बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : यसरी चोरी भयो बैंकको पैसा, अब स्वरोजगारको नाममा सिधै अनुदान नदिइने

बुधबार, ११ मङ्सिर २०७६, १९ : १४
बुधबार, ११ मङ्सिर २०७६

मंगलबार ‘एपेन्डिसाटिस’ तथा ‘पेरिटोनाइटिस’को शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार सुधार आएको अस्पतालले जनाएको छ । 

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । 
उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया भएपछि सघन उपचारकक्षमा निरन्तर निगरानीमा राखिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट भने हटाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पु¥याइएको थियो । स्वास्थ्य परिक्षणमा उनलाई ‘एपेन्डिसाइटिस’ हुनुका साथै पेटको संक्रमण समेत देखिएको थियो । त्यस लगत्तै विशेषज्ञ चिकित्सकको टोलीले ‘ल्यापरोटोमी’ र ‘एपोन्डेक्टोमी’ विधिबाट शल्यक्रिया गरेका थिए । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केहीदिन अस्पतालमै राखिने छ ।


बैंकको पैसा चोर्ने पक्राउ

बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं प्रहरी परिसर, टेकुले विभिन्न बैंकमा खाता खोली हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ चोर्ने ६ जनालाई पक्राउ गरेको जनाएको छ । जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेशेज आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले राष्ट्र बैंक र सम्बन्धित बैंकसँग छलफल गरी अनुसन्धानलाई अगाडी बढाएको थियो । अनुसन्धनका क्रममा किर्ते गरी रकम निकाल्दै गरेको अवस्थामा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । 

प्रहरीले विभिन्न बैंकहरुको चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, भिसा कार्ड, करिब ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु र १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । यो कार्यमा बैंकका कर्मचारीको समेत संलग्नता रहेको बताइएको छ । 

निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न/गराउन राजनीतिक दल लगायत आम मतदातामा अपिल गरेको छ । 

आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार राती १२ बजे देखि मौन अवधि सुरु भएको जानकारी गराउँदै सो अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आह्वान गरेको हो । 

आचार संहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार प्रशार लगायतका कार्य नगर्ने सचेत गराएको छ । 

सीमा बचाउ अभियान

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छिन् । 
मन्त्रालयमा सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सिमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन् । 
 लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको बताइन् । 

लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्र सहित नक्सा पनि हस्तान्तरण गरेका थिए । 

स्वरोजगारको नाममा सिधै अनुदान नदिने

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाममा सिधै अनुदान नदिने बताएका छन् । 

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताएका हुन् ।

उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताए । त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिए । 

चिलिमेको २५ प्रतिशत लाभांश

चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । 

चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताए । 

निजी मेडिकलको प्रसंग

मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन । मंगलबार राती अबेर सम्म शिक्षामन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप