शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी बन्दैछ रानीपोखरी, कामदारले हातैले बनाउँछन् माटोको सतह

मङ्गलबार, १० मङ्सिर २०७६, ०६ : ५३
मङ्गलबार, १० मङ्सिर २०७६

केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको छ । पोखरीको सबैभन्दा भित्री घेराको पाँच फिट चार इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन् । 

अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ । ‘‘पहिले प्राकृतिक रूपमा नै पोखरीमा पानी जम्मा हुन्थ्यो । अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’’ सचिव तुलाधरले भने ।

भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए । हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो । त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ । डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेको छ ।

पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान महर्जनले बताए । कालो माटोमाथि इँटाको सतह बनाइएको छ । पोखरीमा पानी अड्याउनका लागि यो विधि अपनाइएको इन्जिनियर महर्जनले जानकारी दिए । दुई लाख २० हजार वर्ग फिटको रानीपोखरीमा पानी अड्याउने जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।

सचिव तुलाधरका अनुसार खोकना, भक्तपुरलगायत ठाउँबाट कालो माटो ल्याएर विछ्याइरहेको हो । विछ्याउनका लागि छ लाख इँटा चाहिने अनुमान छ । उनका अनुसार माघसम्म पोखरी तयार हुनेछ । उपभोक्ता समितिलाई नौ करोड ५० लाख रुपियाँमा पोखरी बनाउने जिम्मा दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप