शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७३ वर्षीय सांसद कर्ण सिंहदरबारमै सिक्दैछन् कम्प्युटर

बिहीबार, १२ मङ्सिर २०७६, ०९ : ०२
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । भनिन्छ, सिक्नलाई उमेरले छेक्दैन । बाँचुन्जेल मान्छेले केही न केही सिकिरहेकै हुन्छ । कतिपयले जीवनमा आइपर्ने आवश्यकतालाई पूर्ति गर्न सिकिरहेका हुन्छन् भने कतिपयले रहरले पनि शिक्षा लिइरहेका हुन्छन् ।

तर एक जना सांसद भने रहरले होइन, बाध्यताले सिक्न व्यस्त छन् ।  राजपाका नेतासमेत रहेका ७३ वर्षीय सङ्घीय सांसद लक्ष्मणलाल कर्ण अहिले कम्प्युटर सिक्न व्यस्त बनेका हुन् ।

कर्ण यतिखेर दैनिक रूपमा कम्प्युटरको तालिम लिइरहेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षकलाई बोलाएर दिनको एक घण्टादेखि दुई घण्टासम्म उनी तालिम लिइरहेका हुन्छन् । 

राजपा नेपालको संसदीय दलको आफ्नो कार्यकक्षमा उनी आफ्नो प्रशिक्षक अभयकान्त दत्तबाट कम्प्युटरको प्रशिक्षण लिइरहेका हुन्छन् । रातोपाटीकर्मी त्यहाँ पुग्दा प्रशिक्षक दत्तले इमेल कसरी खोल्ने, कसरी पठाउने, रिसिभ कसरी गर्ने, नेपाली कसरी लेख्ने, युनिकोडमा लेख्ने कि प्रितीमा लेख्ने, साइज कसरी बढाउने र घटाउने, सेभ कसरी गर्ने जस्ता कुरा सिकाइरहेका थिए ।

सांसद कर्णले बाध्यताका कारण आफूले यो उमेरमा कम्प्युटर पढ्नुपरेको बताए । ‘यो उमेरमा यसरी कम्प्युटर सिक्नु मेरो रहर होइन, बाध्यता हो’, उनले भने, ‘अहिले सबै कुरा प्रविधिमैत्री भइसकेको छ, मोबाइलमै सबैथोक हुन्छ तर म झोलाको भारी बोकेर हिँडिरहेको हुन्छु ।’

‘संसदका समितिहरुमा कुनै नियमावलीमा छलफल हुँदा अरू सांसदहरुले तुरुन्त ल्यापटप, ट्याब वा मोबाइलबाट हेर्नुहुन्छ तर आफूले झोलाबाट झिकेर पेज पल्टाइउनुपर्ने हुन्छ’, उनले आफ्नो वास्तविकता सुनाउँदै भने, ‘अहिले जे पनि डकुमेन्ट मेलमै आउँछ र त्यहीँबाट जवाफ दिनुपर्ने हुन्छ । त्यही भएर अन्त्यन्त आवश्यकता देखिएको हुनाले यो (कम्प्युटर) सिक्दैछु ।’

आफू कानुनको विद्यार्थी पनि भएको बताउँदै उनले अगाडि भने, ‘विभिन्न ऐन कानुनहरु हेर्नुपर्छ अध्ययन गर्नुपर्छ तर प्रविधिमैत्री नहुँदा समस्या हुने रहेछ । अहिलेको युगमा जसलाई कम्प्युटर र इन्टरनेटसम्बन्धी ज्ञान हुँदैन, त्योसँग केही नभएकाजस्तो हुने रहेछ ।  मलाई दैनिक रूपमै यस्तो फिल भयो कि यो संसारमा धेरै पछाडि छु जस्तो लाग्यो ।’

हुन त पर्सामा वकालत गर्दा सबभन्दा पहिले ८० हजार रुपैयाँमा उनले नै कम्प्युटर किनेका थिए तर उनले प्रयोग गरेनन् । ‘कुनै काम पर्दा छोराबाट वा अरू कुनै सहयोगीबाट गर्न लगाउँथे तर अहिलेको दैनिकी यस्तो भयो कि आफै कम्प्युटर नसिकी भएन’, उनले सुनाए ।

घरमा छोरा, छोरी, नाति, नातिना, बुहारी सबैले कम्प्युटर, इन्टरनेट प्रयोग गर्छन् तर उनीहरुबाट सिक्न नसकिएको उनले आफ्नो अनुभव सुनाए । ‘छोरा, नाति नातिनाबाट पनि सिक्ने प्रयास नगरेको होइन तर छोराले प्रशिक्षक जस्तो सिकाएन । चलाएको हेर्नु र यसैगरी गर्नु भन्थ्यो, यसरी मैले सिक्न सकिनँ । फेरि छोरालाई पनि यस्तो सिका, उस्तो सिका पनि भन्न नसकिने भएर नै छुट्टै प्रशिक्षक राखेर सिकिरहेको छु’, उनले भने ।

एक हप्तादेखि सिक्न सुरु गरेका उनले अहिले अलिअलि अङ्ग्रेजी टाइप जानेका छन् । इमेल खोलेर हेर्न जानेका छन् । यस्तै नेपाली (युनिकोड) टाइप गर्न पनि सिक्न थालेका छन् । उनका प्रशिक्षक दत्त भन्छन्, ‘लक्ष्यसहित कसैले सिक्न चाहे चाँडै सिक्नसक्छ, उहाँ (कर्ण) पाको उमेरको भए पनि कम्प्युटर सिक्ने जुनुन छ, त्यसैले उहाँमा चाँडै चाँडै इम्प्रुभ भइरहेको छ ।’

उनले अगाडि भने, ‘नेता मान्छे व्यस्त पनि भइरहनु हुन्छ ।  अफिस भएका कारणले मान्छेहरु आइरहन्छन् । त्यसले गर्दा अलिअलि डिस्टर्ब हुन्छ र तर केही न केही प्रत्येक दिन सिकाउने गरेको छु ।’

२०४० सालमा गठन भएका नेपाल सद्भावना पार्टीका संस्थापक सचिव रहेका सांसद कर्णले निरन्तर सद्भावना पार्टीमै रहेर काम गरेका थिए । पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सदस्य भएका कर्ण २०७४ मा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

उनी मधेसी समुदायबाट सो क्षेत्रबाट चुनाव जित्ने पहिलो व्यक्ति हुन् ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला उनी विनाविभागीय मन्त्री पनि भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप