शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुँडिखेलको राजनीतिक र सामाजिक महत्त्व

मङ्गलबार, १० मङ्सिर २०७६, १६ : ०८
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ पहिलेको जस्तो स्वच्छ, सफा र सुन्दर सहरका रूपमा अब रहेन । मन्दिरै मन्दिरको यो सहर अहिले ठूलाठूला बिल्डिङ, सपिङ महल र क्रङ्क्रिटले भरिएको अवस्थामा छ । खुला आकास देखिने स्थान, स्वच्छ हावा पाइने स्थान अत्यन्तै न्यून हुँदै गएको छ । काठमाडौँभरीमा अलिकति खुला रहेको स्थान भनेको टुँडिखेल थियो । त्यो पनि अहिले निर्माण सामग्री थन्क्याउने स्थान, बसपार्क र अतिक्रमणको चपेटामा परेको छ । यही टुँडिखेलको संरक्षणका लागि काँग्रेस नेता नरहरि आचार्य निवासमा ‘टुँडिखेलको राजनीतिक र सामाजिक महत्त्व’ विषयमा भएको कार्यक्रमको सार सङ्क्षेप ः 

नरहरि आचार्य

 नेता नेपाली काँग्रेस 

 राजधानी काठमाडौँको मुटुमा रहेको टुँडिखेल पहिला जस्तो रहेन । पहिला कस्तो थियो र अहिले कस्तो भएको छ भनी खोज्ने हो भने एउटा टुँडिखेल ६ टुक्रा भएको छ । २०१८ सालदेखि टुँडिखेलको प्लटिङ सुरु भयो । अहिले आक्रमण भएको छ । यतिखेर खुलामञ्च पनि र सैनिक मञ्च पनि आक्रमणमा परेको छ । यसको सुरक्षा गर्न सकिएको छैन । 

टुँडिखेलको ऐतिहासिक तथ्य हेर्ने हो भने नेपाल राष्ट्र बनेदेखि नै राजनीतिक र सामाजिक घटनाको साक्षी बनेर बसिराखेको छ । एक प्रकारले टुँडिखेलले सबै हेरेको, देखेको र भोगेको छ । 

२०१८ सालसम्म टुँडिखेलमा खरीको रुखसहितको चौतारो थियो । त्यही चौतारामा सरकारी औपचारिक कार्यक्रम र महत्त्वपूर्ण घोषणाहरु हुन्थे । त्यस समयमा सैनिक मञ्च पनि बनेको थिएन । खुला मञ्च पनि बनेको थिएन । चन्द्र शमशेरले दासत्व मोचनको घोषणा पनि टुँडिखेल खरीको बोटबाट नै गरेका हुन् । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि १८–१९ सालतिर सैनिक मञ्च बनाएर खरीको बोटलाई हटाए । त्यसबेलादेखि सरकारी औपचारिक कार्यक्रम सैनिक मञ्चमा र जनताको कार्यक्रम खुलामञ्चमा हुन थालेका हुन् । 

यतिखेर टुँडिखेल बचाउ कार्यक्रम सुरु भएको छ । टुँडिखेलको भागवण्डा हुँदासम्म सबै मानिस चुपै लागेका थिए । अहिले अतिक्रमण भएर अति भएपछि सबैले मुख खोल्न थालेका छन् । ७० वर्ष पहिले टुँडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म विशाल मैदान थियो । 

फेरि टुँडिखेल काठमाडौँमा मात्रै सीमित रहेको थिएन । नेपाल राज्यको एक प्रकारले संस्कृति पनि टुँडिखेल बनेको थियो । धनकुटा, बन्दीपुर, पोखरा, पाल्पा लगायत सदरमुकामको समथर जमिन जतिलाई टुँडिखेल भन्ने चलन बस्यो । यति महत्त्वपूर्ण टुँडिखेलको विषयमा हामी चुपचाप कसरी रहन सक्छौँ ?

टुँडिखेलका विषयमा हामीले चरणबद्ध उपलब्धि हासिल गर्ने कार्यक्रम बनाउनु पर्छ । पहिलो चरणमा खुुलामञ्चलाई खुला गर्नुपर्यो । दोस्रो चरणमा अन्य अतिक्रमणलाई पनि ठाउँमा राख्न प¥यो । हामीले बुझ्नुपर्ने के हो भने टुँडिखेललाई टुक्र्याउने र बनाउने काम पञ्चायतकालमा भयो । अहिलेको भद्रगोल गराउने काम सबै दलको सरकार र गणतन्त्र आएपछि भयो । त्यसैले पनि यसमा काँग्रेसको बढी दायित्व छ । काँग्रेसले नै  अग्रसरता लिनुपर्छ । 

ध्यानगोविन्द रञ्जीत, काँग्रेस केन्द्रीय सदस्य 
हामीले भोगेका, हामीले गरेका कार्यहरु अहिले आइरहेको छ । सबै काठमाडौँबासीले गर्नुपर्ने काम तर काठमाडौँबासीले नेतृत्व नपाउने अवस्था छ । व्यवस्था आन्दोलन, अन्डरग्राउन्ड सबै काठमाडौँबासीले गर्नुपर्ने, भाषण गर्नुपर्ने मञ्च बनाउनुपर्ने काठमाडौँवासीले, अनि भाषण दिन काठमाडौँबासी लालायित छैन समस्या यसैमा छ । 
काठमाडौँ यसबाट कुण्ठित भएर पछाडि परेको छ । 

२०१७ सालको विरोध शैलाजा आचार्यले गर्नुभएको पनि मेरै नेतृत्वमा गरेको भनेर मुद्दा छिनिदियो । म शैलजाहरु भन्दा  अगाडि नै जेल परिसकेको थिएँ । जेलबाट फर्केर आउँदा त टुँडिखेलमा बार लगाइसकेको थियो । खरीको बोटमा शैलजाहरुले भाषण गरेको भनेर खरीको बोट नै सिध्याए । त्यही खरीको बोट अगाडि रेलको डब्बा थियो । राणाजीहरु घुम्ने गर्थे । धरहराबाट ठूलो सिठी बजाएपछि सैनिकहरु सबै टुँडिखेलमा जम्मा हुन्थे । 

२०१७ सालको घटनापछि काठमाडौँबासीलाई ठूलो घात प¥यो । विरोध गर्नै नसक्ने अवस्था बन्यो । यस किसिमले टर्चर खाएका मान्छे हौँ हामी । बाग्मती, विष्णुमती अकुपाई गरेर खोला ओगट्दा पनि हामी सहेर नै बसेका छौँ । पछिल्लो समय काठमाडौँमा पैसा पाएपछि जे पनि गर्न सकिने अवस्था भएको छ ।

तर अहिले आएर यहाँका स्थानीय बासिन्दाका आँखा खुलेको जस्तो भएको छ । यहाँका नदीनाला ताथा टुँडिखेल अतिक्रमण प्रति विरोधका आवाज आउन थालेका छन् । 
तलेजुमा सांस्कृति अनुरूप पूजाआजा हुन्थ्यो । २०६४ सालपछि नेकपाको सरकारले बलिदिने पूजा गर्ने कामलाई हटायो । त्यसपछि यहाँको जनताका आँखा खुले । संस्कृति, संस्कारमा जागरण पनि त्यसपछि नै अएको हो । हाम्रो सभ्यता, संस्कृति गुठीमाथि यही नेकपा सरकारले हस्तक्षेप गर्यो । काठमाडौँका जनता उठे र सरकार पनि झुक्न बाध्य भयो ।

अहिले आएर काठमाडौँ महानगरपालिका पैसा खाने ठाउँ मात्र भयो । यसले जनताका पक्षमा र जनचेतना जगाउने आउने काम गर्ने सकेन । म सुन्धारामा नुहाउँथे, भद्रकालीमा खेल्थँे, सिंहदबारमा दूध, तरकारी पुर्याएर घर जाने गर्थें । म सांसद भएको कालखण्डमा पनि सिंहदरबारसम्म हिँडेरै गएँ । आफू केटाकेटी हुँदा खेलेको ठाउँ । नारायणहिटी, तीनधारामा पनि खुला जमिन थियो । त्यहाँ पनि संरक्षण गर्ने कोही छैनन् भनेर हेपेर त्यो पनि खाइदिए । 

टुँडिखेलका विषयमा हामीले जे गर्न खोजेका छौँ, त्यसमा सबैको साथ हुन्छ नै । खुला सार्वजनिक जग्गाको अतिक्रमणप्रति जनतामा आक्रोश छ, सबै मिलेर काम गरौँ । 

भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री 
यो टुँडिखेल अभियान सुरु हुनुभन्दा अगाडि काठमाडौँ महानगरपालिकाले जलेश्वर स्वच्छन्द प्रालिसँग बागबजारको बसपार्कमा रहेको जग्गामा बिजनेस कम्प्लेस (काठमाडौँ भ्युटावर) बनाउने सम्झौता गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र र काठमाडौँको टुँडिखेल वरपर ठूलो बिल्डिङ बन्न हुँदैन भनेर अभियान चलाएँ । जनताले बस पार्कका लागि भनेर दिएको जग्गामा नगरपालिकाले दुरुपयोग गरेपछि मैले विरोध गर्नै प¥यो । अहिले त्यो बसपार्कलाई टुँडिखेलमा सारिएको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने भन्ने उनीहरुको सम्झौता थियो । तर ५ वर्ष वितिसक्यो, संरचनासमेत बनेको छैन । खुलामञ्चमा बसपार्क सार्ने काम मात्र भएन, त्यहाँ ठेकेदार नै लगाएर पसल राख्न भाडामा दिन थाले । यो अवस्था देखेपछि सबै स्थानीयबासी मिलेर विरोध ग¥यौँ । त्यो विरोध प्रधानमन्त्रीसमक्ष पुर्याएपछि  मात्र भत्काइयो । 
टुँडिखेल वरपर पहिले रहेका बिल्डिङ, दरबार हाई स्कुल, वीर अस्पताल, सैनिक अस्पताल, सेनाको पुरानो मुख्यालय यी सबै तीनतले थिए । 
हामी सानो छँदा फुटबल, कुस्ती, क्रिकेट लगायत टुँडिखेलमै खेल्यौँ । घरमा झगडा हुँदा आनन्दसँग बस्ने ठाउँ पनि टुँडिखेल थियो । टुँडिखेल मल्लकालको इतिहासमा पहिलेको भूभाग गङ्गाला अस्पतालको मैदानदेखि त्रिपुरेश्वरसम्म रहेछ । समय कालमा रानीको नाममा टुँडिखेलको बीचभागमा रानी पोखरी बन्यो । पछि शाहा–राणको शासन कालमा टुँडिखेलको खुला मैदानमा शीतलनिवास, सिंहदरबार, केशर महल, बहादुर भवन, शङ्कर महल, फोहोरा दरबार, लाल दरबार, बाग दरबार हुँदै पूर्वतर्फ बागमती पश्चिम तर्फ विष्णुमती र बीचमा टुकुचाको मैदान लगायत स्थानमा करिब ४, ५ सय रोपनीमा यी सबै दरबार बने । 
२००७ सालको क्रान्तिपछि भएको टुँडिखेल भनेको पनि रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म थियो । टुँडिखेलमा कुनै किसिमको घेराउ, बार थिएन । पछि राजा महेन्द्रले अञ्चलाधीश विश्वमणि आचार्यलाई टुँडिखेलको जिम्मा दिएपछि टुँडिखेललाई टुक्रा पारेर रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च, सहिदगेट, सैनिक सचिवालय, दशरथ रङ्गशाला बनाएर टुँडिखेलको अवस्था यो भएको छ । 
हाम्रो अभियान टुँडिखेलको सांस्कृतिक, धार्मिक र वातावरण बचाउने आन्दोलन अघि बढाएका छौँ । टुँडिखेल काठमाडौँको पानी रिचार्ज हुने ठाउँ हो । म रक्षा मन्त्री भएपछि जनताको गुनासो सैनिक उच्च तहलाई भने । प्राकृतिक विपद्को समयमा सेनाले रेस्क्यु गरेर ल्याएर राख्ने ठाउँ यही टुँडिखेल हो । यसको यस किसिमबाट अतिक्रमण हँुदै जाने हो भने अवस्था के हुन्छ ? संरक्षण सेनाले गर्दा हुन्छ तर प्रयोग पब्लिकले गर्न पाउनु पर्छ ।
२०७० को संविधानसभामा निर्वाचित भएपछि काठमाडौँ उपत्यका हामी जनप्रतिनिधिहरुले सार्वजनिक जमिनको संरक्षण, खानेपानी, ढल, वातावरण, ऊर्जा र सडकको विषयमा छलफल गरेर रिपोर्ट बनाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थियौँ । त्यसपछि हामीले नारायण चौर बनायौँ । काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक ठाउँमा त्यस्तै चौर बनाउन हाम्रो अभियान लागिरहेको छ । यस किसिमको अभियान अन्य जिल्लामा पनि जाओस् भन्ने हाम्रो चाहना छ । अहिले दैनिकजसो टुँडिखेलका बारेमा कार्यक्रमहरु भइराखेका छन् । जनता जागरुक भएका छन् चासो लिएका छन् ।

कपिल श्रेष्ठ, प्राध्यापक 
आज अत्यन्तै सान्दर्भिक र मलाई मुटु बिज्ने विषय टुँडिखेलको कुरा गर्दैछौँ । मरो व्यक्तित्व विकास, शारीरिक विकास, अन्योन्याश्रित सम्बन्ध भएको ठाउँ हो टुँडिखेल । मेरो घर टेवहाल नयाँ सडकको बीचमा छ । टुँडिखेलले मेरो व्यक्तित्वमा ५० प्रतिशत योगदान दिएको छ र ५० प्रतिशत विश्वविद्यालय, मानव अधिकार कर्मीका रूपमा छ । टुँडिखेललाई मैले हेरिरहेको छु । पहिला पहिला हामीलाई राति टुँडिखेलमा किचकन्या आउँछन् भन्थे । दिनभर सङ्कटा र एनआरटीबाट फुटबल, क्रिकेट खेल्नेगर्थें । राति १२ बजेतिर ती किचकन्या कतिबेला आउलान् ? कस्तो होला ? भनेर हामी ढुकेर बस्थ्यौं । टुँडिखेलमा त्यतिखेर सुरुङ पनि थियो । सायद रणनीतिक रूपले बनाइएको थियो कि ? अहिले छ, छैन थहा छैन ।

टुँडिखेलबाट मैले सिकेको फेयर प्ले । खेलकुदको पहिलो प्रिन्सिपल हो । स्पोर्टसम्यानसिप हारेपछि हारलाई स्वीकार गर्ने, धेरै महत्त्वाकाङ्क्षी नहुने । संसारमा कही पनि टुँडिखेललाई बार लगाउने चलन छैन 
टुँडिखेल आर्मीबाट पनि अतिक्रमण भयो । आर्मीलाई पुग्ने त्यो ठाउँ होइन । आर्मीलाई अझ ठूलो र फराकिलो ठाउँमा राख्नुपथ्र्यो । पञ्चायत कालमा सायद जनतालाई देखाउन राखिएको थियो । तर त्यसपछि पनि हामीले यसको व्यवस्था किन गर्न सकेनौँ ? । अहिले नेपाल एयर लाइन्सको भवन भएको ठाउँमा पहिला आर्मी बस्थे, २ तले घर थियो । 
टुँडिखेलको खरीको बोट २००७ सालपछि नेताहरुले भाषण गर्ने ठाउँ थियो । त्यो खरीको बोटमा हामी लुकामारी खेल्थ्यौँ । 

दोस्रो विश्व युद्धमा भिक्टोरियाक्रस पाएका सेनाहरुको ५, ६ वटा सालिक थिए । भावनात्मक सम्बन्ध भएको ठाउँ हो त्यो । हाम्रा जति पनि खेलाडी भए डिकबहादुर, बैकुण्ठ मानन्धर, अच्युत खरेल सबै टुँडिखेलका उत्पादन हुन् । टुँडिखेल सामाजिक, सांस्कृतिक, खेलकुद विकास लगायत अरू धेरै कुराको संरक्षण र उत्पादन गर्ने ठाउँ हो । यो नेपाल मण्डल सभ्यतामाथिको अतिक्रमण  हो । यसलाई बचाउन लागिपर्नुपर्छ । यो सारा नेपालीको सम्पित्तिको पहिचान हो ।

विजय श्रेष्ठ 
संयोजक, अकुपाई टुँडिखेल 

हाम्रो नियत सफा छ । हामी सत्यका लागि लाग्ने हो । हाम्रो लक्ष्य परापूर्वकालदेखि रहेको टुँडिखेललाई कुनै पनि हालतमा बचाउँछौँ । विशाल टुँडिखेल हाम्रो मुटु र फोक्सो हो । यसमा ठूलो सानो भन्ने छैन ।
सबैभन्दा पहिला यसको संरक्षण गर्नुपर्ने दायित्व सरकारको हो । यसलाई हामीले विरोधका रूपमा होइन, अभियानका रूपमा अघि बढाएका छौँ । यसलाई साङ्केतिक रूपमा गलत भयो, सच्याउनु प¥यो भनिरहेका हौँ । तत्काल हामी जे गर्न सक्छौँ गर्दै जाऊँ । दीर्घकालीन रूपमा कसरी गर्ने भन्ने पनि गर्दैजाऔँ । यसले गर्दा देशमा गणतन्त्र आए पनि सर्वसाधारणका लागि केही पनि आएको छैन जस्तो भयो । जुनसुकै सरकार आए पनि गलत भइराखेको छ । सधैँ पिल्सिएर बसेर भएन । 

वीरेन्द्रभक्त श्रेष्ठ, नेता 
मलाई आज खुसी लागेको अकुपाई टुँडिखेलको कार्यक्रम बिहान सहभागी हुन पाएको थिएँ । अकुपाई टुँडिखेल अभियानले आफूलाई विस्तार गरेको देखेँ । गएको हप्ता वनस्पतिविदलाई ल्याएर खरीको बोट रोपियो, यसले राम्रो सन्देश दियो । अकुपाई टुँडिखेललाई सहयोग गर्ने, एक्यबद्धता जनाउने, त्यसबाट राजनीतिक लाभ वा नेतृत्व लिने कुरा होइन । उनीहरुले गरिरहेको कुरालाई हामीले साथ दिने हो । गएको ३, ४ महिना अगाडि गुठी विधेयकविरुद्ध मण्डलामा जुन कार्यक्रम भयो त्यो कार्यक्रमले विशेषगरी काठमाडौँका जनतालाई धेरै झकझक्याएको छ । हिजोको सम्पदामाथिको चेतनामा ज्यादै वृद्धि भएको छ । 
अकुपाई टुँडिखेलको जुन विजारोपण छ, मण्डलामा भएको आन्दोलनलाई हामीले विर्सनु हुँदैन । त्यसको ठूलो हात छ । अकुपाई टुँडिखेलको विषयमा मैले भीमसेनदास प्रधानसँग पनि कुरा गरेँ । उहाँ लाग्नै पर्ने

ठाउँले पनि बन्यो । संयोजक विजयलाई चिनेको छैन तर पनि साथ दिऔँ भनेँ ।
काठमाडौँ महानगर पालिकाको मेयर जुन पायौँ त्यो हाम्रो लागि दुर्भाग्य भयो । उनमा सम्पदाको चेतना पटक्कै नभएको मानिस परेछन् । सम्पदाप्रति चेतना नभएको हुँनाले उनको विरोध गर्नासाथै राजनीतीकरण भयो भन्ने गर्छन् उनी । उनले व्यापारीकरण गर्दा हामी चुप लागेर सुनिरहनु पर्ने ? 

रानीपोखरीमा कफीसप खोल्ने भने, त्यसमा पनि हामी चुप लागेर बसिदिनुपर्ने ? अहिले यो टुँडिखेलको विषयमा पनि काँग्रेस नेकपामा विभाज ल्याउने काम मेयरले नै गरिराखेका छन् । 
हामीलाई थाहा छ, माफियाको पहुँच काँग्रेसभित्र पनि त्यतिनै पसेको छ र कम्युनिस्टभित्र पनि त्यति नै पसेको छ । माफियाको चङ्गुलमा परे भने दुवैथरी एकै हुन्छन् । हामीले लड्नु परेको काँग्रेस कम्युनिस्टको विरुद्ध होइन, हामीले लड्नु परेको छ ती माफियाका विरुद्धमा । हामीले रुचाएका नेता पनि त्यस त्यो माफियाका चङ्गुलमा पर्दा विरोध गर्न अप््यारो पर्ने हुन्छ । हाम्रा एजेन्डामा त्यो मानेको व्यक्ति माफियाकोमा परेको छ भने विरोध गर्न सक्नुपर्छ ।

२०१७ सालमा राजा महेन्द्रले कालो झण्डा खाएको ठाऊँ हो टुँडिखेल । त्यहाँ रहेको खरीको बोटमा विरोधको कार्यक्रम हुन्थ्यो । खरिकोबोट त्यहाँबाट मेटाउन राजा महेन्द्रको पूर्वाग्रह छ । सैनिक मञ्चमा रहेको सिपाहीको स्ट्याचुमामा २०१८ साल अर्राष्ट्रिय तत्वहरुले चलाएको युद्धमा वीरगति प्राप्त गरेको सम्झनामा भनेर राखेको छ । त्यस समयमा काँग्रेसले हिट् एन्ड रन चलाएको थियो । यस्ता इतिहासहरुमा टुँडिखेल साक्षी छन् ।

रामचन्द्र घिमिरे, काँग्रेस सदस्य, काठमाडौँ
 यतिखेर टुँडिखेलको विषयमा दैनिकजसो नयाँ नयाँ तथ्यहरु बाहिर आइराखेका छन् । धेरै पुरानो समय नपुगे पनि पञ्चायत काल र राजा महेन्द्रको कू दृष्टि टुँडिखेलमा परेको विभिन्न माध्यमको पढाइले प्रमाणित गर्छ । रानी रत्नको नाममा पार्क, पुरानो एैतिहासिक चौतारो मास्ने काम राजा महेन्द्रकै समयमा भएको भयो । २०४६ सालको परिवर्तनपछि पनि के गरियो भन्ने प्रश्न हाम्रासामु प्रश्नका रूपमा छ । 
यतिखेर बसपार्क टुँडिखेलमा सारिएको छ । नगरपालिका पनि टुँडिखेल मास्न उद्यत देखियो । सेनाको अतिक्रमण पार्टी प्यालेससम्म बनाएर गरेको छ । अहिले टुँडिखेल निर्माण सामान जम्मा गर्ने स्थान बनेको छ । यो सबै गर्न कसले दिएको छ ? जसले जे गरे पनि हुने हो कि ? यसको रेखदेख, नियमन कानुन केही छ कि ? काँग्रेसको स्पष्ट एउटै दृष्टिकोण बन्नुपर्छ अर्कोतर्फ सबैसँग सामूहिक रूपको टुँडिखेलप्रतिको दृष्टिकोण पनि देखिनुपर्छ । यतिखेर उठिरहेको जनताको विरोधले गति लिँदैछ । हामी सबै आजैबाट लागौँ, आफ्नो दृष्टिकोण स्पष्ट बनाऔँ ।
अर्को कुरा राज्यसँग रहेको जमिन कुनै पनि संस्था बनाएर लिने र दिने निर्माण गर्ने कुरा घातक रहेछ भन्ने अहिले भइरहेको बसपार्क र टुँडिखेलले देखाएको छ । सैनिक मञ्च सेनाको क्याप्चरमा र खुलामञ्च नगरपालिका र ठेकेदारको क्याप्चरमा रहेको अवस्था छ । यसमा हामी सबै सजग, सक्रिय र आन्दोलित रहन जरुरी छ ।

ई. सुशन वैद्य 
अकुपाई टुँडिखेलका अभियन्ता

आदरणीय बौद्धिक नेता नरहरि आचार्यज्यूले हाम्रो विषयमा चासो लिएर हामी यहाँ आएर बोल्न पाउँदा उहाँप्रति आभार व्यक्त गर्दछु । कतिपय सन्दर्भमा अभियन्ताहरुलाई नचाहिने काममा समय खर्च गरिरहेका छौँ कि भन्ने पनि लाग्छ । फेरि कतिपय अवस्थामा हामीलाई मात्रै चाहिने, जनतालाई चाहिने रहेनछ कि भन्ने पनि लाग्छ । यस्तो कार्यक्रमले हामीमा उत्साह भरेको हुन्छ ।
हामीले ३ महिने कार्यक्रम घोषणा गरेका छौँ, त्यसपछि कडा किसिमको कार्यक्रम लिएर आउने छौं ।

गणपतिलाल श्रेष्ठ
अकुपाइ टुँडिखेलका अभियन्ता

सम्पदा, संस्कृतिलाई माया गर्नुपर्छ भनेर १६ वर्षको उमेरदेखि लागिरहेको छु । अहिलेको मुख्य विषयमा अतिक्रमण जुन किसिमले बढेको छ । त्यसका विरुद्ध हामीले सङ्घर्ष गरिरहेका छौँ, लडिरहेका छौँ । देशभरकै खुला र सार्वजनिक ठाउँहरु बचाउनुपर्छ भनेर देशकै प्रतिनिधित्व गराउने हिसाबले हामीले अकुपाई टुँडिखेल अभियान चलाएका छौँ । जनप्रतिनिधिहरु जोसँग अधिकार छ, काठमाडौं महानगरपालिका सांसदहरुलाई अधिकार बोध गराउन पर्यो भनेर जनतादेखि जनप्रतिनिधिसम्म अभियान सञ्चालन गरेका छौँ । अभियान सकारात्मक रूपमा आइ पनि रहेको छ । हाम्रो युवाहरुको समूह छ, अन्तिम समयसम्म हामी लागि नै रहनेछौं । खुलामञ्चमा ५२ वटा सटर निकालेपछि हामी लड्यौं । काठमाडौँ महानगरपालिकाका मेयर संस्कृति, सम्पदाको केन्द्र लगनजस्तो ठाउँको हुनुहुन्छ । उहाँसँग पहिलेदेखि सँगै काम गरेको पनि हो । अहिले २०७२ सालको भूकम्पपछि उहाँले आफूले गर्ने अहोभाग्य पाएर पनि अगाडि बढ्न नसकेको दुःखद् अवस्था हो ।
हामी यो बचाउनुपर्छ । भोलिका पुस्तालाई दिने कुरा यही हो भनेर लागेका छौँ । हामी हेरिटेजको निर्माणसँग सबै कुरालाई पूर्ण गराउन लागि रहेका छौँ । अकुपाई टुँडिखेलले शनिबार बौद्धिक भेलाहरुको अभियान चलाई रहेका छौँ । हामीले जनप्रतिनिधिलाई उत्तरदायित्व बोध गराउने र जनतामा पनि आफ्नो अधिकारसँगै दायित्व बोध पनि गराउने किसिमले काम गरिरहेका छौँ । हामीले प्रतिकका रूपमा खरिको बोट रोपेका छौँ । त्यसको संरक्षणमा पनि हामी लागेका छौँ । 
काठमाडौँ मेयरले यसलाई राजनीतिक रङ्ग दिँदै बोल्दै हिँडिरहनुभएको अवस्था छ । तर हामी कुनै राजनीति रूपमा यो काम गरिरहेका छैनौँ । उहाँले ३ महिनामा खाली गराउने भन्नुभएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिँदै धन्यवाद भनेका छौँ । घरदैलो अभियान हामी चलाउँदै छौँ । चुनावको समयमा धेरै सहभागी हुनुहुन्थ्यो, भीमसेनदास प्रधान, वीरेन्द्रभक्त श्रेष्ठ, ध्यानगोविन्द रञ्जित लागिरहनु भएको छ । यसैगरी जीवनराम श्रेष्ठ, केशव स्थापितहरु जुन किसिमले सञ्चार माध्यममा बोलिरहनुभएको छ, यसमा बाध्नका लागि उहाँहरु समक्ष हामी बाजागाजासहित जाँदैछौँ । यो ३ महिनामा हामीले यसलाई खुला गर्न सक्नु पर्छ । हामीलाई बार लगाएको पनि चित्त बुझ्दैन । निर्माण सामग्री राखेकोमा भवनहरु पूरा भइसकेका छन् । बसपार्कको सम्बन्धमा हाम्रो भ्युटावर बन्न हँुदैन भन्ने मुद्दा लिएर नै हामी अघि बढिरहेका छौँ । अहिले काठमाडौँ महानगरपालिकाको बदमासी भयो । भ्युटावर १२ तला बनाउने भन्ने भएकोमा समयमा गर्न नसकेकाले कारवाही हुनुपर्नेमा समय थप र तला थपेर २२ गरेर नगरपालिकाले जालसाजी गरेको देखियो । जुन प्रयोजनले त्यो जग्गा जमिन दिइएको थियो, त्यही प्रयोग हुनु पर्नेमा भूकम्पपछि थप खुला ठाउँ बनाउनुपर्नेमा यस्तो काम गर्दा अब हामी बस पार्कलाई बसपार्ककै रूपमा रहनुपर्ने छ । हामी ३ महिनामा यो मिसन पूरा गर्नेछौँ । सरकार लालपुर्जा भएको जनताको घरमा डोजर चलाउन सक्नेले देशको मुहार फेर्नलाई यो काम गर्न जे पनि गर्न सक्नु पर्छ ।

सञ्जय अधिकारी
अकुपाई टुँडिखेलका अभियन्ता

कोही प्रकृतिप्रेमी, कोही सम्पदाप्रेमी, कोही इतिहासप्रमी र कोही राजनीतिज्ञ हुन्छन् । हाम्रो देशमा यी सबैले आआफ्नो ठाउँमा मात्र बसेर काम गरेको एकै ठाउँमा बसेर काम नगरेको अवस्थामा छौँ । यो टुँडिखेल भन्ने थलोमा जहाँ प्राकृतिक रूपमा पानीको रिचार्ज हुने, काठमाडौँलाई सास फेर्न दिने, सांस्कृति रूपमा तलेजुसँग जोडिएको गुरुमापादेखि धेरै सांस्कृतिक कुराहरु त्यहाँ जोडिएको छ । 
हाम्रो मालपोतमा सरकारी जग्गा र सार्वजनिक जग्गा भन्ने हुन्छ, यसलाई सरकारी जग्गा भनेर सम्पूर्ण रूपमा सरकारको नियन्त्रणमा भएको बनाइएको रहेछ । हामी जनता सार्वभौमसत्त सम्पन्न हुनै नसकेको प्रतीकको रूपमा यसलाई हेरेर जनताले जब अकुपाई गर्छ त्यसपछि त्यो जनताको हुन्छ भनेर हामीले अकुपाई भन्ने नाम राखेर अभियान सुरु गरेको हो ।
यतिखेर काँग्रेस पार्टी हाम्रो पक्षमा कम्युनिस्ट पार्टी हाम्रो विपक्षमा जस्तो भयो । हामीले गर्न खोजेको के हो भने हामी माननीय होइनौँ, सम्माननीय पनि होइनौँ । नेपालको संविधान धारा ४८ को पालना गरेको हो । यो धाराले के भन्छ भने हरेक जतालाई एउटा दायित्व तोकिदिएको छ, कि सार्वजनिक जग्गाको रक्षा गर्नुपर्छ । हामी नेपाली जनताले यो दायित्व पूरा गर्नुपर्छ । माननीय, सम्माननीय लेख्ने मानिसले हामीलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न मात्र हामीले अघि बढाएका हौँ ।

कार्यक्रममा श्याममणि आचार्य, रामकृष्ण डङ्गोल, माइला डङ्गोल, हरिमान श्रेष्ठ, अनिष श्रेष्ठ टोपेन्द्र रानामगर लगायतले आफ्ना विचार राख्नु भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप