केन्द्रीय संस्करण
समाचार टिप्पणी

आफ्नै ‘केमोथेरापी’ गर्नुपर्ने अवस्थामा भक्तपुर क्यान्सर अस्पताल

भ्रष्टाचार र राजनीतिक खिचातानीको मैदान बन्दै !

person explore access_timeमंसिर ११, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

क्यान्सरको रोगीहरुको हक हित, उपचार आदि विषयलाई कसरी व्यवथापन र सहजीकरण गर्न सकिन्छ भनेर छलफलपछि २०३९ सालमा तत्कालीन अधिराजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहले नेपाल अर्बुद रोग निवारण संस्था नामक एउटा एनजिओ दर्ता गराइन् ।

तत्कालीन समयमा यो एनजिओको उद्देश्य भनेको क्यान्सरका रोगीहरुका लागि उपचारमा सहजीकरण र सहयोग गर्ने राखिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाएर संस्थाले आफ्नो दैनिक काम गर्दै थियो । २०५५ सालमा संस्थाले आफू मातहत नै रहने गरी क्यान्सर रोगीहरुका लागि एउटा अस्पताल खोल्ने निर्णय गर्यो ।

२०५६ सालबाट क्यान्सर रोगीहरुका लागि भन्दै भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको आधा–आधा जग्गा समेटेर स्मृति क्यान्सर सेन्टर नामका अस्पताल बनाइयो । त्यसपछि संस्थाको नाम परिवर्तन गरी भक्तपुर क्यान्सर प्रोजेक्ट बनाइयो ।

तत्कालीन समयमा अस्पताल सञ्चालनका लागि व्यवस्थापन समितिमा जिल्ला विकास समितिका सदस्य, भक्तपुर नगरपालिकाका सदस्य, सिडियो कार्यालयका प्रतिनिधि, भक्तपुर अस्पतालका प्रतिनिधि आदि सदस्य रहने गरी व्यवस्थापन समिति बन्ने नियमावली बनाइयो । त्यही आधारमा यो अस्पतालको नेतृत्व नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको समेत अध्यक्ष रहने गरी समिति बनाउने गरियो ।

तर देशमा जारी माओवादी द्वन्द्वका कारण स्थानीय तहको निर्वाचनसमेत नहुने भएपछि जिल्ला विकास समिति र स्थानीय तहका सदस्य हट्दै गए । ती स्थानहरुमा नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्यहरु नै सदस्य रहने गरी काम सुरु हुन थाल्यो । पछि सिडियो कार्यालयका प्रतिनिधिलाई पनि हटाएर संस्थाले आफ्नो तर्फबाट मात्रै व्यवस्थापन समिति बनाउन थाल्यो र र मनोमानी गर्न थाल्यो ।

संस्थाको नामसमेत परिवर्तन गरी भक्तपुर क्यान्सर प्रोजेक्टबाट क्यान्सर केयर सेन्टर बनाइयो । र, हाललाई यो अस्पतालको नाम नै एनसिआरएस भक्तपुर क्यान्सर अस्पताल बनाइयो ।

नामको अगाडि एनसिआरएस अर्थात् नेपालीमा नेपाल अर्बुद रोग निवारण संस्था राख्नुको अर्थ उक्त अस्पतालको सम्पूर्ण स्वामित्व यही एनजिओकै हो भन्ने देखाउन खोजियो ।

यो अस्पतालललाई कहिलेकाहीँ नेपाल सरकारले भौतिक संरचना तथा सामान खरिदमा केही अनुदान दिएपछि दैनिक प्रशासनिक खर्च र तलब भत्ता यहीँबाट प्राप्त आम्दानीबाट हुने गरेको थियो । धेरै बिरामीले न्युनतम मूल्यमै उपचार गर्न पाउने भएकाले बिरामीको चाप बढ्नुका साथै आम्दानी पनि राम्रै हुन थाल्यो । त्यसपछि भने नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरुलाई यसबाट कसरी लाभ लिने भनेर चिन्ता बढ्न थाल्यो ।

जब अस्पताल व्यवस्थापन समितिका एनजिओको पदाधिकारी मात्रै हुन थाले, त्यसपछि उनीहरुकै मिलेमतोमा अस्पतालमा भ्रष्टाचारको सिलसिला सुरु भयो । ल्याब, फार्मेसी, एक्सरे र सिटिस्क्यान सेण्टर अस्पतालभित्रै राख्न दिने र त्यसबाट कमिसन खाने मात्रै होइन, एनजिओकै सदस्य तथा व्यवस्थापन समितिका मानिसहरु मिलेर अस्पतालभित्रै नाफाको ब्यापार गर्न थाले ।

व्यवस्थापन समितिले एउटै व्यक्तिबाट करोडौँ कमिशन खाने गरी नाफा हुने क्षेत्रहरु ल्याब, एक्सरे, फार्मेसी र सिटिस्क्यानमा आफ्नै मान्छेहरु ल्याए । बिगत ८ वर्षदेखि एउटै व्यक्तिलाई सिटिस्क्यानको मिसिन राख्ने र नाफा कमाउने ठेक्का दिइयो र तर ८ वर्षमा एकपटक पनि अस्पतालले पाउने भाडा भने बढेन ।

उनीहरुले ८ वर्षको समयमा १० करोडभन्दा बढी नाफा कमाएपनि मिसिन राखेबापत अस्पताललाई तिर्नुपर्ने भाडा भने वृद्धि नगरी व्यवस्थापन समितिले ठेकेदारबाट कमिशन खाए ।

अस्पतालमा सबैभन्दा बढी नाफा हुने भनेको ल्याब हो । ल्याबमा पनि उनीहरुले यस्तै हर्कत गरेका छन् । गैर नाफामूलक संस्था भनेपनि उनीहरुले नाममात्रैको टेण्डर गरेर ल्याब, फार्मेसी सञ्चालन गरिरहेका छन्, जसबाट वार्षिक करोडौँको कमिशन लिइरहेको ती पदाधिकारीमाथि आरोप लागिरहेको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य तथा व्यवस्थापन समितिका सदस्य विमल होडाले विगत ८ वर्षदेखि अस्पतालमा सफाइ कर्मचारी उपलब्ध गराइरहेका थिए । विभिन्न समयमा सफाइ कर्मचारीको तलब बढेको भएपनि उनले अस्पतालबाट लिने तलबको आधा मात्रै तलब दिने गरेको तथ्य बाहिर आएको छ ।

होडाले भरोसा नामक संस्था स्थापना गरी सोही संस्थामार्फत् ३५ जना सफाइ कर्मचारी अस्पतालका लागि उपलब्ध गराइरहेका थिए । पछिल्लो पटक अस्पतालबाट सफाइ कर्मचारीका लागि प्रतिव्यक्ति करिब २६ हजार तलब बुझिरहेका होडाले ती सफाइ कर्मचारीलाई भने मासिक १३ हजार मात्रै तलब दिने गरेका थिए ।

अहिलेकै मूल्यलाई आधार मान्ने हो भने वार्षिक १३ महिनाको दरले वार्षिक करिब ६० लाख रुपैयाँ होडाले कमिशनवापत लिइरहेका थिए ।

त्यसैगरी ५ वर्ष पुगेका कर्मचारीलाई स्थायी गर्ने भनिएपनि नगरेपछि र सामान खरिद, कर्मचारी नियुक्ती, कर्मचारीको सेवा सुविधा आदिको विषयमा पटकपटक विवाद भएपछि करीब एक वर्ष अगाडिदेखि अस्पतालमा कार्यरत कर्मचारीहरुले विरोध गर्न थाले ।

यसैबीच ठेक्कामा दिएको व्यक्तिले नै सिटिस्क्यान मेसिनमा राख्ने स्ल्याब खरिद गर्नुपर्नेमा ६० लाख पर्ने सामान अस्पताल आफैले खरिद गर्ने गरी व्यवस्थापन समितिले निर्णय गरी अस्पताललाई हानी पुराउन लागेको विषय बाहिर आएप्छि त्यसले झन् ठूलो रुप लियो । त्यसपछि कर्मचारीले अझै बढी बिरोध गर्न थाले ।

सफाइ कर्मचारी पनि अधिकांश भक्तपुरकै भएको तर सफाइ कर्मचारीको नाममा गएको आधा तलब होडाले खाइदिएको विषय बाहिर आएपछि भक्तपुरबासी पनि आन्दोलनमा उत्रन थाले ।

आफ्नै स्थानीय तहमा भएको अस्पतालमा भ्रष्टाचार भएको कुरा आउन थालेपछि भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापन समितिमाथि हस्तक्षेप गर्यो । गएको साउनको ३० गते नगरपालिकाले पुरानो व्यवस्थापन समिति खारेज गरी नगरपालिकाका मेयर सुनिल प्रजापतिले नयाँ व्यवस्थापन समिति बनाइदिए ।

यसै समयमा ‘भ्रष्टचारी व्यवस्थापन समिति’लाई प्रवेश निषेध भन्दै कर्मचारीहरुले नै आन्दोलन गर्न थाले ।

तर नगरपालिकाको निर्णयविरुद्ध नेपाल अर्बुद रोग निवारण संस्थाका प्रतिनिधि तथा व्यवस्थापन समितिका पूर्व सदस्यहरु यसविरुद्ध सर्वोच्च अदालत पुगे ।

भक्तपुर नगरपालिकाले अस्पताल व्यवस्थापन समिति हडप्नु कानुन विपरीत भएको भन्दै उनीहरु नयाँ व्यवस्थापन समिति खारेजको माग गर्दै सर्वोच्च पुगेका उनीहरुलाई सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले पुरानै समितिलाई काम गर्न दिनु भन्ने आदेश दिए ।

आदेशपछि पुरानै व्यवस्थापन समितिका व्यक्तिहरु अस्पताल प्रवेश गर्न लागे । तर अस्पतालका कर्मचारी तथा स्थानीय बासिन्दाले ‘भक्तपुरमा भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ती पदाधिकारी तथा सदस्यलाई अस्पताल प्रवेश गर्नै दिएनन् ।

सामुदायिक अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष अधिकांश स्थानमा स्थानीय तहको प्रमुख वा निजले तोकेको व्यक्ति रहने व्यवस्था छ । यसै अनुरुप भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले व्यवस्थापन समितिको अध्यक्ष आफै हुनुपर्ने भन्दै अड्डी लिए । समितिको उपाध्यक्ष नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष वा अन्य सदस्यलाई राख्न उनले निर्देशन दिए । तर संस्थाले प्रजापतिको प्रस्ताव पनि अस्वीकार गरिरहे ।

यहीबीचमा अस्पताल, भक्तपुर नगरपालिका र नेपाल अर्बुद रोग निवारण संस्थाबीच त्रिपक्षीय तनाव जारी नै थियो ।

यहीबीचमा भक्तपुर नपरपालिका र नेपाल अर्बुद रोग निवारण संस्थाबीचमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा वार्तासमेत चलिरहेको थियो ।

जब अस्पतालमा राजनीति छिर्यो ...

संस्था र भक्तपुर नगरपालिकाबीच वार्ताबाटै समाधान निकाल्ने भन्दै छलफल चलिरहेका बेला विभिन्न राजनीतिक दलले आफ्नो पावर प्राक्टिस गर्न खोजे । त्यही ‘शक्ति प्रदर्शन’ ले भक्तपुर अस्पताल परिसरमै झडपको स्थिति पैदा भयो । व्यवस्थापन समितिका सदस्य विमल होडालाई काँग्रेस नेता गगन थापाले साथ दिए भने संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठलाई नेपाल सांसद महेश बस्नेतले साथ दिए । त्यसपछि भक्तपुरको क्यान्सर अस्पतालमा त्रिपक्षीय राजनीति, अपनत्व आदि विषयमा खिचातानी सुरु भयो ।

यहीबीचमा मंसिर ८ गते आइतबार पुरानो व्यवस्थापन समितिले यसअघि हुँदै नभएको प्रमुख प्रशासकीय अधिकृतमा रुपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डाक्टर दिपेश धिताललाई नियुक्ति दिई पदवहाली गर्न पठाए ।

पदबहाली गर्न पठाउने क्रममा केही गुण्डासमेत लिएर उनीहरु अस्पताल पुगेपछि कर्मचारी र स्थानीयले नाराबाजी गरे । पदबहाली गर्न पुगेका नयाँ सिइओ र मेडिकल डाइरेक्टरको समूहले पुरानो मेडिकल डाइरेक्टरको नेमप्लेट फुटाउने तथा ढोका फोड्ने काम गरे ।

त्यसपछि आक्रोशित कर्मचारी र स्थानीय बासिन्दाको समूहले नयाँ सिइओ र मेडिकल डाइरेक्टरलाई उनीहरुको कोठामा नै थुनिदिए ।

एकैछनमा भक्तपुर अस्पताल बाहिर स्थानीयको भीड जम्मा भयो । कर्मचारी र स्थानीयले पुरानो व्यवस्थापन समितिका सदस्य विमल होडासहितका नयाँ सिइओ तथा मेडिमल डाइरेक्टरलाई हातपात गर्ने सम्भावना बढ्यो । त्यसपछि प्रहरीले उनीहरुलाई उद्धार गर्न खोज्यो ।

तर उद्धारकै क्रममा पनि स्थानीयको भीडले पुरानो व्यवस्थापन समितिका सदस्य विमल होडामाथि हातपात गरे ।

गगन थापा तथा काँग्रेसको साथ लिएर भक्तपुर आएको भन्दै होडा र महेश बस्नेतको नाम लिएर गुण्डासहित अस्पताल आएको भन्दै सिइओ रुपेश शिलाकारविरुद्ध उनीहरुले आक्रमणको प्रयास गरे । नेपाल मजदुर किसान पार्टीको बाहुल्य रहेको क्षेत्रमा अन्य पार्टीको गुण्डागर्दी नचल्ने भन्दै उनीहरुले आक्रमणको प्रयास गरे । त्यसपछि अस्पताल तनाबग्रस्त बन्यो र प्रहरीले सुरक्षा दिएर राख्नुपर्यो ।

सोमबार रातोपाटीको टोली अस्पताल परिसरमा पुग्दा त्यहाँ बिरामीको उल्लेख्य उपस्थिति थियो । साथमा स्थानीय बासिन्दाले पनि अस्पताललाई घेराउ गरेर बसेका थिए । नयाँ सिइओ तथा पुरानो व्यवस्थापन समितिका सदस्यहरु आएमा छिर्न नदिन उनीहरु तयार थिए । कोही कर्मचारी तथा बिरामीका आफन्त ‘भ्रष्टचारी पुरानो व्यवस्थापन समिति’विरुद्ध हस्ताक्षर संकलनमा व्यस्त थिए ।

पुरानो एउटा सामुदायिक अस्पताल यतिबेला राजनीतिक खिचातानी र स्वार्थ समूहको चङ्गुलमा फसेको छ । क्यान्सरका रोगीहरुका लागि काम गर्ने काठमाडौं उपत्यकाको पुरानो संस्था भक्तपुर क्यान्सर अस्पताल आँफैलाई ‘केमोथेरापी’ गर्नुपर्ने अवस्थामा पुगेको छ ।

पुरानो व्यवस्थापन भन्छ : अस्पताल हाम्रो हा, हामी चलाउँछौ

भक्तपुर क्यान्सर अस्पतालको सम्बनधमा भएको के हो भनी नेपाल अर्बुद रोग निवारण संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठसँग कुरा गर्दा उनले लडाईं ब्यवस्थापन समितिको अध्यक्षकै लागि मात्रै भएको जिकिर गरे । भक्तपुर क्यान्सर अस्पतालमा भएको के हो भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘अरु केही होइन । संस्थाका नाममा रहेको अस्पताललाई भक्तपुर नगरपालिकाले हत्याउन खोज्दा बढेको विवाद मात्रै हो ।’

‘स्थानीय तहमा रहेको अस्पतालको व्यवस्थापनमा आफू बस्न खोज्नु नाजायज हो र ?’ भन्ने रातोपाटीको अर्को प्रश्नमा उनले भने ‘यो अस्पताल १ सय शैयाको अस्पताल हो । एक सय शैयाको अस्पताल केन्द्रीय सरकारले हेर्छ । त्यसबाहेक यो अस्पताल विशिष्टिकृत अस्पताल हो । त्यसकारण यो अस्पताल स्थानीय तह वा नगरपालिका मातहत हुन सक्दैन र यसको व्यवस्थापनको जिम्मेवारी भक्तपुर नगरपालिकाको अधिकार क्षेत्र होइन ।’

यद्यपि पुरानो व्यवस्थापन समितिमा स्थानीय तह, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पनि सदस्य रहने व्यवस्थाबारे रातोपाटीको प्रश्नमा अध्यक्ष श्रेष्ठले ‘त्यो पहिलेकै कुरा’ रहेको बताए ।

उनले भने ‘अहिले पनि हामी स्थानीय तहलाई व्यवस्थापन समितिमै राखेर अगाडि बढ्न चाहन्छौँ । पहिले सुनिल प्रजापति आफै उपाध्यक्षमा थिए । अहिले मेयर भए भन्दैमा अध्यक्ष नै खोज्नु र अस्पताल नै हत्याउन खोज्नु त भएन नी ।’

समाधान कसरी त भन्ने रातोपाटीको प्रश्नमा कार्यवाहक अध्यक्ष श्रेष्ठले वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने बताए । उनले भने ‘हामी यसलाई वार्ताकै माध्यमबाट समस्याको समाधान गरौँ भन्ने चाहन्छौँ । तर भक्तपुर नगरपालिकाले गुण्डागर्दी सुरु गर्यो । २०–२५ जना मान्छे अस्पतालमा राखेर प्रवेश गर्न नै नदिने, कुटपीटि गर्ने भनेको त गुण्डागर्दी नै त हो नि । त्यसकारण पहिले मेयर ज्यूले गुण्डागर्दी छाड्नुपर्यो, वार्तामा बस्नु पर्यो र समाधान निकाल्नुपर्यो ।’

कर्मचारीले आग्रह गरेपछि हामीले व्यवस्थापन लिएका हौँ : सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका

यता, भक्तपुर नगरपालिकाले भने अस्पतालमा चरम भ्रष्टाचार र अनियमितता भएपछि कर्मचारीकै आग्रहमा व्यवस्थापनको जिम्मेवारी लिएको बताएको छ । भक्तपुर क्यान्सर अस्पतालमा दोहोरो व्यवस्थापन समिति खडा भएको र द्वन्द्व भएको सम्बन्धमा रातोपाटीले के भएको हो भनी सोध्दा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले ‘भक्तपुरमा भ्रष्टाचार नचल्ने’ बताए ।

क्यान्सर अस्पतालका नाममा एनजिओका पदाधिकारी र व्यवस्थापन समितिका सदस्यहरुले चरम भ्रष्टाचार गरेको भन्दै भक्तपुरमा कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने बताए । अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरुले नै गएको वर्ष नै नगरपालिकामा निवेदन दिएर व्यवस्थापनको जिम्मा लिइदिन आग्रह गरेबोजिम आफूहरुले व्यवस्थापनको जिम्मा लिएको प्रजापतिले बताए ।

उनले भने, ‘अस्पतालमा भ्रष्टाचार बढेको र दयनीय अवस्थामा पुगेको भन्दै गएको वर्ष नै अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरुले नगरपालिकामा निवेदन दिई आग्रह गर्नुभएको थियो । त्यसपछि बुझ्दा अस्पतालमा भ्रष्टाचार र अनियमितता भएको पाएपछि हामीले व्यवस्थापनको जिम्मेवारी लिएका हौँ ।’

तर नगरपालिकाको हस्तक्षेप गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले स्टे अर्डर दियो नि भन्ने रातोपाटीको प्रश्नमा अदालतको आदेशलाई आफूहरुले स्वीकार गरेको बताए । तर कर्मचारी तथा डाक्टरहरुको विद्रोहको कारण नै पुरानो व्यवस्थापन समिति अस्पतालमा आउन नसकेको प्रजापतिले बताए । उनले भने ‘आइतबार उनीहरु गुण्डा लिएर अस्पताल प्रवेश गरेका रहेछन् । तर त्यहीँ कार्यरत डाक्टर, कर्मचारी तथा स्थानीयले उनीहरुलाई त्यहाँ पदबहाली गर्न तथा प्रवेश गर्न नै दिएनन् ।’

अबको निकास के त भन्ने रातोपाटीको प्रश्नमा प्रजापति भन्छन्, ‘निकास भनेको वार्ता नै हो । भक्तपुर नगरपालिकाको जग्गामा रहेको सामुदायिक अस्पताल, भक्तपुर नगरपालिकाले सहयोग गरेको अस्पताल कुनै एनजिओको निजी हुन सक्दैन । त्यसकारण सबै पक्ष मिलेर यसको समाधान खोज्नुपर्छ । नगरपालिकालाई बाइपास गरेर अगाडि बढ्छु भनेर कसैले नसोच्दा हुन्छ ।’

भक्तपुर नगरपालिका तथा सरकारी अस्पताल भक्तपुर अस्पतालकै जग्गामा निर्मित अस्पताललाई आफ्नै सम्पत्ति हो भनेर एकलौटी गर्न खोज्ने नेपाल अर्बुद रोग निवारण संस्था र मेरो क्षेत्रमा चलेको अस्पतालको सम्पूर्ण अधिकार मेरै हुनुपर्छ भन्ने भक्तपुर नगरपालिकाको जिद्धिपना दुबै निकासको बाधक हुन् । अनि ठूला राजनीतिक दलका नेताहरुले आफ्नो पावर प्राक्टिस गर्ने थलो बनाउनु त झनै प्रत्युपादक बन्नेछ ।

अब भक्तपुर अस्पतालको समस्या समाधान गर्न सबै पक्ष एकजुट भइ वार्ताका माध्यमबाट समस्याको समाधान खोज्ने कि जुँगाको लडाईं जारी राख्ने ? क्यान्सर अस्पताल आफैलाई केमोथेरापी दिनुपर्ने अवस्थामा पुराउने कि अरुलाई उपचार दिने वातावरण बनाउने ? भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...