । 

सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप