शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरद पवारले कसरी अमित शाहको रणनीतिलाई विफल तुल्याए ?

बिहीबार, १२ मङ्सिर २०७६, १२ : ५०
बिहीबार, १२ मङ्सिर २०७६

नयाँ दिल्ली । भारतको राष्ट्रवादी कांग्रेसका नेता नवाब मलिकले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको राजीनामापछि टिप्पणी गरे– महाराष्ट्र राज्यका ‘चाणक्य’ शरद पवारले अन्य सबै चाणक्यलाई पराजित गर्नुभएको छ ।

महाराष्ट्रको राजनीतिमा चार दिन अघि आएको अप्रत्यासित राजनीतिक मोडको पटाक्षेप हुने क्रममा मंगलबार राष्ट्रवादी कांग्रेसलाई फुटाएर सरकार बनाउने भारतीय जनता पार्टीको प्रयास विफल भएको थियो ।
सर्वोच्च अदालतको आदेशअनुसार बुधबार विधानसभामा बहुमत परीक्षण हुनुपर्ने थियो तर त्यसअघि नै मुख्यमन्त्री देवेन्द्र फडणवीस र उपमुख्यमन्त्री अजित पवारले राजीनामा दिए । अन्ततः महाराष्ट्रमा गैरभाजपा सरकार बनाउने बाटो खुल्यो ।

नयाँ सरकारमा मुख्यमन्त्री पद शिवसेना प्रमुख उद्धव ठाकरेले सम्हाल्ने भए पनि जानकारहरु यो सम्पूर्ण घटनाक्रमको सबैभन्दा ठूलो विजेता शरद पवारलाई मान्छन् ।

अमित शाह नेतृत्वको भाजपा पहिलोपटक यतिधेरै सिट भएर पनि सत्ताबाट बाहिर पुगेको हो । यसअघि भाजपाले गोवा र हरियाणाजस्ता राज्यमा बहुमत नभए पनि सरकार बनाउन सफलता हासिल गरेको थियो । कर्नाटकमा पनि भाजपाले सरकार बनाउनका लागि कुनै कसर बाँकी राखेको थिएन ।

महाराष्ट्रमा अजित पवारलाई साथ लिएर एकाबिहानै देवेन्द्र फडणवीसलाई मुख्यमन्त्री पदको सपथ दिलाइएको थियो । तर शरद पवारको आक्रामकता र परिपक्वताले भाजपाको इच्छा तुहिएको थियो ।

हारेको बाजी कसरी जिते शरद पवारले ?
वरिष्ठ पत्रकार सुजाता आनन्दन आफ्नो पत्रकारिता जीवनमा यस्तो राजनीतिक खेल कहिल्यै नदेखेको बताउँछिन् । ‘कुनै पार्टीले आफूसँग बहुमत रहेपछि सरकार बनाउने दावी पेश गर्छ, यो खेलको पटाक्षेपपछि प्रष्ट भएको छ कि अजित पवारसँग १०–१२ विधायकमात्र थिए,’ उनले भनिन्, ‘पछि ती विधायक पनि साथ रहेनन्, शरद पवार आफ्ना ५४ विधायकमध्ये ५३ जनालाई आफ्नो पक्षमा ल्याए, अजित पवार एक जना बाहिर थिए, उनले पनि मंगलबार उपमुख्यमन्त्री पदबाट राजीनामा दिए ।’

शिवसेना, राष्ट्रवादी कांग्रेस र कांग्रेस पार्टीले आफ्ना विधायकलाई साथ राख्न सफल भएको उनको ठहर छ । यस खेलबाट भाजपालाई र देवेन्द्र फडणवीसलाई सबैभन्दा ठूलो नोक्सान भएको सुजाताको ठहर छ । अजित पवारले सुरक्षित खेल खेलेको उनको तर्क छ ।

भाजपा र राष्ट्रवादी कांग्रेसबीच तानातानको सिलसिला महाराष्ट्र चुनाव अघि नै भएको थियो । चुनाव प्रचार उत्कर्षमा रहेको बेला प्रवर्तन निर्देशनालय (ईडी)को टिमले शरद पवारका भतिजा अजित पवारविरुद्ध छापा मारिरहेको थियो । त्यसअघि अजित पवारले विधायक पदबाट राजीनामा दिएका थिए ।

महाराष्ट्रमा चुनाव प्रचारका क्रममा ईडीले राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवारविरुद्ध पनि आर्थिक अपचलनको मुद्दा दायर गरेको थियो । शरद पवारको उमेरसँगै राष्ट्रवादी कांग्रेस आफ्नो अन्त्यतिर पुगेको विश्लेषण गरिदैँ थियो । तर शरद पवारले महाराष्ट्र चुनावमा एक सयभन्दा बढी सभालाई सम्बोधन गरे । कांग्रेससँग गठबन्धन गरेर उनले १२५ टिकट हासिल गरे । कांग्रेसमा यसको विरोध पनि भयो ।

सुजाता भन्छिन्, ‘जब सोनिया गान्धीलाई कांग्रेसभित्र राष्ट्रवादी कांग्रेसलाई १२५ सिट दिएकोमा विरोध भइरहेको थाहा भयो, सोनियाले आफ्ना पार्टीका नेतालाई भनिन्– महाराष्ट्रमा शरद पवारको कदको कुनै नेता ल्याएर उभ्याऊ, अनि म मानौँला ।’

सोनियाले महाराष्ट्रको निर्वाचनमा शरद पवारमाथि पूर्ण भरोसा गरेको सुजाताको टिप्पणी छ । ‘शरद पवारले पनि आफ्नो १२५ सिटका साथसाथ कांग्रेसको भागमा परेका क्षेत्रमा पनि त्यति नै तत्परताले चुनाव प्रचार गरे,’ उनले भनिन्, ‘चुनावी नतिजा आयो जसमा राष्ट्रवादी कांग्रेसले ५४ र कांग्रेसले ४४ सिट जिते, भाजपाले १०५ र शिवसेनाले ५६ सिट हासिल गरे ।’

तीन पटक जोरी
सुजाताका अनुसार भाजपाले राष्ट्रवादी कांग्रेससँग तीन पटक जोरी खोजेको थियो, जो उसैलाई घातक बन्यो ।

उनी भन्छिन्, ‘चुनावअघि भाजपाले राष्ट्रवादी कांग्रेसका ठूला नेताहरुलाई भड्कायो, फेरि ईडीको मुद्दा दायर गरे, तेस्रो पटक परिवारमा विभाजन ल्याउने प्रयास गरे । पवार चुप लागेर बस्ने मान्छे थिएनन्, उनले संवैधानिक र कानुनी तरिकाबाट भाजपालाई परास्त गरे ।’

सुजाताका अनुसार शरद पवारको सफलताको पछाडि भाजपाको गल्ती पनि मुख्य कारण हो । भाजपाले धरातलीय यथार्थलाई बेवास्ता गरेर शिवसेनालाई आवश्यक सम्मान नदिएको उनको टिप्पणी छ ।
‘हामीले चुनाव परिणाममा कांग्रेस १०–१५ र राष्ट्रवादी कांग्रेस २०–२२ सिटभन्दा बढी जित्दैनन् भन्ने सोचेका थियौं, तर उनीहरुले त्योभन्दा धेरै सिट जिते, उनीहरुको भोट गैर हिन्दुत्वको थियो,’ उनले भनिन्, ‘जबकि भाजपा १०५ मा सीमित भएको थियो, उसले शिवसेनाको मागको सम्मान गर्नु पथ्र्यो ।’

वरिष्ठ पत्रकार गिरिश कुवेर पनि शरद पवारले राजनीतिक समझदारीपूर्वक यो गठबन्धन बनाउन सफलता पाएको बताउँछन् । ‘अमित शाह अरुणाचल प्रदेश, मिजोरम, सिक्किम र गोवाको हिसाबबाट महाराष्ट्रमा पनि सरकार बनाउन चाहिरहेका थिए,’ उनले भने, ‘अमित शाहले महाराष्ट्रलाई बुझ्न सकेनन्, आफूले जे चाह्यो त्यो गर्न सक्नु भन्ने मनसायले उनले बच्चाको जस्तो खेल खेलिरहेका थिए । महाराष्ट्रमा त्यस्तो चल्दैनथ्यो, किनकि यहाँ प्रतिरोधको राजनीति एक परम्परा रहिआएको छ ।’

गिरिश कुवेरका अनुसार यो घटनाक्रमको सबैभन्दा बढी फाइदा राष्ट्रवादी कांग्रेसलाई भयो र आगामी दिनमा पनि फाइदा हुनेछ ।

उनका अनुसार चुनावी नतिजापछि शरद पवार आफ्नो गाडीमा बारामतीतर्फ गइरहेको समयमा शिवसेनाका संजय राउतले फोन गरे, त्यतिबेला उनले राष्ट्रवादी कांग्रेस, शिवसेना र कांग्रेस मिलेर सरकार बनाउन सम्भव छ कि छैन भन्ने हिसाबले सामान्य कुरा गरेका थिए ।

‘पवार र राउतबीचको यस्तो चर्चापछि देवेन्द्र फडणवीसले सार्वजनिक रुपमै आगामी पाँच वर्ष भाजपाको मुख्यमन्त्री हुने दावी गरे । यही घटनाले अहिलेको गठबन्धनलाई एउटा धरातल निर्माण गरेको उनको तर्क छ । यसपछि पवार विस्तारै आफ्नो कद बढाउँदै लगे, उनले खुलेर कहिल्यै केही भनेनन् तर पुरा घटनाक्रमले आफ्नो पार्टीलाई नै फाइदा हुने उनले बताइरहे,’ गिरिश कुवेर भन्छन् ।
भाजपाका केही नेताले सरकार बनाउन भाजपालाई शरद पवारले साथ दिने बताउन थाले । तर शरद पवारको कयौं दशकको राजनीतिक इतिहास धर्मनिरपेक्षमा आधारित छ, उनलाई बुझ्न भाजपाले गल्ती गरेको गिरिशको तर्क छ ।

भाजपाको गल्ती औंल्याउँदै उनले भने, ‘उनीहरुले न आफ्नो मित्रलाई बुझ्न सके, न दुश्मनलाई । महाराष्ट्रमा दुईमात्र यस्ता नेता पाइन्छ जसलाई पुरा महाराष्ट्रको राम्रो ज्ञान होस्, एक शरद पवार र अर्को प्रमोद महाजन । महाराष्ट्रलाई बुझ्न भाजपा असफल रह्यो ।’

तीन पार्टीको सरकार कति स्थीर होला ? 
महाराष्ट्रमा बन्ने नयाँ सरकारका घटक दल राजनीतिक विचारधारा र लाभहानीको आधारमा एक अर्काको निकै टाढा छन् । शिवसेना राम मन्दिरदेखि लिएर अन्य मुद्दामा हिन्दुत्व भोटबैंक आफूतिर तान्ने कोशिस गर्दै आएको देखिन्छ ।

राष्ट्रवादी कांग्रेस विगतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई विदेशी मूलको महिला भनेर विरोध गर्दै आएको थियो । कांग्रेसको राजनीति भने धर्मनिरपेक्षताको मुद्दामा केन्द्रित थियो ।

विरोधाभाषी राजनीतिक महत्वाकांक्षा र विचारधारा भएका यी तीन दलको साझा सरकार कति दिन टिक्ला ? स्वाभाविक रुपमा प्रश्न उठ्छ । सरकार टिक्यो भने कसलाई फाइदा र कसलाई घाटा होला ?

पत्रकार गिरिशका अनुसार सरकार टिके पनि, ढले पनि शिवसेनालाई यसको घाटा हुने निश्चित छ । ‘शिवसेनाको जन्म नै कांग्रेसको विरोधबाट भएको हो, यो सरकारको भविष्यमाथि प्रश्न उठाउनु स्वाभाविक पनि हो,’ उनले भने, ‘किनकि यसमार्फत गैरमुस्लिम राजनीति गर्न थालिएको छ, यस्तोमा शिवसेनाले के गर्छ ?’

यसलाई छाड्ने हो भने पनि यही गठबन्धनको सरकारमा रहेर शिवसेनाले हिन्दुत्वको मुद्दामा राजनीति गर्न नसक्ने उनको भनाइ छ । ‘उद्धव ठाकरे बेलाबेलामा अयोध्या जान्छन्, उनले राम मन्दिर बनाउनु पर्छ भनेर खुलेर भन्दै आएका छन्,’ गिरिश भन्छन्, ‘आगामी दिनमा उनले यस्तो भन्न सक्छन् ? एउटै सरकारमा रहेर उनले यसो भनिरहँदा कांग्रेसले के गर्ला ? यस्तोमा कांग्रेसलाई महाराष्ट्र बाहिरबाट प्रश्न उठ्छ र कांग्रेससँग यस्ता प्रश्नको जवाफ पाउन मुस्किल हुनेछ ।’

यदि यो सरकार ढलेमा राष्ट्रवादी कांग्रेसलाई नै फाइदा हुने उनको तर्क छ । उनले भने, ‘सरकार ढलेको अवस्थामा भाजपाले आफूलाई सरकार गठनको मौका दिइनु पर्ने दावी गर्न सक्छ, त्यो बेला शिवसेना कता जान्छ भन्नेकुरा समयले नै बताउने छ । तर राष्ट्रवादी कांग्रेसलाई फाइदा हुने निश्चित छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप