बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समाचार प्रभाव : ई–रिक्साका नाममा उपत्यकामा भित्र्याइएका ट्याम्पो नगरपालिकाको नियन्त्रणमा

बुधबार, ११ मङ्सिर २०७६, १० : ४४
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिकाले ई–रिक्साका नाममा भित्र्याइएको ट्याम्पो नियन्त्रणमा लिएको छ । ई–रिक्साको अनुमति लिएर आफूखुशी ट्याम्पो ल्याइ दर्ताबिना नै सञ्चालन भएको पाइएपछि चारवटा त्यस्ता ट्याम्पो नियन्त्रणमा लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

मंसिर ५ गते रातोपाटीले उपत्यकाबाट १५ वर्षअघि विस्थापित ट्याम्पो फेरि भित्रिएको तथ्य समेटेर समाचार प्रकाशित गरेको थियो ।


सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार ट्याम्पोका लागि नगरपालिकाले कुनै अनुमति दिएको छैन । अनुमति बेगर, दर्ताबिना नै ट्याम्पो सञ्चालन भएको पाइएपछि नगरप्रहरी परिचालन गरेर चारवटा ट्याम्पो नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका ट्याम्पोमा नम्बरसमेत राखिएको छैन भने चालकको अनुमतिपत्रसमेत नरहेको बताइएको छ ।

ज्ञवालीका अनुसार ती ट्याम्पो नगरपालिका कार्यालय हाताभित्र राखिएको छ । हालसम्म ट्याम्पो धनी सम्पर्कमा नआएको उनले बताए ।

उनले चितवन कार्यालय रहेको एनडी अटो लिङ्कलाई नगर कार्यपालिकाको ५२ औँ बैठकको निर्णयअनुसार ई–रिक्सा र अटो रिक्साका लागि अनुमति दिइएको बताए । नगरपालिकाले नियन्त्रणमा लिएको ट्याम्पोका लागि अनुमति नदिइएको र नगरपालिकामा दर्तासमेत नभएको उनले बताए ।

‘ई–रिक्साका नाममा ट्याम्पो सञ्चालन गरिएको मैले पनि सुनेँ, त्यसपछि के रहेछ भनेर बुझ्दा ती त इन्जिन भएका ट्याम्पो रहेछन्,’ रातोपाटीसँग उनले भने, ‘हामीले त इलेक्ट्रोनिक रिक्साका लागि अनुमति दिएका थियौँ ।’

उनले काठमाडौँ उपत्यकाबाट विस्थापित भइसकेका ट्याम्पो भित्र्याउने आफूहरुको योजना नरहेको पनि प्रष्ट पारे । ‘डेढ दशकअघि बल्लतल्ल उपत्यकाबाट विस्थापित भएको ट्याम्यो हामीले भित्र्याउने कुरै आउँदैन,’ उनले भने, ‘त्यो अधिकार हामीलाई छँदा पनि छैन, हामीले त ठेला गाडा, इलेक्ट्रोनिक रिक्सा, पाइडल रिक्साका लागि मात्र अनुमति दिन सक्छौं ।’

चाँगुनारायण नगरपालिकामा भने अझै ई–रिक्साका नाममा ट्याम्पो संचालन भइरहेको छ । सो नगरपालिकाले पनि एनडी अटो लिङ्कलाई नै ई–रिक्सा तथा अटो रिक्साका लागि अनुमति दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप