शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड हेलिकप्टर चढेको हामीलाई थाहा छैनः निर्वाचन आयोग

उपनिर्वाचनको तयारी पूरा
बुधबार, ११ मङ्सिर २०७६, १५ : १६
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचार प्रसारमा  लागि हिँडेको बारे औपचारिक जानकारी नभएको बताएको छ ।  

उपनिर्वाचनको  तयारीबारे जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताएका छन् । 

प्रचण्ड कास्कीलगायत उपचुनाव हुने क्षेत्रमा हेलिकप्टर चढेर पुगेकोबारे पत्रकारहरुले सोधेको जिज्ञासामा थपलियाले भने, ‘हामीलाई यसबारे औपचारिक रुपमा केही जानकारी आएको छैन । ४ वटा निर्वाचन क्षेत्रमा ठूला प्रकारका सवारी साधन भनौं, हेलिकोप्टर प्रयोग गरेर चुनाव प्रचार गर्नु आचारसंहिता विपरित हुन्छ । चुनाव प्रचारमा त्यसरी को व्यक्ति गएको हो थाहा नभइ कारवाही हुने कुरा हैन ।’ 

उनले आचारसंहिता कडाइका साथ पालना गर्न निर्वाचनमा सहभागी दलहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन आचारसंहिता सम्पूर्ण दलहरु मिलेर बनाएको भन्दै आफूले बनाएको आचार संहिता एक पटक पढ्न समेत आग्रह गरे । 

यस्तै उनले निर्वाचनसम्बन्धी विभिन्न १५ वटा उजुरी आयोगमा परेको जानकारी गराउँदै यसबारे पनि आयोगले कारवाही गर्ने जानकारी दिए । आज रातिदेखि मौन अवधी सुरु हुने भन्दै सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिन उम्मेदवार र मतदातालाई उनले आग्रह गरेका छन् । उनले भने, ‘आजराति १२ बजे देखि मौन अवधी सुरु हुँदैछ । सबैले आफ्नो इमान्दारिताको परिचय दिनुहोला । आफूले युट्युवमा राखेको, फेसबुकमा राखेको प्रचार सामग्री राति १२ बजेसम्म हटाउन आग्रह गर्दछु । त्यस्ता सामग्री नहटाएमा हामी प्रविधिको सहारा लिने अवस्थामा पुग्छौँ ।’

प्रमुख आयुक्त थपलियाले यस पटकको उपनिर्वाचनमा आचार सहिता पालना गर्न जिल्ला तहमा आचार संहिता अनुगमन समिति बनाएकोले धेरै समस्या नभएको बताएका छन् । 

निर्वाचनको सम्पूण तयारी पूरा 
पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । आज बेलुकासम्म सम्पूर्ण मतदान स्थल र केन्द्रमा निर्वाचन अधिकृत सहितको टोली र सुरक्षाकर्मी पुगिसक्ने उनले बताए । उनले भने–‘उपनिर्वाचन हुने ३७ जिल्लाका २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षाकर्मीहरु आवश्यक मतदानका सामग्री सहित आज साँझसम्म मतदान केन्द्रमा पुगीसक्नेछन् ।’

यो उपनिर्वचानमा ३७ जिल्लाका २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० पुरुष र अन्य दुई गरी ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्नेछन् । 

उपनिर्वाचनमा प्रतिनिधि सभातर्फ ११, प्रदेश सभातर्फ १५ र स्थानीय  सदस्यका लागि २० राजनीतिक दल प्रतिष्पर्धामा रहेको थपलियाले जानकारी दिए । उपनिर्वाचनमा प्रतिष्पर्धा गर्ने ३ सय ३३ उम्मेदवार मध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना गरी कूल २ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । 

यो निर्वाचनमा आयोगका कर्मचारीका साथै  मुख्य निर्वाचन अधिकृतको कार्यालय र अधिकृतको कार्यालयमा ३ सय ५४ जना कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २ हजार ६ सय ६८ कर्मचारी, २ हजार १६ जना स्वंयसेवक गरी ५ हजार ५४ जना खटिएका छन् । 

यस्तै मतदाता शिक्षाका लागि उपनिर्वाचन हुने १ सय ५५ वडामा २ जनाका दरले ३ सय १० जना खटाएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप